भव्यताका साथ सम्पन्न भयो सन्त रामपालजी महाराजको ३८औँ बोध दिवस
फाल्गुन ५, २०८१, सोमबार | दिउँसो ०३:२३ बजे | 80
धनुषाको मिथिला न.पा. - २ मा स्थित सतलोक आश्रममा यहि फाल्गुन ३ गते देखि ५ गते सम्मका लागि आयोजित सन्त रामपालजी महाराजको ३८औँ बोध दिवस भव्यताका साथ मनाइएको छ। उक्त दिवसको उपलक्ष्यमा आदरणीय सन्त गरीबदासजीको अमरवाणीको तीन दिवसीय अखण्ड पाठ, विशाल भण्डारा, दाइजोमुक्त सामुहिक विवाह, नि:शुल्क मन्त्रदीक्षा, आध्यात्मिक प्रदर्शनी, आदि कार्यक्रमहरुको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न जिल्लाहरुबाट आएका ७ नव जोडीहरुको दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह गराइएको छ भने सन्त रामपालजी महाराजका अनुयायीहरुले ६० युनिट रक्तदान पनि गरेका छन् । यस कार्यक्रममा विभिन्न राजनैतिक तथा प्रशासनिक गणमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। तेस्रो दिन सोमबार बिहान ९:३० बजे भोग आरती तथा सत्संग श्रवण र प्रसाद ग्रहण गरेर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सम्पन्न भए पश्चात् सर्व श्रद्धालुहरु मंगलबार आ-आफ्नो घर फर्किएका छन् । उक्त तीन दिवसीय सन्त रामपालजी महाराजको बोध दिवसको कार्यक्रममा ३ दिनमा करीब ५ लाख भन्दा बढी श्रद्धालुहरुको सहभागिता रहेको थियो। यस विशाल भण्डारामा शुद्ध घ्युमा बनेका लड्डु, जेरी, बर्फि तथा हलुवा प्रसादका साथै पूरी, शब्जी, सलाद, दाल, भात, अचार आदिको व्यवस्था गरिएको थियो। सबै विकृतिहरुबाट मुक्त भएको स्वच्छ, सभ्य र सुखी समाज निर्माण गर्ने र सद्भक्तिको माध्यमले सबैको कल्याण गराउने अभियान अन्तर्गत यो कार्यक्रम गरिएको आयोजकले बताएका छन् । जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको बोध दिवस भनेर त्यस दिनलाई भनिन्छ जुन दिन उहाँले आफ्ना आध्यात्मिक गुरु स्वामी रामदेवानन्दजी महाराजबाट मन्त्र दीक्षा लिनुभएको थियो । उहाँले १७ फेब्रुअरी १९८८ मा मन्त्रदीक्षा प्राप्त गर्नु भएको थियो। त्यसैले प्रत्येक वर्ष सन्त रामपालजी महाराजको सान्निध्यमा उहाँका अनुयायीहरु द्वारा यो दिवस भव्यताका साथ मनाईन्छ र यस वर्ष पनि सफलतापुर्वक सप्पन्न भएको छ। तीन दिवसीय यस पाठको यज्ञमा १० क्विन्टल भन्दा बढी शुद्ध घ्युको हवन रुईको बाती लगाएर गरिन्छ जसले वातावरणका साथै सबैको चित्त पनि शुद्ध बनाउने गर्छ र वेद अनुसारको विधी यहि नै हो भन्ने अनुयायीहरुले बताएका छन् । यहाँ हुने यस्ता महान धार्मिक अनुष्ठानहरुमा सर्व समाजका व्यक्तिहरूलाई सकेसम्म धेरै भन्दा धेरै संख्यामा सहभागी हुने आयोजकको अपेक्षा पनि पूर्ण भैरहेको जानकारी प्राप्त भएको छ।