“रङ्गमञ्चमा म” पुस्तकमा मेरो दृष्टि
माघ २८, २०८१, सोमबार | दिउँसो १२:२२ बजे | 105
डा इन्दुल केसी
शुभारम्भ
रङ्गकर्मी श्री हरिबहादुर थापाको – “रङ्गमञ्चमा म” (आत्मकथा) एक पुस्तकको नाम हो । हालै २०८१ सालमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो पुस्तक काठमाडौंमा एक भव्य समारोहमा सार्वजनिक हुँदा म स्वय्म पनि शब्दयात्रा प्रकाशनको आजिवन सदस्यको नाताले उपस्थित थिएँ । त्यस समारोहमा प्रदर्शित हरिबहादुर थापाजीले अभिनयका साथ गर्नुभएको नाटकको म एक दर्शक थिएँ । एक दिन हरिबहादुर थापाजी स्वयम् मेरो घरमा आउनुभयो । हामीबीच भलाकुसारीको कुरा साथै उक्त पुस्तक मलाई कस्तो लाग्यो ? त्यसबारे एउटा लेख लेखिदिन उहाँले अनुरोध गर्नुभयो । त्यसलाई मैले सहर्ष स्वीकार गरेँ । यो मेरो लेख त्यसैको परिणाम हो । हरिबहादुर थापाजी र म स्वयम् (हामी दुवै) भक्तपुरमा जन्मिएर हुर्केका, एकआपसमा परिचित व्यक्ति हौं । थापाजीको परिवारजनहरु, आफ्न्तजनहरुसँग पनि मेरो मित्रताको सम्बन्ध छ । रङ्गकर्मी हरिबहादुर थापाजीको आनीबानी, बोलीचालीसँग पनि म परिचित छु । तर यो लेख नितान्तरुपमा उक्त पुस्तकलाई नै केन्द्रविन्दु बनाएर लेखेको छु ।
यो पुस्तक, नाटक विषयको हुनुको साथै थापाजीको आत्मकथासँग सम्बन्धित भएकोले नाटक सम्बन्धमा पूर्वीय र पाश्चात्य मतबारे केही चर्चा गर्नु सान्दर्भिक होला भन्ने ठान्दछु ।
पूर्वीय मत ः
नाट्य शास्त्रका प्रणेता मानिने सुप्रसिद्ध आचार्य भरतमुनीको विचारमा – जसमा स्वभावैबाट लोकको सुख, दुःख सम्बन्धित हुन्छन् र जसको अङ्गादिद्वारा अभिनय गरिन्छ, त्यसलाई नै नाटक भनिन्छ । अर्का विद्वान् अभिनव गुप्ताका अनुसार – नाटक त्यो दिव्य काव्य हो, जुन प्रत्यक्ष कल्पना एवम् अध्यवसाहयको विषय बनेर सत्य र असत्यबाट सम्बन्धित विलक्षण रुप धारण गरेर सर्वसाधारणलाई आनन्द प्रदान गर्दछ ।
पाश्चात्य मत ः
ग्रीक शब्द ड्रामाको नेपाली रुपान्तर नाटक हो । अभिनयलाई खेल्नुको अर्थमा ‘प्ले’ भनिन्छ । अर्का एक विद्वान्को विचारमा नाटक जीवनको प्रतिलिपि हो, कथाहरुको ऐना हो र सत्यको प्रतिबिम्ब हो ।
नाटकमा निम्न तत्वहरु हुन्छन् भनी मानी आइएको छ ः
१) कथावस्तु २) विषय वस्तु ३) पात्र वा चरित्र चित्रण ४) सम्वाद (कथोपकथन) ५) भाषाशैली ६) देशकाल – वातावरण ७) अभिनय
उक्त पुस्तकबारे विभिन्न विचार
हिजोआज पठन साहित्यको ¥हास हुँदै गएता पनि नेपाली भाषामा कृति प्रकाशनको माहोल बनिरहेको छ । अनेकौं विधाहरुमा लेखिएका पुस्तकहरुमा प्रकाशन पनि वृद्धि हुँदै गएको पाइन्छ । यसै क्रममा आत्मकथाका पुस्तकहरु पनि जल्दोबल्दो रुपमा आइरहेका छन् । आत्मकथालाई आत्मजीवनी पनि भन्ने गरिन्छ । व्यक्ति आफैले आफ्नो जीवनको प्रारम्भदेखि शिलशिला मिलाएर लेखेको वर्णानात्मक तथा आत्मविश्लेषणात्मक प्रस्तुती हो आत्मकथा । थापाजीको यस पुस्तकलाई उल्लेखित कुरालाई नै आधार मानेर मैले नियाल्न थालेँ । यस पुस्तकको अग्र भागमा दश जना विभिन्न महानुभावहरुको विचारले ३४ पृष्ठ समेटेका छन् । उहाँहरुको विचारका केही शब्दहरु उद्रित गर्नु उचित नै होला भन्ने ठानेर यहाँ प्रस्तुत गर्दैछु ।
१. पुस्तक प्रकाशक संस्थाका अध्यक्ष हरिमञ्जुश्री भन्नुहुन्छ – हरिबहादुर थापा एक सुप्रसिद्ध रङ्गकर्मी तथा नाट्यअभिनेता हुनुहुन्छ । नेपाली रङ्गमञ्चको आकाशिय आयतनका क्षेत्रमा उहाँबाट पु¥याइएको योगदानको विवरण पनि हो ।
२. नेपाली सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति श्री निशा शर्मा पोखरेलज्यूको शब्द – मालती मङ्गले, कोही किन बर्वाद होस्, सकुन्तला जस्ता दर्जनौं चर्चित नाटक तथा जीवन्त गीति नाटकहरु, चलचित्रहरुमा समेत वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापाजीले अभिनय गर्नुभएको छ ।
३. श्री तेजेश्वरबाबु ग्वंगजीको शब्द – देशविदेशका नाट्य क्षेत्रबाटै आफ्नो परिचय दिन सफल नाट्य नायक हरिबहादुरको नेपाली नाट्य नाटकमा पनि ठूलो योगदान छ । समाज रुपान्तरणमा नाटकको भूमिकामा श्री हरिबहादुरजीले योगदान गर्नुभएको छ ।
४. डा. अभि सुवेदीको शब्द – हरिबहादुर थापाको रङ्गमञ्चमा म लाई एक महत्वपूर्ण प्रकाशन मान्छु ।
५. डा. रामदयाल राकेशको शब्द – एउटा सफल अभिनेताका वैशिष्ट्य हरिबहादुर थापा उत्कृष्ट अभिनयको प्रर्दशन गर्नमा पारङ्गत हुनुहुन्छ । अन्तर्राष्ट्रिय साहित्य समाज, न्यूयोर्क च्याप्टरले उहाँलाई रङ्गमञ्च सम्राट एवार्ड प्रदान गरेर अभिनन्दनीय कार्य गरेको छ । त्यस्तै ’अमेरिका नेपाल सहयोगी समाज’ले उहाँलाई सम्मान पत्रले कदर गरेर सम्मान गरेको छ ।
६. नीर शाहको शब्द – समकालिन रङ्गकर्मको इतिहासमा एउटा सशक्त कलाकारको नाम हो, हरिबहादुर थापा ।
७. अशेष मल्लको शब्द – हरिबहादुर थापाको रङ्गमञ्चमा म सम्झिरहेको छु । हाम्रो समाजमा शालीन र आफ्नै संसारमा रमाउँदै हरिबहादुरले पु¥याएको योगदान इतिहासमा लेखिइसकेको छ । अर्को पुस्ताका लागि उहाँ प्रेरणाको स्रोत हुनुहुन्छ ।
यसैगरी नाट्य क्षेत्रमा हरिबहादुर थापाजीले पु¥याउनु भएको योगदानको चर्चा बसुन्धरा भूसाल, प्राज्ञ उन्नती बोहरा ‘शीला’, विष्णुकाजी थापा, मिठु थापासमेतले आ–आफ्नो शब्दमा हरिबहादुरजीको कलाकारिताको बारेमा प्रशंसा गर्नुभएको छ ।
प्रस्तुत पुस्तकका लेखक श्री हरिबहादुर थापाजीले आफ्नो लेखकियमा समीक्षा शीर्षकमा समेत आफ्नो मन्तव्य व्यक्त गर्नुभएको छ ।
खण्ड विभाजन
खण्ड १ ः यस पुस्तकको पहिलो खण्डमा हरिबहादुर थापाजीको बाल्यकाल र विद्यार्थी जीवन अन्तर्गत विभिन्न शीर्षकका १५ वटा लेखहरु छन् । त्यसमध्ये २ वटा लेखहरु ः “६ वर्षको उमेरमै नायक” र “त्रिपद्म र श्रीपद्म हाइ स्कूल”का लेखहरुमा थापाजीले आफ्नो ६ वर्षको बालक उमेरमा नै नाटकको नायक भएर रङ्गमञ्चमा उभिएको र श्रीपद्म हाई स्कूल भक्तपुरमा मञ्चन भएको “किसान” नाटकमा आफूले किसानको प्रभावकारी अभिनय गरी दर्शकहरुको मन जित्न सफल भएको सगौरव प्रस्तुति गर्नुभएको पाइन्छ । त्यसबेला म (डा. इन्दुल केसी) समेत त्यस स्कुलमा शिक्षकको रुपमा कार्यरत रहेको र सो समयमा त्यस नाटकमा जीवन्त अभिनय गर्ने भविष्यमा नाट्य क्षेत्रमा एक चम्किलो तारा नै हुनेछ भन्ने मलाई लागेको कुरा अहिले संमरण गरिरहँदा आफै शिक्षक, दर्शक हुन पाएकोमा मलाई गौरवबोध भइरहेको छ । एस.एल.सी. परीक्षाको समाप्तिपछि नाटक क्षेत्रमा लाग्नु पर्ला भन्ने अठोट थापाजीले गर्नुभएको रहेछ । यसरी विद्यालय जीवनपछि प्राज्ञ प्रतिष्ठानको यात्रा, आफू कलाकारमा नियुक्ति भएको चर्चासमेत गरिएको पाइन्छ ।
खण्ड २ ः पुस्तकको दोस्रो खण्ड, रङ्गमञ्च यात्रा शीर्षक अन्तर्गत २३ वटा शीर्षकमा आफूले खेलेका नाटकहरु जस्तै – बीरकुस, भक्तभानुभक्त, कोही किन बर्बाद होस्, सकुन्तला, मालती मङ्गले, अमरसिंह, गिती नाटक देउकी, सहनशिला सुशिला, मसान इत्यादि नाटकहरुमा एक कलाकारको हैसियतले आफूले निभाएका भूमिकाबारे अति रोचक विवरण प्रस्तुत गर्नुभएको पाइन्छ । यसमध्ये केही नाटकहरुको दर्शक हुने सौभाग्य मैले पनि पाएको थिएँ र आफ्नै गाउँठाउँको भाइछोराका अभिनय कलाको रसास्वादन गर्न पाएको त्यो क्षण मेरो पनि गौरवकाल थियो र छ ।
खण्ड ३ ः पुस्तकको खण्ड तीन, जीवन एक वास्तविक रङ्गमञ्च शीर्षक (पृष्ठ७७–८८) यस खण्डमा रहेका लेखहरु ः १) म नायक र मिठु नायिका २) मिठुको परिवार राजी नहुँदा ३) तीन सन्तान ईश्वरको वरदान ४) सामाजिक सेवामा सक्रिय मिठु हुन् । यसरी यी लेखहरुको शीर्षकबाट नै जीवन एक वास्तविक रङ्गमञ्च हो भन्ने विषयलाई वास्तविक धरातलमा नै प्रस्तुत गरेको देखिन आएको छ । म नायक र मिठु नायिका शीर्षकमा आफू भक्तपुरमा कक्षा १० मा अध्ययनरत रहँदा मिठु पनि त्यसै स्कुलका विद्यार्थी थिइन् । हामी दुवैजना बीच आत्मियता बढ्दै गएको र मित्रता प्रेममा परिणत भई त्यसको ६ वर्षपछि हाम्रो विवाहमा परिणत भएको प्रसंग उल्लेख गरिएको छ । त्यसो भएतापनि विवाह हुनुभन्दा पहिले मिठुका बुबा र तिनका परिवारजनले सहजै स्वीकृति नदिएको र विवाहको प्रस्ताव अस्वीकारको बोझले समेत लादिएको थियो । त्यसबखतमा हरिबहादुरजी अब के गर्ने भन्ने अन्यमनस्कतामा रहेको यथार्थ पनि प्रस्तुत गरिएको छ । तर उनै मिठुसँग विवाहपछि तीन सन्तान ईश्वरका वरदान भनेर पारिवारिक विस्तारका प्रसंग पनि उठाउनुभएको छ । २०३४ सालमा नै पहिलो सन्तान लाभ, २०३७ सालमा दोस्रो सन्तान र २०४६ साल तेस्रो सुपुत्री जन्मिएको प्रसंग रहेको छ । यसप्रकार उहाँको दाम्पत्य जीवनको क्रममा अहिले आफ्ना छोराछोरी, बुहारी, नातीनातिनीहरु विदेशमा रहेपनि आफू दुवै दम्पती आफ्नै जन्मभूमि भक्तपुरको कटुञ्जेमा नै पारिवारिक जीवनका साथै सिर्जनासाधनामा व्यतित रहेको अभिव्यक्ति दिनुभएको छ । यसप्रकारले आत्मकथामा आफू, आफ्नो श्रीमती र त्यसबाट विस्तारित नाता अर्थात् आफ्ना आभूषणहरु आफूसँग रहन नपाएको नेपाली जीवनको वर्तमान अवस्थाको चर्चा गर्दै यस्तो भएपनि सिर्जनात्मक जीवन छोड्न नहुने समेत अभिव्यक्ति गर्नुभएको छ ।
खण्ड ४ ः पुस्तकको खण्ड ४, रङ्गमञ्चका फरक फरक पाटा शीर्षकअन्तर्गत ८ वटा विभिन्न शीर्षकका लेखहरु (पृष्ठ ८९–१०८) रहेको लेखहरु छन् । यस खण्डमा रङ्गमञ्चका पाटाहरु भनेर नाटक र चलचित्र, चलचित्रभन्दा नाटकको जीवन्तता, नाटकको अभिनय कला साथै नाटक निर्देशन कला, उत्साह र अनुभवको लागि नाटक महोत्सवको अनिवार्यता जस्ता विषयहरु समेत समेट्नु भएको छ । वर्तमानमा विश्वभरमा नै फैलिँदै गएको नेपाली समाज, नेपाली समाजको विश्वस्तरीय उपस्थितिले सिर्जना गरेको नेपाली नाटकको विस्तारकालागि पाएको अवसरको चर्चा गरेर न्यूयोर्कको ब्रोड वे क्षेत्र ७७ मा मञ्चित नाटकको शीर्षक “जोडिएका मनहरु” समेत आजको समयका लागि अन्त्यन्त उपयोगी रहेको पाइन्छ । मनलाई जोड्नु नै छ भने संस्थागत संलग्नताको शीर्षक पनि सान्दर्भिक रहेको छ । आफूले गरेको कर्महरुको सिलसिलेवार सङ्ग्रह पनि संस्थागत स्मृति (क्ष्लकतष्तगतष्यलब िःझयचथ) र आगामी पुस्ताका लागि अनुभवको पुस्तान्तरणको अनिवार्यताको शिक्षा दिँदै प्रस्तुत आत्मकथा, आत्मकथा मात्र नभएर शिक्षाकथा समेत हुन पुगेको अनुभव गर्न पाउँदा हरिबहादुर थापाजीमा अभिनय कला मात्र नभएर प्रस्तुति कलाको समेत उत्कर्ष अनुभव गर्नु पाउनु म जस्तो पूर्व शिक्षकको लागि गौरवको श्रृंखला हुन पुगेको छ ।
खण्ड ५ ः पुस्तकको खण्ड पाँच, मेरो कर्मप्रतिको दृष्टि शीर्षक अन्तर्गत ४ वटा विभिन्न शीर्षकका लेखहरु (पृष्ठ १०९–१३०) रहेको पाइएको छ । यस खण्डमा ४ वटा लेखहरुमा हरिबहादुर थापाजीले सम्पादन गर्नुभएका कार्यहरुको मूल्याङ्कन गर्दै शताब्दी पुरुष डा. सत्यमोहन जोशीज्यूले ‘नेपाली नाटक जागरणका अभिनेता हरिबहादुर थापा’ शीर्षकमा श्री हरिबहादुर थापाजीको स¥हाना गर्दै स¥हानालक्षक वाक्य प्रस्तुत गर्दै ड्रामा मुभमेन्ट अर्थात नाटकको जागरण अभियानका अभिनेता भनेर हरिबहादुरजीको क्षमताको उत्कृष्ट मूल्याङ्कन गर्नुभएको छ ।
श्री हरिबहादुर थापाबारे यसरी नै राष्ट्रकवि माधव घिमिरेज्यूको अक्कलदार कलाकार थापालाई म रङ्गमञ्चको योगी ठान्दछु भन्ने शीर्षकमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको छ । यस लेखमा अभिनय भन्नु सक्कलको नक्कल हो र सो गर्न अक्कल चाहिन्छ भनेर सफल नाट्यकार हुनको लागि चाहिने योग्यताको संकेत गरेर त्यस्तो अक्कलको योग्यता हरिबहादुरजी भएको र योग्यलाई नै योगी भनिने पाणीनिय व्याकरणको मन्तव्य समेतले पुट लगाएर हरिबहादुरजीको योग्यताको कदर गर्नुभएको छ । राष्ट्रकवि माधव घिमिरेको तीनवटा गीति नाटकमा हरिबहादुरजीले नै प्रमुख पात्रको भूमिका निर्वाह गरी नाटकलाई जीवन्त बनाउनुभएको प्रसंग उल्लेख गर्नुभएको छ ।
यसैगरी प्रा.डा. मोहन हिमांशु थापाज्यूले “अभिनय पक्षको सर्वाङ्गिण विकासमा सर्वोच्च योगदान”को शीर्षकमा हरिबहादुर थापा एक अद्वितीय कलाकारका अतिरिक्त नाट्य परियोजनाका कुशल संयोजक, राष्ट्रिय नाटक महोत्सवका सफल व्यवस्थापक र नाट्य प्रस्तुतिका सबल उद्घोषक पनि हुन् भन्ने अभिव्यीक्त दिएर हरिबहादुरजीको योग्यताको बहुआयामिक पक्ष उजागर गर्नुभएको छ ।
यसरी नै श्री प्रचण्ड मल्लज्यूले “प्रशिक्षार्थीदेखि प्रखर अभिनेतासम्म”को शीर्षक दिएर श्री हरिबहादुर थापाजी नेपाली रङ्गमञ्चको इतिहासमा छुटाउन नहुने नाम बनिसकेको छ भन्ने प्रसङ्ग उठाएर हरिबहादुर थापाजी नाटक क्षेत्रको ऐतिहासिक व्यक्तित्व समेत बनेको पुष्टि गर्नुभएको छ ।
खण्ड ६ ः यसैगरी पुस्तको खण्ड ६ “तस्वीरमा म” भन्ने शीर्षकमा, पृथ्वी नारायण शाहको भूमिका निर्वाह गरेको, मालतिमङ्गलेको अभिनय गरेको, तत्कालिन राजा विरेन्द्र कलाकारहरुको साथमा, ऐतिहासिक नाटक अमरसिंहमा भिमसेन थापाको चरित्रमा, न्यूयोर्कको ब्रोडवे ७७७ थियटरमा गरिएको नाटक मञ्चनमा न्यूयोर्कमा नै ’जोडिएका मनहरु’को रिहर्सल क्रममा तस्बीरहरु प्रस्तुत साथै अन्य अनगिन्ती समारोहहरुमा हरिबहादुर थापाजीका सफल क्षणहरुलाई प्रमाणित गर्ने अनन्य श्यामश्वेत तथा रङ्गीन चित्र÷छविहरु समेत यस आत्मकथाको पुस्तकमा प्रस्तुत गरेर पुस्तकलाई थप विश्वसनीय र जीवन्त बनाउनु भएको छ ।
खण्ड ७ ः यसैगरी पुस्तकको खण्ड ७ “सम्मान तथा पुरस्कारहरु” भन्ने शीर्षकमा विभिन्न प्रतिष्ठित संघ, संस्था, व्यक्ति र राष्ट्रियस्तरका उच्च तहका विशिष्ट व्यक्तिद्वारा समेत प्रदान गर्नुभएका प्रमाणपत्र, प्रशंसा पत्र आदिका प्रतिलिपिसमेत समावेश भएका छन् । यसप्रकार यस्तो कर्मशील जीवन निर्वाह गरेको व्यक्तिले आत्मकथा लेख्दै गर्दा, आउने पिढींले समेत आत्मकथामा कसरी थालनी र उपसंहार गर्नु पर्दछ, साथै तस्वीर र प्रशंसापत्र, सम्मान पत्र आफै बोल्छ भन्ने समेत अनुशीलन गरे यस प्रकारको ढाँचामा आत्मकथा प्रस्तुत गर्ने कलाको नमूना प्रस्तुत गर्नुभएको छ ।
अन्तमा सार संक्षेप
रङ्गमञ्चमा म पुस्तकमा मेरो दृष्टि शीर्षकमा मैले जुन लेख प्रस्तुत गरे, यस लेखबाट हरिबहादुरजीको “रङ्गमञ्चमा म” आत्मकथाको सङ्क्षिप्त चित्र प्रस्तुत भइसकेको छ भन्ने मैले ठानेको छु । यसरी एउटा सफल जीवनको आत्मकथाले अन्य व्यक्तिहरुलाई समेत आ–आफूले गरेको भोगेको क्रियाकर्महरु अनुभवहरु समाजको लागी एक उपयोगी दस्तावेज बन्न जानेछ भन्ने विश्वास मैले लिएको छु । यसप्रकारको पुस्तक तयार गर्नुभएकोमा हरिबहादुरजीलाई मूरीमूरी धन्यवाद दिन चाहन्छु । हरिबहादुरजीबाट भविष्यमा समेत यस्तै प्रकारको समाजोपयोगी पुस्तकहरु प्रकाशित गर्नुहुने अपेक्षा गर्दछु । यस कार्यका लागि रङ्गनायक हरिबहादुर थापा, पुस्तक प्रकाशन गर्ने शब्दयात्रा प्रकाशन लगायतका सम्पूर्ण सम्बन्धित व्यक्तिहरुलाई पनि मूरीमूरी धन्यवाद दिन चाहन्छु ।
अस्तु ।