मुगुका दलित अधिकारकर्मीले मागे गृहमन्त्री लेखकको राजीनामा
माघ २८, २०८१, सोमबार | विहान ११:२४ बजे | 60
खड्क सुनार
मुगु २८ माघ
अन्तरजातीय विवाहलाई दबाउन तथा जातीय विभेद संरक्षण गर्न खोजेको भन्दै मुगुका दलित अधिकारकर्मीहरुले गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेका छन् । मुगुका दलित अगुवा युवाहरूले जिल्ला प्रशासन कार्यालय मुुगुमा प्लेकार्ड सहित बोकेर गृहमन्त्री लेखक विरुद्ध नाराबाजी गर्दे राजिनामा माग गरेका हुन । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे मार्फत प्रधानमन्त्री कार्यालय लाई ध्यानाकर्षण पत्र बुझाउदै ’गृहमन्त्री लेखकको राजीनामा माग गरिएको दलित अधिकारकर्मी जयराम विकले बताए । आन्दोलित युवामध्ये जयराम विकले संसद्मा गृहमन्त्रीको उत्तर चित्तबुझ्दो नभएको भन्दै थप आन्दोलन गर्नुपरेको बताए । आन्दोलित युवाहरूले यो विषयमा न्याय नदिएसम्म आन्दोलन निरन्तर हुने बताएका हुन । आईतवार यहाँका युवाहरुले विरोध जनाउदै जातिय विभेद अन्त्य गर , गृहमन्त्री राजिनामा दे दलित आन्दोलन जिन्दावाद जस्ता नारा गर्दे विरोध जनाएको उनको भनाई छ । कार्यक्रममा यहाँका दलित अधिकारकर्मीहरुको सहभागिता जनाएका थिए । ध्यानाकर्षण पत्रमा भनिएको छ , राज्यकै संरक्षणमा दलित समुदायमाथी अपमान विभेद र बहिष्करण गर्नुले सिंगो दलित समुदायलाई स्तब्ध बनाएको छ । प्रहरी प्रशासन , गृहमन्त्री लगायत राज्यसत्ताका महत्वपुर्ण अंगका जिम्मेवार निकायबाट दलितमाथिको अन्याय गर्ने ब्यक्ति र प्रवृत्तिको घोर भत्र्सना गरेको पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले यो पत्र सम्बन्धित ठाउँ , निकाय सम्म पुर्याउने बताएका छन् । सर्लाही नगरपालिका ४ का सत्येन्द्र कुमार र वरहथवा ५ की नेहा रौनियारका बीचमा २०८१ पुस ३ गते विवाह भएको थियो । उनीहरूमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको बताइएको छ ।