एवीसीडी खवरका लामा प्रेस चौतारी भक्तपुरको सहसचिवमा निर्वाचित
माघ २४, २०८१, बिहीबार | दिउँसो ०१:४१ बजे | 135
भक्तपुर । सत्तारुढ दल नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । आशिष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
बिहीबार सम्पन्न पाचौं अधिवेशनको बन्द सत्रले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको निवर्तमान अध्यक्ष हेमराज ढकालले बताए । नवनिर्वाचित अध्यक्ष पौडेल निवर्तमान कार्यसमितिका सचिव हुन् । उनी चक्रपथ डट्कममा आवद्ध रहेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा फोटो पत्रकारको रुपमा कार्यरत छन् ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष खुलामा राजकुमार लामिछाने र महिला उपाध्यक्षमा मीना घोरासाइने निर्वाचित भएका छन् । त्यस्तै सचिवमा नारायण थापा, सह–सचिवमा संगम लामा निर्वाचित भए । लामा एवीसीडी खवर मिडियाद्धारा सञ्चालित एवीसीडी खवर डटकम अनलाइनका सञ्चालकमध्येका एक हुन् । अर्का सह– सचिव समावेशीमा विपना मुसिख्वाल र कोषाध्यक्षमा सिर्जना खतिवडा निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यहरुमा देवेन्द्र प्रजापति, रसिला थापा, सुस्मिता धिताल, नवराज काफ्ले र प्रतीकराज कार्की लगायत रहेका ढकालले जानकारी दिए । सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिहरुमा निवर्तमान अध्यक्ष हेमराज ढकाल त्यस्तै उपाध्यक्ष राजकुमार लामिछाने र कोषाध्यक्ष सिर्जना खतिवडालाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा रोशनराज अर्याल लगायत चयन भएका प्रेस चौतारी नेपालका भक्तपुर जिल्ला इन्चार्ज रमेश गिरीले जानकारी दिए ।
अधिवेशनको उद्घाटन सत्र भने नेकपा(एमाले)का पोलिट्ब्युरो सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका जिल्ला इन्चार्ज महेश बस्नेतले मिडिया पोलुसन बढेकाले सरकार सामाजिक संजाल नियमन विधेयक ल्याउन बाध्य भएको बताए । सामाजिक संजालले समाजलाई भ्रम र अराजकता तर्फ लगिरहेको जिकिर गर्दै उनले त्यसलाई बेलैमा रोक्नपर्ने आवश्यकता औल्याए ।
युथ फोर्स बनाएर आफूहरुले तत्कालीन वाइसीएललाई तह लगाएको स्मरण गर्दै नेता बस्नेतले साइवर आतंकबाट आफूहरूलाई क्षति पुर्याउने प्रयास गरिएको भएपनि बिचलित नबन्ने बताए । संगठित राजनीतिक पार्टी र त्यसका नेतालाई भन्दा हावामा उडेर सामाजिक संजालमार्फत उदाएका पार्टी र नेतालाई नै कालान्तरमा यसले बढी खतरा पैदा हुने उनको दावी छ ।
नेता बस्नेतले रवि लामिछाने र उनको पार्टी रास्वपाले साइबर वार गरिरहेको र झुटलाई सत्य तथा सत्यलाई छुट सावित गर्न लागिरहेको आरोप लगाए । प्रेस चौतारीमा आवद्ध पत्रकारले त्यसको प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।
अधिवेशनमा विशेष अतिथि रहेका प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जाललाई मिडियाको संज्ञा दिनु नहुनेमा जोड दिए । त्यस्तै उनले सामाजिक सञ्जाल नियमन सम्बन्धी बिधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नगर्ने पनि जिकिर गरे ।
सरकारले ल्याएको विधेयकले सामाजिक सञ्जाललाई मर्यादित र ब्यवस्थित बनाउने बताउँदै उनले सञ्चार जगतले त्यसको स्वागत गर्नुपर्ने तर्क गरे ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले आफूले चाँगुनारायण नगर प्रमुख रहँदा नेपाल पत्रकार महासंघ भक्तपुरको भवन बनाउन २५ लाख रुपैयाँ उपलब्ध गराएको स्मरण गर्दै सो भवन बन्न नसकेको प्रति दुःख ब्यक्त गरेका थिए ।
उद्घाटन सत्रमा जिल्ला अध्यक्ष वचन देउजाको पनि विशेष आतिथ्यता रहेको थियो । त्यस्तै, जिल्ला सचिव लगायतका नेताहरु समेत सहभागी रहेका थिए । प्रेस चौतारीको तर्फबाट भने अध्यक्ष बस्नेतका अलावा केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, केन्द्रीय सदस्य मोहन पन्त, कविता अधिकारी,अन्जना सिल्पकार लगायतका नेताहरु र उपत्यका प्रदेशबाट इन्चार्ज हेमराज सिलवाल, अध्यक्ष बिष्णु आचार्य लगायतका नेताहरु सहभागी रहेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज रमेश गिरीले जानकारी गराए ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक र भक्तपुर अध्यक्ष सुन्दर सिल्पकारले शुभकामना मन्तव्य राखेका सो कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी, प्रेस सेन्टर भक्तपुरका अध्यक्ष मदन ढुङ्गाना लगायतको पनि आतिथ्यता रहेको थियो ।