उखु किसानको आन्दोलनमा नेमकिपाले ऐक्यबद्धता
पुष ६, २०७७, सोमबार | विहान ०२:५४ बजे | 25
काठमाडौं । उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ऐक्यबद्धता जनाएको छ ।
नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलमा पुगेर उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् । सर्लाहीबाट काठमाडौं आएका किसानहरु एक सातायाता माइतीघरमा उद्योगीहरुबाट पाउनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनलाई समर्थन गर्न पुगेका सांसद सुवालले उखु किसानलाई तत्काल भुक्तानी दिलाइदिने काम सरकारले गर्नुपर्ने बताए । वर्षौंदेखि देखिँदै आएको भुक्तानी नहुने समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने पनि नेता सुवालले बताए ।
किसानहरुले गत वर्ष पुस १८ गते भएको सम्झौताबमोजिम भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा बसेका हुन् । गत वर्ष पुस १८ गते सरकार, उद्योगी र उखु किसानबीच भएको सम्झौताअनुसार गत वर्षकै माघ ७ गतेभित्र भुक्तानी दिने उल्लेख छ । तर चिनी मिल सञ्चालकहरुले एक वर्षसम्म पनि भुक्तानी नदिएपछि किसानहरु काठमाडौं आएर आन्दोलनमा उत्रिएका हुन् ।