विश्वप्रसिद्ध रुसी लेखक अन्टोन चेखभको १६५ औं जन्मोत्सवमा साहित्यिक साँझ
काठमाडौं । नेपाल रुस साहित्य समाज (नेरुसास) र रुसी सदन काठमाण्डौको सहकार्यमा रुसी सास्कृतिक केन्द्रको पुस्तकालय हलमा एक अविस्मरणीय साहित्यिक साँझ सम्पन्न भयो । कार्यक्रमले नेरुसास, मित्रकुञ्ज, नेपाल –रूस मैत्री र सांस्कृतिक संघ, पुस्तकालयका पाठकहरू र भाषा पाठ्यक्रमका विद्यार्थीरू लगायत रूसी साहित्य र संस्कृतिका थुप्रै प्रेमीहरूलाई एकै ठाउँमा जमघट गरायो ।
सास्कृतिक केन्द्र पुस्तकालय प्रमुख भावना न्यौपानेले अतिथिहरूलाई स्वागत गर्दै रुसी लेखक चेखभको जीवन सृजनाको बारेमा संक्षिप्त परिचय प्रस्तुत गरिन् । नेरुसासका नवनियुक्त अध्यक्ष विष्णुबहादुर सिंहले नेपाल र रुसबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन यस्ता कार्यक्रमहरु महत्व हुने कुरामा जोड दिनु भयो । सोही अवसरमा वहाँले नवगठित नेपाल रुस साहित्य समाजको पत्र रुसी सदनका निर्देशक अन्तोन मास्लोभलाई हस्तान्तरण गर्नुभयो ।
लेखक, नेरुसासका महासचिव तथा मित्रकुञ्जका उपाध्यक्ष रामविन्दु श्रेष्ठले चेखभको सृजनासँगको आफ्नो परिचय, विशेषगरी उनको चर्चित व्यंग्य कथा ‘कारिन्दाको मृत्यु’ बाट शुरुभएको बताउनु भयो । श्रेष्ठबाट वाचित सो कथाले दर्शकहरूमा चासो जगायो र चेखवीय वातावरण सिर्जना गर्यो ।
अर्का लेखक रोशन शेरचनले चेखभका सृजनाहरूले कसरी आफूमा गहिरो छाप छोड्यो भन्ने इतिहास सुनाउनु भयो । उहाँले चेखभको मनभित्रको अथाह पीडालाइ सजीव रूपमा प्रस्तुत गर्नसक्ने क्षमताको प्रशंसा गर्नुभयो ।
एनिमेटेड फिल्म “कष्टाङ्गंका” को प्रदर्शनले कार्यक्रममा अर्को आकर्षण थपेको थियो ।
कार्यक्रमको दोस्रो भागमा रुसी लेखिका तच्याना च्छे द्वारा सम्पादन गरिएको “मार्गको निरन्तरता” संग्रहको लेखनीमा संलग्न लेखकद्वय विष्णुबहादुर सिंह र रामविन्दु श्रेष्ठलाई उपहारस्वरूप मस्कोबाट प्राप्त पुस्तक प्रदान गरिएको थियो । सोही अवसरमा रुसी सदनका निर्देशक अन्तोन मास्लोभले दुई देशबीचको साहित्यिक गतिविधिमा सक्रिय सहभागितामा पु¥याएको योगदानको कदरस्वरुप रुसी लेखक संघ, मस्को सहर संगठनले पठाएको सम्मानपत्र रामविन्दु श्रेष्ठलाई प्रदान गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा, रुसी हाउसका निर्देशक मास्लोभले सबै सहभागी र आयोजकहरूलाई धन्यवाद दिदैं, यस्ता भेट्घाटहरूले दुईदेश बीचको सम्बन्धको क्षितिज फराकिलो बनाउन र मानिसहरू बीचको मित्रतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ भनी उल्लेख गरे । उनले भने “आज यो कार्यक्रममा विभिन्न क्षेत्रका धेरै मानिसहरूको सहभागिता देखेर म खुसी छु।”
विश्वसाहित्य इतिहासमा चेखोवले दिएको योगदान शीर्षस्थानमा रहेकोछ । विश्वका कतिपय लेखकले चेखोवलाई कथा शिरोमणी मानेका छन् । रुसी साहित्यको काव्य विधामा पुश्किनको जुन स्थान छ गद्य विधामा चेखोवको त्यही स्थान छ भनेर लेभ टोल्सटोइ भन्दछन् । आफ्ना पात्रहरुको चरित्र चित्रणमा चेखोव अद्वितीय छन् । उनी समाज जस्तो छ त्यसलाई त्यसरी नै इमानान्दारीपूर्पक प्रस्तुत गर्छन् । यी फिजिकल डाक्टर थिए तर व्यक्ति र समाजको प्रखर मनोविज्ञान विश्लेषक पनि थिए ।
अन्तोन चेखव विश्व प्रसिद्ध कथाकारको अलावा एक प्रख्यात थिएटर सिद्धान्तकार पनि थिए जसले बीसौं औं शताब्दीको प्रारम्भमा शास्त्रीय नाटकमा वस्तुतः क्रान्तिकारी परिवर्तन गरे ।