पूर्वराष्ट्रपति डा. यादवद्वारा योगको महत्वबारे चर्चा


माघ ५, २०८१, शनिबार | विहान ०९:२७ बजे | 35


पूर्वराष्ट्रपति डा. यादवद्वारा योगको महत्वबारे चर्चा

पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वस्थ जीवनका लागि योग नभई नहुने भन्दै हरेक वडामा योग शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । ललितपुर महानगरपालिका– १६ तथा पतञ्जली योग समिति, वाग्मती प्रदेशको संयुक्त आयोजनामा शनिबार मंगलबजारस्थित कार्तिक डबलीमा आयोजित योग उत्सव समारोहको उद्घाटन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो। शरीर स्वस्थ बनाउन मात्र नभई चित शुद्ध र मानसिक आनन्दका लागि पनि योगको महत्वपूर्ण भूमिका हुृने उल्लेख गर्दै उहाँले देशभरका हरेक वडामा योगाभ्यास गराउन सके सर्वसाधारण लाभान्वित हुने धारणा व्यक्त गर्नुभयो।योग अभ्यासलाई दैनिक जीवनमा जोड्नुपर्ने सल्लाह दिँदै डा.यादवले स्वस्थ हुन सके जीवनलाई सार्थक बनाउन बाँकी जम्मै प्रयासहरु गर्न सहज हुने बताउनुभयो। ‘ स्वास्थ्य सबैभन्दा ठूलो धन हो भनेर त्यसै भनिएको होइन। त्यसैले मानिसलाई स्वस्थ बनाउन योगको अभ्यासलाई फैलाउनुपर्दछ ।’ डा. यादवले भन्नुभयो। १६ वडा योग साधना केन्द्रले अढाई वर्षदेखि प्रत्येक दिन योग अभ्यास गराउँदै आएको सन्दर्भमा योग उत्सव मनाइएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिनुभयो।योग अभ्यासबारे व्यापक बनाउन, यसबारे सचेतना दिन योग दिवस मनाइएको पनि वडाअध्यक्ष शाक्यको भनाई रहेको छ । नियमित योगाभ्यास गर्ने वडाबासीहरुको सुझाव अनुरुप योग शिविर सञ्चालनमा सहयोग गरेको सो वडाले शिविरको समापन गरी समिति गठन गरी साधना केन्द्र सञ्चालनमा ल्याएको थियो। सो अवसरमा पतञ्जली योग समिति वाग्मती प्रदेशका अध्यक्ष ग्रुबेन तौजले चित्तमा उत्पन्न भइरहने शंका, भयल लोभलाई नियन्त्रण गर्न योग विधि अत्यधिक प्रभावकारी रहेको बताउनुभयो। उहाँले १६ वडा योग साधना केन्द्रले सञ्चालन गदै योग अभ्यासले धेरै मानिस लाभान्वित भएकोमा खुशी व्यक्त गर्नुभयो। सो अवसरमा पतञ्जली योग समिति ललितपुरका अध्यक्ष जोहनगोपाल श्रेष्ठ, योग साधना सञ्चालनमा सहयोग गर्नुहुने सल्लाहकार ज्ञानबहादुर शाक्य, नन्दकिशोर श्रेष्ठ, उषा बज्राचार्य,योग साधना केन्द्रका संयोजक विक्रम शाक्य, सचिव विना शाक्य, सदस्यहरु हरिप्रसाद श्रेष्ठ र रमिता शाक्य लगायतलाई कदरपत्र प्रदान गरिएको थियो। सो अवसरमा विभिन्न योग समूहले योग मुद्रामा नृत्य प्रस्तुत गरेका थिए।

Comments