स्वंगः चिभाः मिसा पुचःको उद्घोषण तालिम सम्पन्न
पुष २०, २०८१, शनिबार | विहान ०५:३३ बजे | 205
ललितपुर ख्वाय्बहिलस्थित स्वंगः चिभाः मिसा पुचले १२ दिनको ब्यक्तित्व विकास र उद्घोषण तालिम आयोजना गरेको छ । ललितपुर महानगरपालिका २० वडाको सहयोगमा भएको यस तालिममा महिला समूह र बाल समूहका गरी २५ जनाको सहभागिता रहेको थियो भने तालिम सुरजवीर बज्राचार्यले दिनुभएको हो । पुचःकी अध्यक्ष शान्ति महर्जनको सभापतित्वमा भएको समापन समारोहका प्रमुख आतिथि ललितपुर महानगरपालिका वडा २० का महिला सदस्य गीता महर्जनले आफ्नो मन्तब्य राख्ने क्रममा ब्यक्तित्व विकासको तालिम र अभ्यास निरन्तर हुनुपर्ने तथा यसको एडभान्स तालिमका लागि वडाले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँको वडाले उपलब्ध गराउने श्रोतको उपयोग गरी विभिन्न कार्यक्रम गर्न वडाका संघसंस्थाको ध्यानाकर्षण गराउनु भयो । कार्यक्रमका अतिथि स्वंगः चीभाः युथ क्लब तथा स्तम्भ सहकारी संस्थाका अध्यक्ष धनबहादुर महर्जनले प्रशिक्षार्थीहरुको सशक्तिकरणबाट आफु प्रभावित भएको उल्लेख गर्नुभयो । प्रशिक्षक बज्राचार्यले समापन कार्यक्रम नै वास्तवमा सिकेका गुणको उपयोगको उद्घाटन भएको उल्लेख गर्नुहुँदै आवश्यकता पर्दा सँधै सबै प्रशिक्षार्थीको साथमा आफु रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । पुचःकी सह–कोषाध्यक्ष लक्ष्मी शाक्यले स्वागत मन्तब्य राख्नु भएको यस कार्यक्रममा धन्यवाद ज्ञापन पुचःकी निवर्तमान अध्यक्ष विनिता शाक्यले राख्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि महर्जनले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने आयोजक पुचःले प्रशिक्षक सुरजवीर बज्राचार्यलाई सम्मान–पत्र गर्नुका साथै अतिथिहरुलाई मायाको चिनो अर्पण गरेको थियो ।