भक्तपुर नगरपालिका ७२ औं वर्षमा प्रवेश
पुष २, २०७७, बिहीबार | दिउँसो ०२:१३ बजे | 45
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नपाको ७१ औं स्थापना दिवसबिहीबार ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा पानसमा दीप प्रज्ज्वलन गरीसम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले स्थापना दिवसको सफलताको कामना गर्नुहुँदै सांस्कृतिक नगर भक्तपुरकोसम्पदा संरक्षणमा भक्तपुर नपाले गरेको कामलाई चालुराख्नुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीहरु जनताको निःस्वार्थ सेवामा समर्पित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले सत्तामा गएका दलभित्रको झगडा सैद्धान्तिक नभई भागबण्डाको विवाद भएको र यसबाट सरकारको कामकारबाही प्रभावित भइरहेको यथार्थबारे उल्लेख गर्नुहुँदै भ्रष्टाचार, अनियमितता र भागबण्डा २०४६ सालपछिका सरकारहरुले रोक्न नसकेको बताउनुभयो ।
भक्तपुरसाना औद्योगिक क्षेत्रभित्रका ध्वनी, धुँवा र रसायन प्रदूषण फाल्ने टेक्सटाइल, डाइङ, प्लास्टिक, रंगरोगन उद्योगहरु हटाउनुपर्ने आवाज कुनै उद्योगीको व्यक्तिगत विरोध नभई स्थानीय जनताको स्वास्थ्यसँग सम्बन्धित भएको हुँदा सो उद्योग क्षेत्रलाई स्थानान्तरण गर्नुपर्ने र भक्तपुर औद्योगिक क्षेत्रका उद्योगहरुलाई भक्तपुरको परम्परागत सीपको हस्तकलामा आधारित साना उद्योग क्षेत्रको रुपमा कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
कोभिडका कारण लामो समयदेखि विद्यालयहरु बन्द रहँदा विद्यार्थीहरु पढाइबाट बञ्चित भइरहेको बताउनुहुँदै सांसद सुवालले विद्यालय कक्षा सञ्चालनबारे शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयको भनाइमा विरोधाभास देखिएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरु अन्योलमा परेको स्पष्ट पार्नुभ्यो ।
भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण तथा रोकथामको लागि गरेका प्रयासहरु उल्लेखनीय भएको बताउनुहुँदै सांसद सुवालले इमानदार र नैतिकवान दक्ष जनशक्ति उत्पादन गर्न भक्तपुर नगरपालिकाले विभिन्न कलेजहरु सञ्चालनमा ल्याएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ को नारालाई सार्थक बनाउन स्थानीय जनताकै सहयोगमा यहाँका सम्पदाहरु उठाउन भक्तपुर नगरपालिका प्रयत्नशील रहेको बताउनुहुँदै राज्यको अधिकांश बजेट स्थानीय तहलाई पठाउनुपर्ने र आवश्यकताको आधारमा योजना छनोट गर्ने अधिकार स्थानीय तहलाई हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो — ‘का. रोहितले कल्पना गर्नुभएको ‘१०० वर्षपछिको भक्तपुर’ नै भक्तपुर नगरपालिकाको सपना हो । हामी त्यसैलाई मार्ग दर्शनको रुपमा लिँदै काम गर्दैछौं । सांस्कृतिक प्रशिक्षण, सम्पदाहरुको संरक्षण, सांस्कृतिक गतिविधिहरु र मौलिकता संरक्षण यसैको सिलसिला हो ।‘
उहाँले हरेक कामको लागि जनप्रतिनिधिहरु सिंहदरबार धाउनुपर्ने प्रवृत्तिले संघीयताको उपहास गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले स्थानीय जनताको मागअनुसार भक्तपुर साना औद्योगिक क्षेत्रका धुँवा र धुलो प्रदूषण गर्ने उद्योगहरु स्थानान्तरणको लागि उद्योगमन्त्री, उद्योग राज्यमन्त्री, उद्योग क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीसमक्ष पटकपटक अनुरोध गर्दै आइरहेको बताउनुभयो ।
कुनै पनि समयमा आउने विपद् र संकटमा जनप्रतिनिधि र कर्मचारीहरु समर्पित भएर जनताको सेवामा लाग्नुपर्ने बताउनुहुँदै सांसद गोसाइँले शिक्षा, स्वास्थ्य, विकास निर्माणका साथसाथै कोभिड नियन्त्रण र रोकथाममा भक्तपुर नपाबाट सबैस्थानीय तहहरुको लागि प्रेरणादायी कार्यहरु भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको हरेक काममा नगरबासी जनताहरुको रचनात्मक साथ र सहयोग रहँदै आएको बताउनुभयो । भक्तपुर नपाको कामकारबाही देशभरिका स्थानीय तहहरुको लागि अनुकरणीय बन्दै आइरहेको बताउनुहुँदै उहाँले भक्तपुरको गौरव जोगाइराख्न सँधै क्रियाशील भई अगाडि बढिरहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवादज्ञापन गर्नुभएको थियो भने भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपाको स्थापना दिवसको अवसरमा छिपुङ ताइची खेल प्रदर्शन गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सांसद सुवालले खेलका प्रशिक्षक दिपक श्रेष्ठलाई टाइची सुट पनि हस्तान्तरण गर्नुभएको थियो ।