चाँगुमा विपद् जोखिम न्यूनीकरण तथा सुशासन मूल्यांकन सुचकको कार्यान्वयन सम्बन्धि कार्यक्रम
पुष १६, २०८१, मङ्गलबार | दिउँसो १२:४९ बजे | 165
खरिपाटी, भक्तपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा विपद् समन्वय माहाशाखाको समन्वयमा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा सुशासन मूल्यांकन सुचकको कार्यान्वयन तथा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि १ दिने कार्यक्रम सम्पन्न भएको छ । आइ.एफ.आर.सी तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा नगरपालिकाको कानुनी व्यवस्था, संस्थागत तथा संगठनात्मक संरचना, योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन र मूल्यांकन, समन्वय, साझेदारी तथा सहकार्य, श्रोत साधन तथा क्षमता, अन्तरसम्बन्धित विषयहरु गरी विभिन्न ६ वटा क्षेत्रहरुको सुचकका आधारमा मूल्यांकन गरिएको थियो । कार्यक्रमको शुरुवात गर्नुहुदै चाँगुनारायाण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगर क्षेत्र विपद्का दृष्टिकोणले जोखिम क्षेत्रमा पर्ने भएकाले सम्भावित विपद्को जोखिम न्यूनीकरण गरी नगरबासीलाई सुरक्षित राख्ने तर्फ नगरपालिकाले प्राथमिकताकासाथ काम गर्दै आएको बताउनु भयो । उहाँले यस वर्षको मनसुनका कारण क्षति भएका सार्वजनिक पूर्वाधारहरु पूर्ननिर्माणको लागि नियमित विकासका बजेटबाट समेत १० प्रतिशत कटौती गरी कोष खडा गरीएको जानकारी दिनुभयो । नगर प्रमुख खत्रीले नियमित रुपमा गरिने यस प्रकारको विपद् जोखिम न्यूनीकरण तथा सुशासन मूल्यांकनले विपद् व्यवस्थापन क्षेत्रमा स्थानीय तहको क्षमता अभिबृद्धिमा मद्यत पुग्ने बताउनुहुदै नगरपालिकासंग सहकार्य र समन्वय गर्नुहुने सबै सरकारी तथा गैह्र सरकारी निकायलाई धन्यवाद दिनुभयो । सहभागितामूलक आधारमा गरिएको मूल्यांकनमा चाँगुनारायण नगरपालिकाले १०० पूर्णांकमा ८४.५ अंक प्राप्त गरेको थियो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका सहसचिव काली प्रसाद पराजुलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि कानुनि तथा नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । शाखा अधिकृत जयराम उप्रेतीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको योजना तथा विषयगत क्षेत्रमा मुलप्रवाहिकरणका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापाले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन क्षेत्रमा गरेको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो् । नगरपालिकाको हलमा सञ्चालित कार्यक्रममा नगरपालिकाका नगर प्रमुख जीवन खत्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुँमेगाई, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा तथा उपशाखा प्रमुख तथा कर्मचारीहरु गरी ५३ जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको समापन गर्नुहुदै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुँमेगाईले नगरपालिकाले गरेका पूर्वतयारीका कारण मनसुनजन्य विपद्को अवस्थामा प्रभाबकारी प्रतिकार्य गर्न सफल भएको बताउनुभयो । उहाँले नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा सुशासन मूल्यांकन कार्यक्रममा सहजिकरण तथा समन्वय गर्नुभएकोमा संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रालय, वातावरण तथा विपद् व्यवस्थापन महाशाखा, आइ.एफ.आर.सी तथा नेपाल रेडक्रस सोसाइटीलाई नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिनुभयो ।