सूर्यविनायक प्राणी उद्यान ः शिलान्यास भयो, काम भएन
पुष ९, २०८१, मङ्गलबार | विहान ०६:५१ बजे | 175
भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जंगल क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रुपमा विकास गर्ने भनेर शिलान्यास गरेको आठ वर्षपछि डिपिआर नै वेपता भएको जनाइएको छ । उद्यान बनाउन तयारीका साथ नेपाल सरकारले बनाएको डिपिआर नै बेपता भएको सरोकारवालाले बताएका हुन् । उद्यानको प्रधानमन्त्री (तत्कालिन पनि) केपी शर्मा ओलीले २०७३ असार १० गते बिहीबार शिलान्यास गरेका थिए ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले डिपिआर कहाँं छ भनेर खोज्ने बताए । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले राष्टिय प्राणी उद्यानको विषयमा मंगलबार मन्त्रीसँंग गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले आफूले कार्यक्रममा आएपछि मात्रै डिपिआर हराएको जानकारी पाएको बताए । कार्यक्रमका पूर्व वक्ताहरुले डिपिआर नै कसैसँंग नभएको बताएपछि मन्त्री शाहीले अव आफूले खोजी गर्ने जनाए ।
वन तथा वातावरण मन्त्रालयले जिल्लाको साविक तीन वटा गाउँ विकास समिति अर्थात् हालका दुई वटा नगरपालिका, ७ वटा सामुदायिक वन र राष्ट्रिय वनको केही भाग समेटेर उद्यानको रुपमा विकास गर्ने काम सुरु गरेको थियो । साविकको सिपाडोल, कटुञ्जे र गुण्डु गाविससहित हालको अनन्तलिंगेश्वर र सूर्यविनायक २ वटा नगरपालिका क्षेत्रको कुल २४५.१६५ हेक्टर वन क्षेत्रलाई उद्यानको रुपमा विकास गर्ने काम थालेको थियो ।
चिडियाखाना स्थापना र बिस्तार गर्दै जाने लैजाने वन नीति, २०७१ बमोजिम मन्त्रिपरिषद्को २०७१ माघ २९ मा भएको निर्णय अनुसार भक्तपुर जिल्लामा एउटा राष्ट्रिय प्राणी उद्यान केन्द्र स्थापना गर्ने उद्देश्यले काम थालिएको थियो । केन्द्र स्थापना गर्न २०७१ चैत १६ को राजपत्रमा सूचना प्रकाशन गरी चार किल्ला तोकिएको थियो ।
यसका लागि २०७२ श्रावण २० मा मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय प्राणी उद्यान केन्द्र सञ्चालन निर्देशिका २०७२ स्वीकृत गरी लागू गरेको थियो । निर्देशिका बमोजिम आव २०७२ र २०७३ मा ५० लाख रुपैयाँ बजेट विनियोजन भई नापी कार्यालय भक्तपुरले केन्द्रको साँध सिमाना समेत छुट्ट्याइसकेको थियो । साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट एक किलोमिटर तारबार गर्न थालिएको थियो । जिल्ला वन कार्यालय भक्तपुर र सुरक्षा निकायको सहयोगमा उद्यान क्षेत्र भित्रका अतिक्रमण हटाउन समेत थालिएको थियो । साथसाथै १२ किलोमिटरको परिधिमध्ये ११ किलोमिटर तारबार गर्न इटेन्डर गरिएको थियो । तर त्यसपछिबाट कुनै काम अगाडि वढ्न सकेको थिएन ।
राष्ट्रिय प्रकृति सरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले चालु आव, २०७३ र २०७४ मा उद्यानको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने योजना अनुसार काम सुरु भएको तर अहिले काम ठप्प रहेको जनाए । आव २०७३÷०७४ को बजेटमा ‘एक प्रदेश, एक प्राणी उद्यान’ स्थापना गर्ने नीति अनुसार काम थालेको तर काम थालेको आठ वर्षपछि कार्यालयको भबन एउटा बनेको त्यसपछि थप काम हुन नसकेको उनले बताए । उनले सरकारले बनाउन नसके कोषले पनि दाताहरुबाट अर्थ सकलन गरेर भए पनि निर्माण पूरा गराउन तयार रहेको बताए । सरकारले ६० वर्षका लागि आफूहरुलाई लिजमा दिए पाँंचदेखि दस वर्षभित्रमा प्राणी उद्याणको सम्पूर्ण काम सकाइसक्ने दावी उनले गरे ।
दुर्लभ र लोपोन्मुख वन्यजन्तु संरक्षण गर्न उद्यानलाई प्रजनन केन्द्रका रुपमा विकास गर्ने योजना सरकारको रहेको थियो । टुहुरा र असहाय वन्यजन्तुको आश्रय केन्द्रका रुपमा उद्यान विकास गरिने योजना थियो । साथै यसलाई पर्यटकको आकर्षण केन्द्रका रुपमा पनि विकास गर्ने योजना रहेको थियो । प्राणी मात्रको उदारका लागि नभई सम्पूर्ण मानव जातिकै उत्थानका लागि उद्यानको महत्व रहेको चर्चा भएको थियो ।
व्यवस्थापिका संसद, वातावरण संरक्षण समितिको २०७२ जेठ ३१ को निर्णयानुसार चिडियाखाना सम्बन्धि कानूनी व्यवस्थाको अभाव देखिएकोले चिडियाखाना सम्बन्धि छुट्टै विधेयक तर्जुमा गरी व्यवस्थापिका संसदमा ३ महिना भित्र पेश गर्न निर्देशन दिई काम सुरु गरिएको थियो । कामका लागि १४ अर्वको लागत इष्टमेट थियो । तर बजेट अभाबमा काम अलपत्र परेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवं सघीय सांसद दुलर्भ थापा, सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूका वडा अध्यक्ष रवीन्द्र सापकोटालगायतले प्राणी उद्यानको निर्माणलाई गति दिनुपर्नेमा जोड दिए । आयोजक नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सोसाइटीका महासचिव केशव लुइँंटेलले गरेका थिए ।