पर्यटन विकासका लागि मध्यपुर महोत्सव – नगर प्रमुख श्रेष्ठ


पुष ७, २०८१, आइतबार | विहान ११:२२ बजे | 50


पर्यटन विकासका लागि मध्यपुर महोत्सव – नगर प्रमुख श्रेष्ठ

सागर गुरागाई
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले यहि पुस १२ देखि १४ सम्म आन्तरिक र बाह्रय पर्यटकलाई आकर्षित गर्दै पर्यटन विकासका लागि मध्यपुर महोत्सव आयोजना गरिएको बताउनु भएको छ । मध्यपुर थिमिको सामाजिक संस्था ओस्ला नेपालको २५ वर्ष (रजत जयन्ती) कार्यक्रममा स्मारिका विमोचन गर्दे नगरप्रमुख श्रेष्ठले उक्त विचार व्यक्त गर्नुभएको हो । 
ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमि क्षेत्रका मूर्त–अमूर्त कला, संस्कृति र सम्पदाको जानकारी दिदैं यस क्षेत्रको जीवनशैली, खानाका परिकार, मौलिकता, पेशा, व्यवसाय, नाच एवं जात्राको बारेमा सम्पूर्ण जानकारी दिइने मध्यपुर महोत्सव अवलोकनका लागि सबैसँग आग्रह गर्नु भयो । 
कार्यक्रमका विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमिको सम्पदा र संस्कृतिलाई आयआर्जनसँग जोड्न नगरपालिकाले अब आन्तरिक र बाह्रय पर्यटकसँग सम्बन्धित विविध कार्यक्रमहरु मासिक रुपमा आयोजना गर्ने जानकारी दिदैं मथिनपाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य कामहरु गरिरहेको बताउनु भयो । 
कार्यक्रममा मथिनपा वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, सम्मानित व्यक्तित्व प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, शुभश्री साकोसका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, बाबा साकोसका अध्यक्ष उमेश श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले समाज परिवर्तनका लागि युवा नेतृत्व अपरिहार्य भन्ने ओस्ला नेपालको नारा समय सापेक्ष रहेको भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा दाफा भजनका गुुरु कृष्णमान वके श्रेष्ठ, इन्द्रअप्सरा नाचका गुरु ज्ञानलाल कायस्थ एवं संस्कृतिकर्मी=साहित्यकार पुरुषोत्तम लोचन श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । 
ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले ओस्ला नेपालले सामाजिक, सांस्कृतिक, स्वास्थ्यदेखि व्यक्तित्व र नेतृत्व विकासमा गर्दैआएका कार्यहरुको बुँदागत जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिले ओस्ला नेपालको रजतवर्ष स्मारिका २०८१ र संस्कृतिकर्मी राजेन्द्र तुबन्जा श्रेष्ठद्धारा लिखित नेवारी भोजका प्रकार र परिकार पुस्तक विमोचन गर्नुभएको थियो । ओस्ला नेपालका सचिव रोशन बज्राचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा ओस्ला नेपालका उपाध्यक्ष सुशील जोशीले हाल सम्मको गतिविधि सहित स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । शंखधर बैंक्वेटमा भएको उक्त कार्यक्रममा ओस्ला नेपालका कोषाध्यक्ष दिकेश बज्राचार्यले कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै सामाजिक, सांस्कृतिक एवं समाज परिवर्तनमा यूवाहरुको योगदानको भूमिकाबारे चर्चा गर्नुभयो । 
कार्यक्रममा ओस्ला नेपालका संस्थापक अध्यक्ष रविन बज्राचार्य, निवर्तमान अध्यक्ष मदनसुन्दर श्रेष्ठ र वर्तमान अध्यक्ष राजेश श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । नेवार समूदायमा जन्मदेखि मृत्युसम्म मनाइने संस्कारका लागि तयार गरिने भोजको पुस्तक प्रकाशित गर्न मध्यपुर थिमि क्षेत्रका एक दर्जन सहकारीहरुले आर्थिक सहयोग गरेको ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । उक्त दुवै पुस्तकहरु कार्यक्रमा सहभागी सबैलाई निशुल्क वितरण गरिएको थियो । 

Comments