पर्यटक तान्न नागपोखरीमा गरियो दीपावली


पुष ६, २०८१, शनिबार | दिउँसो ०१:२२ बजे | 50


पर्यटक तान्न नागपोखरीमा गरियो दीपावली

भक्तपुर । भक्तपुरको नागपोखरीमा शनिबार साँंझ दीपावली गरिएको छ । भक्तपुर नगरपालिका वडा नं १० थालाछेंमा रहेको नागपोखरीको चारैतिर दियो वालेर दीपावली गरिएको हो । स्थानीयबासीको सक्रियतामा त्यहाँं दीपावली गरिएको हो । पोखरीलाई देशविदेशमा परिचित गराई आन्तरिक तथा बाह्य पर्यटक भित्राउने अभियानलाई सहयोग पुरयाउन दीपावली गरिएको स्थानीयले बताए । 
यो पोखरीलाई मात्रै होइन, यहाँंका बसाई पनि समाजशाश्त्रमा रुचि राख्नेका लागि अध्ययन अनुसन्धानको विषय हुनसक्छ, स्थानीय युवा इन्जिनियर कृष्णभक्त दुवाल भन्छन्, यो टोल एउटा यस्तो मानिसको बसाई भएको टोल हो, जहाँं पृथ्वीनारायण शाहले भने जस्तै चार जात ३६ वर्णका मानिसको बसाई छ । 
परम्परागत रुपमा उच्च वर्ग मानिनेदेखि तल्लो वर्ग मानिनेसम्मका मानिसको बसोेबास यो टोल रहेको उनको भनाई हो । उनका अनुसार त्यहाँं राजकाज चलाउने राणावर्गदेखि लिएर पूजापाठमा संलग्न हुने  जोशी, राजभण्डारीसहित फलामको काम गर्ने नकर्मी, हजामको काम गर्ने नापितसम्मका जातिका मानिसहरु वस्दछन् । पोखरीलाई अगाडि सारेर समग्र टोललाई नै पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना रहेको स्थानीयले बताए । 
यो टोल भक्तपुर नगरको वीच भागमा पर्दछ । यहाँं पुग्न देकोचा (सल्लाघारी कमलविनायक सडकको चाँगुनारायण मन्दिर जाने चोक) नजिकै रहेको छ । देकोचाबाट पाँंच मिनेट दक्षिण हिडाइमा यो टोल वा नागपोखरी पुग्न सकिन्छ । 
भक्तपुरका धेरै पोखरीहरुमध्ये नागपोखरी एउटा पृथकता बोकेको पोखरी हो । भक्तपुर नगरका ३४ साना ठुला पोखरीहरुमध्ये नागको प्रतिक रहेको यो एउटै मात्रै पोखरी हो । 

Comments