राप्रपामा पार्टीको अस्तित्व र भविष्यलाई लिएर चिन्ता


पुष ३, २०८१, बुधबार | दिउँसो ०१:१९ बजे | 35


राप्रपामा पार्टीको अस्तित्व र भविष्यलाई लिएर चिन्ता

काठमाडौं । स्थानीय उपनिर्वाचनमा लज्जास्पद नतिजा हात लागेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पार्टीको अस्तित्व र भविष्यलाई लिएर चिन्ता छाएको छ । देशभरीका कार्यकर्ताले संस्थापक नेताहरुलाई पार्टी बचाउन दवाब दिएपछि राप्रपाको ब्राण्ड जोगाउन पार्टीभित्र गम्भीर छलफल आरम्भ भएको छ । पूर्वअध्यक्षद्वय पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीले यसबीच राजधानीमा उपलब्ध नेताहरुसँग छलफल आरम्भ गरेका छन् । परम्परागत शक्तिको रुपमा स्थापित राप्रपालाई जनताबीच कसरी टीकाउने भन्नेमा राय सुझाव लिन थालेका छन् । पार्टी स्रोतका अनुसार, संघ, प्रदेश एवं स्थानीय तहका उपचुनावहरुमा राप्रपाले साख जोगाउन नसक्दा पार्टीको शीर्ष नेतृत्व तह हाल चिन्तित र गम्भीर बनेको छ । यति मात्र होइन पार्टीको क्रियाशीलता र भविष्यप्रति पूर्वअध्यक्षद्वय राणा र लोहनीको दृष्टिकोणमा एकरुपता देखिएको छ । दुई नेताको हाल केमीष्ट्री पनि मिलेको छ । केही समय अघि राणाले यही संसदको कार्यकालमा आफू प्रधानमन्त्री बन्छु भन्नु र लोहनीले राप्रपाबाट प्रधानमन्त्री बन्न लायक नेताको रुपमा राणाको नाम सार्वजनिक गर्नु संयोग मात्र होइन । पार्टीको लक्ष्य प्राप्त गर्न सडक तताउनुपर्दछ भन्ने माग राप्रपामा व्यापक छ । आगामी पुष १३ गते कोशी प्रदेश समितिले अवस्था बदल्न, व्यवस्था बदल्नु पर्दछ भन्ने नारासहित इटहरीमा आन्दोलन केन्द्रीत कार्यक्रम आयोजना गर्दैछ । तर हाल भने, केन्द्रीय अध्यक्ष र महामन्त्रीका गृह जिल्लाहरुमा भन्दा विद्यार्थी र यूवा संगठनका केन्द्रीय सदस्यहरुको जिल्लामा स्थानीय उपनिर्वाचनमा बढी भोट आएपछि राप्रपावृत्त चिन्तित छ । यही गतिमा पार्टी अघि बढे ८४ सालको आमनिर्वाचनमा अस्तित्व बचाउन गाह्रो हुने विश्लेषण राप्रपामा छ । पार्टी बचाउनु पर्दछ भन्ने विषयमा संस्थापक नेताहरु एक ठाउँ उभिएको अवस्था छ ।

Comments