अरुको आसले आफ्नो खुट्टामा उभिन नसक्ने : बिजुक्छे
पुष २, २०८१, मङ्गलबार | दिउँसो ०३:२८ बजे | 55
भक्तपुर, पुष २ । गत मंसिर २८ गतेदेखि सुरु भएको भक्तपुर महोत्सव २०८१ मंगलबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यतामा एक समारोहबीच समापन भएको छ । समापन समारोहमा प्रमुख अतिथि बिजुक्छेले अरुको भर पर्दा आफ्नो खुट्टामा उभिन नसक्ने बताउँदै महोत्सवलाई सभ्य र भव्य रुपले सफल बनाउन कलाकार, व्यवसायी, शिक्षक विद्यार्थी तथा स्थानीयले आफ्नो सीपको क्षमता प्रस्तुत गरेको बताउनुभयो । उहाँले भक्तपुरसँगै नेपाललाई नै सुन्दर र समृद्ध बनाउन स्थानीय सरकारले जनताको साथ लिएर अगाडि बढ्दा विश्व समुदायमा नेपाल चिनाउन सक्ने बताउनुभयो । बागमती प्रदेशका सांसद तथा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले सामुदायिक कार्यमा निःस्वार्थ भावनाबाट जनताको सकृयता र खुसी तथा साैहार्दताको क्षण महोत्सवले दिएको बताउनुभयो । उहाँले नेपालको माैलिक संस्कृतिको हमलामा विश्व समुदायलाई ऐतिहासिक माैलिक संस्कृति र सभ्यताको मायास्वरूप नयाँ पुस्तान्तरण र हस्तान्तरण महोत्सवमा प्रस्तुत भएको बताउनुभयो । भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् कार्यक्रम सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका अग्रज पुस्ताको सपना पुरा गर्न अघि बढेको बताउँदै जनताको साथ र हातेमालोको सहयोगबाट महोत्सव सभ्य र भव्य रूपमा सफल भएको बताउनुभयो । कार्यक्रममा चिनियाँ महामहिम राजदुत छन सोङ लगायत भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बोल्नुभयो । हरेक बेलुकी दिपावली भएको भक्तपुर महोत्सव सफल पार्न ५७५ जना स्काउटरहरुले विभिन्न नाका, प्रदर्शनी क्षेत्र तथा स्टलहरुमा पाँचै दिन खटिएको भक्तपुर नगरपालिकाका स्थानीय स्काउट आयुक्त बालकृष्ण बनमालाले जानकारी दिएका छन् ।