महोत्सवमा मुर्तिकला, चित्रकला, पुस्तक प्रदर्शनी तथा पोखरीहरुमा नाैका बिहार
मंसिर ३०, २०८१, आइतबार | विहान १०:५५ बजे | 55
भक्तपुर, मंसिर ३० । देशभर आर्थिक गतिशीलता स्थिरता भएको बेला भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरी आर्थिक गतिविधिलाई टेवा दिलाउने उद्देश्यले गत मंसिर २८ गतेबाट पुष २ गतेसम्म ५ दिने भक्तपुर महोत्सव २०८१ मा मुर्तिकला, चित्रकला, पुस्तक प्रदर्शनी भएको छ ।
भक्तपुरको कमलविनायक स्थित यातु बारे पुखु तथा भाज्या पुखु, न: पुखु, सिद्ध पोखरीमा नगरपालिकाले महोत्सवमा नाैका बिहार संचालन गरी मनोरञ्जन दिलाएका छन् ।
भक्तपुरको कमलविनायक लामगाल चउरको पुस्तक प्रदर्शनीमा जनप्रकाशन गृह, दोविला, अनुज, पाँचपोखरी, ईण्डिगो, स्वदेश, ब्ल्याक गोल्ड, कथालय, मधुवन, फोनिक्स, कोपिला, शिखा, बुकहिल, साझा प्रकाशन रत्न प्रकाशन तथा नेपाल प्रज्ञा प्रतिष्ठान लगायत १७ वटा प्रकाशन गृहहरुको स्टल रहेको छ ।
भक्तपुर नगरपालिकाको आफ्नो प्रकाशन प्रदर्शनी रहेको उक्त प्रदर्शनीमा वागिश्वरी माविको फ्रेस पेन्टिङ, सत्यनारायण बनमालाद्वारा निर्मित नवदुर्गाका मुकुन्डो समेत प्रदर्शनी भएको छ ।
बाँसुरी बाजा प्रतियोगिता स्थल रहेको क्वाठण्डाै पोखरी परिसरमा फोटोग्राफी समाजले जनजीविकासँग सम्बन्धित फोटो प्रदर्शनी गरेको छ भने विद्यार्थी निकेतन माविको प्रांगणमा ऐतिहासिक, सांस्कृतिक तथा जीवनशैलीको फोटोहरु प्रदर्शनी गरिएको छ । साथै मुर्तिकला, धातुकला र काष्ठकलाबाट अवलोकनकर्ताहरु रमाएका छन् ।
भक्तपुर दरबार क्षेत्रको पुरानो जनज्योति पुस्तकालय रहेको ठाउँमा ५० जना कलाकारहरुको आफ्नो कला प्रदर्शनी गरेको छ । मुर्तिकार बिकल प्रजापतिको एकल मुर्तिकला दर्शकको मुख्य आकर्षणको केन्द्र बनेको छ ।
ख्वप कलेज देकोचा परिसरमा विभिन्न विद्यालयहरुको शैक्षिक मेला तथा प्रदर्शनी रहेको क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम तथा नाटक प्रदर्शनी भइरहेको छ ।
विभिन्न विद्यालयहरुको शैक्षिक प्रदर्शनी रहेको भेलुखेल क्षेत्रमा बालमैत्री मेला तथा सांस्कृतिक कार्यक्रम संचालन भइरहेको छ ।
टोलटोलमा प्रदर्शन भएको लोभलाग्दो नेवार संस्कृतिबाट पर्यटकहरू लोभिएका छन् ।