अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन आदेश


मंसिर २९, २०७७, सोमबार | विहान ०३:२७ बजे | 40


काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहररू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको आइतबारको इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा उनले वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोग छ। यो आदेशमा चित्त नबुझे बस्न्यातले सर्वोच्च अदालतमा निवेदन दिन पाँउछन्।
अख्तियारले २०७६ माघ २२ गते  १ सय १० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएर विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जसमा  पूर्वउपप्रधानमन्त्री विजय गच्छदार र पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ पनि प्रतिवादी थिए।
अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई तत्कालीन सचिव हुँदा उनको भूमिकाका कारण मुद्दा दायर गरिएको थियो। बस्न्यातविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ प्रतिव्यक्ति बिगो दाबी गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
बस्न्यातले आफू भौतिक योजना तथा निर्माण मन्त्रालयमा छँदा ललिता निवासको सार्वजनिक तथा पर्ती जग्गा र राजकुलोको जग्गा नक्कली मोहीलाई दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको आरोप छ।

Comments