चितवन । तामाङ पत्रकार संघ (एटीजे) जिल्ला शाखा चितवन र रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामालाई सम्मान गरिएको छ ।
तामाङ पत्रकार संघ (एटीजे) बागमती (नेवा ताम्सालिङ) प्रदेश समितिको दोस्रो अधिवेशनबाट शनिबार हेटौंडामा जिल्ला शाखा चितवन र लामा सम्मानित भएका हुन् ।
जिल्ला शाखा चितवनलाई स्थापना कालदेखि नै विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गरी तामाङ समुदायको विकास, उत्थान र परिवर्तनमा महत्वपूर्ण योगदान दिएकोले उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मान गरिएको हो ।

कार्यक्रममा तामाङ पत्रकार संघ चितवनका बबिलाल तामाङ (२०७८–२०८१ अध्यक्ष), उर्गेन तामाङ (संस्थापक अध्यक्ष), राजेश तामाङ (पूर्व सचिव) , सरस्वती लामा, सन्तोष तामाङ, विना तामाङले संयुक्त रुपमा जिल्ला शाखाको सम्मान पत्र ग्रहण गरेका हुन् ।तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष अर्जुन पार्खिनलाई जिल्ला शाखा छनौटको लागि तामाङ पत्रकार संघ चितवन शाखाले २०७८ सालदेखि २०८१ सालसम्म सम्पन्न गरेका कार्यक्रमका गतिविधिहरुको आधिकारिक पत्र पेश गरेको थियो । चितवन शाखा २०७० साल माघ २५ गते स्थापना भएको हो ।
सोही अवसरमा अधिवेशनले तामाङ समुदायको विकास, उत्थान र परिवर्तनमा सञ्चार क्षेत्र तथा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामालाई नगदसहित सम्मान गरेको हो ।
एटीजे जिल्ला शाखा चितवन र कार्यकारी निर्देशक लामालाई कार्यक्रमका प्रमुख अतिथि तथा हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामा र एटीजे बागमती प्रदेशका अध्यक्ष अर्जुन पाख्रिनले संयुक्त रुपमा सम्मान गरेका थिए ।
यस्तैगरी अधिवेशनमा समन्वयकारी भूमिका निर्वाह गर्ने तामाङ पत्रकार संघ मकवानपुर शाखालाई कदर पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सम्पन्न भएको हो ।