कीर्तिपुर मेयरमा कांग्रेस विजयी, एमाले तेश्रो स्थानमा ढकेलियो
मंसिर १७, २०८१, सोमबार | दिउँसो ०३:५८ बजे | 35
काठमाडौँको कीर्तिपुर नगरपालिका कांग्रेसले क्लिनस्विप गरेको छ। २ वडाध्यक्षसँगै मेयर पदका उम्मेदवार कांग्रेसका कृष्णमान डंगोलले जित हात पारेका छन्। एमालेले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ। दोस्रो स्थानमा माओवादी उक्लिएको छ। कीर्तिपुरको मेयर पदका लागि एमालेका सुरेन्द्र मानन्धर र माओवादीका शिवशरण महर्जन प्रतिस्पर्धामा थिए। यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन थिए। कांग्रेसका कृष्णमानले ५ हजार ५०६ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ५ हजार ६७ मत पाएका छन्। एमालेका सुरेन्द्रले ४ हजार ३२६ मत मात्र पाए। निर्वाचन अधिकृत इन्दिरा कार्कीले मतगणना सकिएको र चाँडै नै आधिकारिक रूपमा घोषणा गर्ने बताइन्। २०७९ को निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसकै राजकुमार नकर्मी ९ हजार ४३ मत पाएर विजयी भएका थिए। एमालेका केशरत्न बज्राचार्यले त्यतिखेर ५ हजार ५०७ मत ल्याएका थिए। कांग्रेस र एमालेका दुवै उम्मेदवारले पहिलाको तुलनामा अहिले कम मत पाएका छन्। अघिल्लो चुनावमा माओवादीका शिवशरण महर्जन नै उम्मेदवार थिए र उनले ४ हजार ९० मत पाएका थिए। अहिले उनले जित हासिल गर्न नसके पनि मत संख्या बढाएका छन् र एमाले उम्मेदवारलाई उछिनेका छन्।