कीर्तिपुर उपनिर्वाचन ः कांग्रेस एमालेलाई लडाएर माओवादी जित निकाल्ने योजनामा
मंसिर १३, २०८१, बिहीबार | विहान ०६:४८ बजे | 40
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवारले एक अर्कासँग प्रतिस्पर्धा गर्दा काठमाडौंको कीर्तिपुर नगरपालिकाको नगरप्रमुख पदको निर्वाचन रोचक हुने बन्दै गएको छ । सत्तारूढ दल नै एक अर्कासँगको प्रतिपस्र्धामा उत्रिएपछि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले त्यसको फाइदा लिनेगरी मैदानमा उत्रिएको छ ।
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा मुख्यतः कांग्रेस, एमाले र माओवादी केन्द्रकै उम्मेदवारका बीचमा त्रिपक्षीय प्रतिपस्पर्धा हुने देखिन्छ । यद्यपप, यी दलका उम्मेदवारलाई अन्य राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारले कडा टक्कर दिने आँकलन गरिएको छ ।
कीर्तिपुरको नगरप्रमुखमा एमालेका डा. सुरेन्द्र मानन्धर, कांग्रेसका कृष्णमान डंगोल, माओवादी केन्द्रबाट प्राडा शिवशरण महर्जनले उम्मेदवारी दिई अहिले घरदैलो, भेटघाट गर्दै मत माग्नमा व्यस्त रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा))बाट ध्रुव महर्जनले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दिएको छैन ।
कीर्तिपुर नगरपालिकाको नगरप्रमुख पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बाट दिलकुमार महर्जनले उम्मेदवारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महेन्द्र राय यादव समूहको नेसपाले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
२०७९ सालको निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनले समेत उल्लेख्य मत बढाउनसक्ने अनुमान गरिएको छ । यसैगरी, स्वतन्त्र उम्मेदवारहरू नवरथकुमार बानिया, राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारीसहितका उम्मेदवारहरूका कारण यसपटकको उपनिर्वाचनमा के हुने भन्ने ’boutमा विभिन्न अड्कलबाजी स्थानीयले गरेका छन् । अर्को रोचक विषय भनेको धरानका नगरप्रमुख हर्क साम्पाङसमेत यहाँ मत माग्न आइपुगेका छन् ।
धरानका नगरप्रमुख साम्पाङ कीर्तिपुर नगरप्रमुख पदका उम्मेदवार राजमान मानवलाई सघाउन घरदैलो कार्यक्रममै सहभागी भएपछि कीर्तिपुरको निर्वाचन झनझन् रोचक बन्दै गइरहेको देखिन्छ । सोमबार नगरप्रमुख साम्पाङले कीर्तिपुर पुगेर स्वतन्त्र उम्मेदवार मानवसँगै घरदैलो गरेका हुन् । घरदैलोका क्रममा उनले मानव कीर्तिपुरको विकासका लागि काम गर्ने खालको मान्छे लागेकाले सघाउनका लागि आफू आएको बताए ।