भक्तपुर रक्त सञ्चार केन्द्रमा स्वास्थ्य मन्त्री
मंसिर ६, २०८१, बिहीबार | विहान ०४:२१ बजे | 35
भक्तपुर । नेपाल रेडक्रस भक्तपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनुगमन गर्नुभएको छ ।
नेपालको नै दोस्रो ठुलो रक्त संकलन तथा वितरकको रूपमा रहेको भक्तपुर रक्तसञ्चार केन्द्रको अनुगमन तथा सेवाको विषयमा जानकारी लिनुभएको थियो ।
न्याय नपाए गोर्खा जानु भने जस्तै रगत नपाए भक्तपुर जानु भन्ने अवस्थामा पुञ्याउन भक्तपुर रेडक्रसले उत्कृष्ट कार्य गरेको भन्दै उहाँले आम रक्तदाताहरूको रगतलाई भक्तपुर रक्तसञ्चार केन्द्रले न्याय समेत गरेको बताउनुभएको थियो ।
भक्तपुर रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले कसरी रगत सङ्कलन देखि यसको वितरण सम्म काम गर्दै आएको छ भनी रेडक्रस भक्तपुरका सभापति परशुराम पाण्डेले जानकारी दिनुभएको थियो । उहाँले भक्तपुर रेडक्रसले वर्षमा २४ हजार पोइन्ट भन्दा बढी रगत सङ्कलन तथा ५२ हजार पोइन्ट भन्दा बढी वितरण गर्दै आएको मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
रगत सङ्कलन देखि वितरण सम्म हुने गरेका समस्याको विषयमा रेडक्रस भक्तपुरका मन्त्री धर्मराज थापाले मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
स्वास्थ्य मन्त्रीका साथमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ लगायतका व्यक्तिहरूको उक्त अनुगमनमा उपस्थिति रहेको थियो ।