भक्तपुर महोत्सवभरि ख्वप कलेजमा शैक्षिक प्रदर्शनी हुने
मंसिर ३, २०८१, सोमबार | विहान १०:४३ बजे | 65
भक्तपुर । आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म ५ दिने भक्तपुर महोत्सवको क्रममा ख्वप कलेज देकोचा भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ । महोत्सवको क्रममा स्कुल कलेजमा पनि विदा नदिई महोत्सवमय बनाउने उद्देश्यले शैक्षिक तथा पुस्तक प्रदर्शनी गर्न लागेको जनाइएको छ ।
यसबारेमा सोमबार कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरुवीच छलफल भएको छ । छलफलमा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले महोत्सव अवधिभरि पाँंचैदिन कलेजमा शैक्षिक तथा पुस्तक प्रदर्शनी हुने जानकारी गराए ।
प्रदर्शनी भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित कलेज प्रांगनमा हुनेछ । यसका साथै महोत्सवको क्रममा विभिन्न खेलकुद प्रतियोगिताहरु पनि गर्ने जनाइएको छ । कलेजको वार्षिकोत्सवमा जस्तै शैक्षिक प्रदर्शनी तथा खेलकुद प्रतियोगिताहरु गरिने जनाइएको छ ।