पुराना पोलहरु स्थानान्तरण र तार तथा केबुलहरु व्यवस्थापन गर्ने
मंसिर २५, २०७७, बिहीबार | दिउँसो ०१:२२ बजे | 65
पुराना पोलहरु स्थानान्तरण र तार तथा केबुलहरु व्यवस्थापन गर्ने
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगर क्षेत्रभित्र नयाँ सडक बत्ती व्यवस्था गर्ने योजनाअन्तर्गत नगरका विभिन्न स्थानहरुमा पुराना पोलहरु स्थानान्तरण गर्ने र तार तथा केबुलहरु व्यवस्थापन गर्ने विषयमा सरोकारवालाहरुबीच बिहीबार बैठक बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको सुन्दरता कायम गर्न नगरभित्रका विभिन्न स्थानहरुमा छरपष्ट रुपमा राखिएका तारहरुलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्दै तारहरु भूमिगत गर्ने क्रममा रहेको बताउनुभयो । नगरभित्रका छरपष्ट रहेका तार तथा केबुलहरुले नगरको स्वरुपलाई कुरुप बनाइरहेको छ भन्नुहुँदै उहाँले सिंगो नगरलाई सुन्दर बनाउन सरोकारवाला सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल र समन्वय गरिदिन पनि अनुरोध गर्नुभयो ।
भक्तपुर नपाले भक्तपुर नगरका विभिन्न ठाउँहरुमा नयाँ पोलहरु जडानका क्रममा कुनै पनि बाधा अवरोध नहोस् भनी सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी छलफलहरु चलाउँदै आइरहेको उहाँले बताउनुभयो । साथै भक्तपुर नगरपालिकाभित्रका सम्पदाहरुमा राखिएको रात्रीकालीन बत्ती व्यवस्थापनले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुगिरहेको पनि प्रमुख प्रजापतिले बताउनुभयो ।
बैठकले विभिन्न सेवा प्रदायकहरुका केबुल तथा तारहरु, पोलहरुलाई सम्बन्धित निकाय तथा सरोकारवालाहरुले मापदण्डमा नियमित गर्न लगाई हालको अवस्थालाई सुधार अथवा व्यवस्थित गर्ने निर्णय ग¥यो ।
बैठकले नयाँ सडक बत्ती जडान गर्ने क्रममा आइपरेका विविध समस्यालाई स्थानीय निकाय (भक्तपुर नपा) एनईए, टेलिकम, आइएसपी, केबल टिभीका सरोकारवालाहरुसँग समन्वय गर्दै व्यवस्थित सडक बत्तीजडान कार्य हालको योजनाअनुसार सम्पन्न गर्ने निर्णय ग¥यो ।
सो बैठकमा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो भने ख्वप इन्जिनियरिङ कलेजका राकेश ग्वाछाले भक्तपुर नगरका पोलहरुको अवस्थाबारे प्रस्तुतीकरण देखाउनुभयो । बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, भक्तपुर नगर क्षेत्रमा केबुल तथा इन्टरनेट सेवा प्रदान गर्ने सेवा प्रदायकलगायतका प्रतिनिधिहरुको उपस्थिति थियो ।