खादा लगाइदिएर प्रजिअ अर्याललाई स्वागत
कार्तिक २९, २०८१, बिहीबार | दिउँसो ०२:१५ बजे | 55
भक्तपुर । हालै भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्नुभएका गोपालप्रसाद अर्याललाई भक्तपुरका उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघले बिहीबार एक कार्यक्रमका बीच प्रजिअ अर्याललाई स्वागत गरेको हो । संघका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले खादा लगाइदिएर प्रजिअ अर्याललाई स्वागत गरिन् ।
कार्यक्रममा अध्यक्ष धौबन्जाले विगतमा पनि संघ र जिल्ला प्रशासन कार्यालय मिलेर विभिन्न काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि हरेक क्षेत्रको विकासका लागि सँगै काम गर्न आफूहरु तयार रहेको बताइन् । उनले जिल्लाका उद्योगी व्यवसायीहरुको हकहितको पक्षमा यसअघि प्रमुख जिल्ला अधिकारीहरुबाट सदैव सहयोग तथा सद्भाव प्राप्त भएको बताउँदै नयाँ प्रजिअ अर्यालले पनि उद्योगी व्यवसायीहरुसँग सुमधुर सम्बन्ध कायम गरी काम गर्ने विश्वास व्यक्त गरिन् ।
प्रजिअ अर्यालले कानुन पालनामा सबैजना प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । कानुनले दिएको दायरा भित्र बसेर काम गरेमा कुनै पनि क्षेत्रमा खासै समस्या आइनपर्ने उनको भनाइ छ । कानुन परिपालना गरी अगाडि बढ्ने क्रममा विभिन्न परिस्थितिवश समस्या उत्पन्न भएमा वा विवाद देखिएमा सकेसम्म सहज ढंगले समाधान गर्न आफूले प्रयत्न गर्ने उनले बताए ।
प्रजिअ अर्यालले आफूले प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा अभिभावकको रुपमा काम गर्ने भन्दै जिल्लाका सबै सरोकारवालाहरुको समस्या सुनेर, बुझेर आफूले सकेसम्म समाधानका लागि लागिपर्ने बताए । उनले वर्तमान अवस्थामा जिल्लाका उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याहरु बारेमा आफूलाई जानकारी दिनको लागि आग्रह गरे ।
‘उद्योग व्यवसाय सञ्चालनको क्रममा के कस्ता अप्ठ्याराहरु छन्, सो बारेमा पनि जानकारी दिनुहोला’, उनले भने, ‘सरकारी निकायबाट प्राप्त हुने कुनै किसिमका सेवामा गुनासाहरु भए, त्यस बारेमा पनि जानकारी दिनुहोला ।’ उनले आफू समस्याबाट भाग्ने व्यक्ति नभई समस्यालाई गहन रुपमा अध्ययन गरी समाधानका लागि सदैव प्रयत्नशील रहने आफ्नो स्वभाव रहेको बताए ।
जिल्ला प्रशासन कार्यालय र भक्तपुर उद्योग वाणिज्य संघबीचको सम्बन्ध नङ र मासुको जस्तै हुने भन्दै उनले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि उद्योगी, व्यवसायीहरुसँग सहकार्य गरी आफू अगाडि बढ्ने बताए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं सल्लाहकारहरु, पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरुले प्रजिअ अर्याललाई सफल कार्यकालको शुभकामना दिँदै जिल्लाको विकास एवं शान्ति सुरक्षा कायम गर्न उद्योगी व्यवसायीहरुको तर्फबाट सदैव साथ र सहयोग रहने बताए ।