तामाङ विज्ञ भेला ६ विषयगत समिति गठन गर्दै सम्पन्न


कार्तिक २६, २०८१, सोमबार | विहान ०१:०१ बजे | 90


तामाङ विज्ञ भेला ६ विषयगत समिति गठन गर्दै सम्पन्न

काठमाडौं। शनिबारबाट शुरु भएको तामाङ विज्ञ भेला ६ विषयगत समिति गठन गर्दै सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय तामाङ परिषद(आइटिसी) को आयोजनामा काठमाडौंको रामहिटिस्थित सिदार्थ बुटिक होटलमा सोमबारसम्म चलेको भेलाले विषयगत समितिहरु गठन गरेको हो।
भेलाले ३ वर्षे ग्लोबल एक्सन प्लानसमेत पारित गरेको आइसिटीका महासचिव टासी लामा तामाङले बताए। भेलाले तामाङ भाषाको प्रयोगमा विस्तार, तामाङ मिडिया भाषाशैली निर्माण गर्ने, त्रिभुवन विश्वविद्यालयमा तामाङ विभागको माग गर्नेलगायतको तीन वर्षे एक्सन प्लान तयार भएको भाषाविद् अमृत योञ्जन तामाङले बताए।
यसैगरी थर, थातथलोको विषयमा गहन अध्ययन, अनुसन्धानसमेत गरिने गरी एक्सन प्लान तयार भएको अध्ययन अनुसन्धान तथा क्षमता अभिवृद्धि समितिकी संयोजक सुदिपा लामाले बताइन्।
समितिको संयोजक को को?
१.  डा. संग्राम सिंह लामा (संयोजक) सांस्कृतिक पुनःउत्थान समिति। 

२. अजितमान तामाङ (संयोजक) भाषा, लिपि तथा शिक्षा प्रबर्द्धन समिति। 

३. खेन्पो सोनाम ग्युर्मे लामा (संयोजक) अन्तर्राष्ट्रिय उच्चस्तरीय तामाङ पञ्चाङ्ग समिति।  

४. सुदिपा लामा (संयोजक) अध्ययन अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति। 

५.  अधिवक्ता सोम बहादुर घले (संयोजक) तामाङ मानवअधिकार तथा कानुनी सेवा प्रवर्द्धन समिति। 

६. दिनेश लो (संयोजक) तामाङ कला, संस्कृति, साहित्य, इतिहास लेखन समिति।
विषयगत समिति सात सदस्यीय रहने र प्रत्येक समितिमा एक एक जना सचिवसमेत चयन गरिसकेको आयोजकले जनाएको छ।

आइसिटीले आयोजना गरेको विषयगत विज्ञ भेलामा शनिबारबाट समूहगत छलफल शुरु भएको थियो। विज्ञ भेलामा सांस्कृतिक पुनः उत्थान समितिको संयोजन घेदुङका पूर्वअध्यक्ष परशुराम तामाङले गरेका थिए। त्यसैगरी तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समितिको संयोजन डा संग्रामसिंह लामा, तामाङ मानवअधिकार प्रवद्र्धन समितिको संयोजन सोमबहादुर घले, भाषा, लिपि तथा शिक्षा प्रवद्र्धन समितिको संयोजन अमृत योञ्जन तामाङ, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति डा मुक्तसिंह थोकर र अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समितिको संयोजन मोहन तामाङले गरेका थिए।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले गरेका थिए। 
उद्धघाटन सत्रलाई तामाङ घेदुङका कार्यवाहक अध्यक्ष सन्चु ब्लोनले स्वागत गरेकी थिइन्। भेलामा परिषद्का स्थायी सदस्य राष्ट्रहरू नेपाल, अमेरिका, भारत, भुटान, बर्मा लगायत ७ राष्ट्रका प्रतिनिधिहरू सहभागी भएका थिए। भेलामा विभिन्न देशमा क्रियाशील दुई दर्जन बढी राष्ट्रिय तथा सम्बन्धन सदस्य संस्थाहरूका प्रतिनिधिले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए। 


Comments