तामाङ परिषदको आयोजनामा दुई दिने विज्ञ भेला सुरु


कार्तिक २४, २०८१, शनिबार | विहान ११:४१ बजे | 65


तामाङ परिषदको आयोजनामा दुई दिने विज्ञ भेला सुरु

संगम लामा 

काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषदको आयोजनामा काठमाडौंमा दुई दिने विषयगत समितिहरुको विज्ञ भेला सुरु भएको छ ।

शनिबारदेखि सुरु भएको विज्ञ भेलाको व्यवस्थापन नेपाल तामाङ घेदुङले गरेको छ । भेलामा ९ देशका प्रतिनिधिहरुको भौतिक उपस्थिति रहेको र १५ देशका प्रतिनिधिले भर्चुअल माध्यमबाट सहभागिता जनाउने परिषदका महासचिव टासी लामाले जानकारी दिए ।

‘विश्वका तामाङहरु एक हौँ, तामाङ सभ्यताको प्रवद्र्धन र विकास गरौँ’ भन्ने मुल नारासहित सुरु भएको विज्ञ भेलामा विभिन्न समितिहरुको विज्ञहरुबीच विचार मन्थन हुनेछ ।

परिषद्को संस्कृति पुनः उत्थान समिति, तामाङ कला, सँस्कृति, साहित्य तथा इतिहास लेखन समिति, तामाङ मानवअधिकार प्रवद्र्धन समिति, भाषा, लिपि तथा शिक्षा प्रवद्र्धन समिति, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति र अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समिति रहेका छन् ।

परिषद्को विज्ञ भेला बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उदघाटन गरे । उदघाटन सत्रमा बोल्दै मुख्यमन्त्री लामाले विश्वभरका तामाङहरु भावनासहित एकता गर्नका लागि भेलाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । साथै तामाङ भाषाको लिपीको सन्दर्भमा जारी विवाद समाधान गर्नुपर्ने उनको जोड थियो ।

Comments