साङ्गहाई नगरपालिकाका परामर्शदाता समितिका महानिर्देशक भक्तपुर भ्रमणमा


कार्तिक १९, २०८१, सोमबार | दिउँसो १२:२८ बजे | 50


साङ्गहाई नगरपालिकाका परामर्शदाता समितिका महानिर्देशक भक्तपुर भ्रमणमा

भक्तपुर नगरपालिकाकाको निमन्त्रणामा चीनको सा·हाई नगरपालिकाको परामर्शदाता समितिका महानिर्देशक मो फुछुनको नेतृत्वमा नेपाल आएको चिनियाँ प्रतिनिधि मण्डललाई प्रमुख सुनिल प्रजापतिले भनपा सभाकक्षमा फूलको गुच्छा, खादा र भादगाउँले टोपी लगाई स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा पुनःनिर्माणलगायतका गतिविधिहरुमा स्थानीय जनताको साथ र सहभागिता रहेको र नयाँ पुस्तलाई सीप हस्तान्तरण गरिरहेको बताउनुभयो ।
नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध इतिहास जतिकै पुरानो रहेको उल्लेख गर्दै उहाँले नेपाली जनताले चिनियाँ कम्युनिष्ट पार्टी र अध्यक्ष माओ त्से तुङबाट धेरै कुराहरु सिक्दैछन् भन्नुभयो ।
चिनियाँ साहित्यकार लु शुनको भनाइ “शोषितहरु शोषकका कि त दास बन्छन् कि त शत्रु हुन्छन् तर मित्र कहिल्यै बन्न सक्दैनन” स्मरण गर्दै प्रमुख प्रजापतिले काम गरी खाने जनताको पक्षमा संघर्ष गर्ने र जनताको इमान्दारीपूर्वक सेवा गर्ने नेपाल मजदुर किसान पार्टीको स्पष्ट दृष्टिकोण अनुसार नै भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले कार्य गरिरहेको प्रष्ट पार्नुभयो ।
भेटमा सा·हाई नगरपालिकाको परामर्शदाता समितिका महानिर्देशक मो फुछुनले आफूहरु भक्तपुरको औपचारिक भ्रमण गर्ने सा·हाईको पहिलो टोली भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाको आतिथ्य सत्कार गर्ने शैलीबाट प्रभावित भएको बताउनुभयो ।
उहाँले सा·हाई शहर चीनको प्रमख व्यापारिक केन्द्र भए पनि चिनियाँ राष्ट्रपति सि जिनपिङले साङ्गहाई लाई जनताको शहर बनाउनुपर्ने र जनताको निम्ति जनताकै सहभागितामा निर्माण गरिनुपर्ने निर्देशन दिनभएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका र सा·हाई शहरबीच आर्थिक, शैक्षिक र पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औल्याउनुभयो । “भक्तपुरको हस्तकला उत्पादन सा·हाई पुगोस् भन्ने चाहन्छौं” उहाँले भन्नुभयो ।
उहाँले चिनियाँ साहित्यकार लु शुन साङ्गहाई नगरपालिका नजिकको चचिया· प्रान्तमा जन्मिनुभएको उल्लेख गर्दै उहाँले चिनियाँ जनतालाई विदेशीको परनिर्भरतामा नभई जनताको एकताले नै देश निर्माण गर्नुपर्नेमा जोड दिनुभएको स्मरण गर्नुभयो ।
चिनियाँ प्रतिनिधि मण्डलका अर्का सदस्य कु होङ्गहुईले यस वर्ष साङ्गहाईमा सातौं विश्व आयात मेला हुन लागेको उल्लेख गर्दै गत वर्षको मेलामा ७ खर्ब ८४ अर्ब चिनियाँ रकम बराबरको ब्यापार भएको तथा यस वर्ष पनि विभिन्न देशका उत्पादनहरुको प्रदर्शनी हुने चर्चा गर्नुभयो ।
स्वागत कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा ७ का वडाध्यक्ष उकेश कवां, कार्यपालिका सदस्य रोशन मैंया सुवाललगायतको उपस्थिति रहेको थियो ।
स्वागत कार्यक्रम अघि महानिर्देशक फुछुन सहित छ जनाको टोलीले भक्तपुरको दरबार, टौमढी र तालाक्व क्षेत्रको अवलोकन गरेको थियो ।
s:

Comments