सरकार जनताको भएन, पार्टीको मात्रै भयो ःं अर्याल
कार्तिक १३, २०८१, मङ्गलबार | विहान ०५:१३ बजे | 95
भक्तपुर, कार्तिक १३
राष्टिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्यालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार सरकारमा गएका पार्टीको मात्रै भएको, जनताको हुन नसकेको दावी गरेका छन् । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले समसामियक विषयमा रास्वपा र नेकपा माओवादी नेतृत्वहरुसँंग मंगलबार गरेको अन्तरक्रियामा उपाध्यक्ष अर्यालले भने, अहिलेको सरकार पार्टीको सरकार मात्रै भयो । जनताको सरकार हुन सकेन ।
अहिलेको सरकार आफना पार्टीका मानिसहरुलाई जोगाउने अनि विपक्षी पार्टीका मान्छेहरुलाई फसाउन मात्रै केन्द्रित भएको आरोप उनको थियो । यही कारण आफना पार्टी सभापति रवि लामिछानेमाथि सुनियोजित ढंगले सरकार अगाडि वढेको आरोप उनको थियो ।
उनले सहकारीमा फसेको सर्वसाधारण जनताको वचत फिर्ता गर्ने कामको ठेक्का (जिम्मेबारी ) पाए ९० दिनमै सकाइदिने दावी पनि गरे । उनले भने, पहिलेदेखि भन्दै आएको र अहिले पनि भन्छौं, यो कामको ठेक्का हामीले पाए ९० दिनमै वचत फिर्ता दिइसक्छौं, ९१ दिन पनि लाग्दैन ।
आफू पार्टीमा आवद्ध हुनु अघि राजनीतिमा सक्रिय नरहेको बरु व्यवसायमा आफनो ढंगले देशको लागि काम गर्दै आएको भन्दै उनले सहकारीमा जनताको बचत फिर्ता गराउन सक्ने प्रस्तावसहितको प्रतिवेदन ६ महिना अघि नै पार्टीले सरकारलाई बुझाइसकेको स्मरण गरे । उनले सहकारीको नाममा सरकारले विपक्षी दलहरुलाई सकाउने दुस्साहस मात्रै गरेको आरोपसमेत लगाए ।
कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आफना पार्टी सभापतिमाथि न्यायालयले न्याय दिन नसके जनताको अदालतबाट निर्णय गर्ने चेतावनी दिए । तथापि उनले त्यो परिस्थितिसम्म पुग्न नपर्ने विश्वास लिए ।
कार्यक्रममा नेकपा एकीकृत माओवादीका केन्द्रिय सदस्य डिपी ढकालले सरकारको सय दिनको कुनै उपलव्धी हासिल गर्न नसकेको बताए । सरकारको सय दिनको यो अवधिमा आयात घटेको छ तर निर्यात गर्नुपर्ने देशमै उत्पादन भएर नभई जनताको क्रय शक्ति घटेर देखिएको छ ।
देशमै उत्पादन भएर आयात घटेको भए राम्रो संकेत भएको तर क्रय शक्ति घटेर आयात कम हुनु उपलव्धी नभएको उनले बताए । उनले यो अवधिमा निर्यात पनि घटेकोले सरकारले राम्रो काम गर्न नसकेको पुष्टी भएको दावी गरे । कार्यक्रममा विषयवस्तुको उठान आयोजक सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...