मध्यपुर पतञ्जलीद्धारा योग संयोजकहरु सम्मानित
कार्तिक ११, २०८१, आइतबार | विहान ११:४२ बजे | 65
मध्यपुर थिमि । पतञ्जली योग समिति मध्यपुर थिमिद्धारा मध्यपुर थिमि नगरक्षेत्रभित्र सञ्चालित योगकेन्द्रका वर्तमान संयोजक एवं संस्थापक संयोजकहरुलाई सम्मान गरिएको छ ।
पतञ्जली योगसमिति मध्यपुर थिमिका अध्यक्ष तुल्सीकृष्ण श्रेष्ठको सभपातित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै पतञ्जली योग समिति बागमती प्रदेशका प्रभारी योगगुरु ग्रोवेन तौजलेले योगकर्मीहरुले प्राकृतिक प्रकोप र दैवी प्रकोपमा उद्धार र राहतमा खाद्यान्न, लत्ता कपडा एवं दैनिक प्रयोगका सामाग्री प्रदान गरेर मानवीयता प्रदर्शन गरेको बताउनु भयो ।
कार्यक्रममा पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष नित्यनाथ श्रेष्ठ, पूर्व अध्यक्ष केदार खड्का, भक्तपुर युवा प्रभारी विकास बज्राचार्य, योगगुरुहरु राजभक्त जयना, हरिसुन्दर लाखे श्रेष्ठ, महिला पतञ्जली भक्तपुरकी अध्यक्ष सुनिता श्रेष्ठ, पतञ्जली योगसमिति मध्यपुर थिमिका राजन गिरी, सकुन श्रेष्ठ लगायतका वक्ताहरुले योगको महत्व सहित शुभ दिपावली, नेपाल सम्वत् ११४५ नयाँवर्ष, छठ लगायतका चाडहरुको शुभकामना दिनुभयो । शंखधर बैंक्वेटमा भएको उक्त सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रमको संयोजन बालकुमारी योग केन्द्रले गरेको थियो । उक्त सम्मान कार्यक्रममा पतञ्जली योगसमिति मध्यपुर थिमिका निवर्तमान अध्यक्ष सुनकुमार मोयलाई विशेष सम्मान गरिएको थियो । पतञ्जली योग समिति अन्तर्गत मध्यपुर थिमिमा १७ वटा योगकेन्द्र रहेका छन् । मध्यपुर थिमिको पहिलो योग केन्द्र मध्यपुर थिमि योगकेन्द्र वि.सं.२०६६ भदौमा स्थापना भएको थियो । पतञ्जली योगसमिति मध्यपुर नगरका अध्यक्ष तुल्सीकृष्ण श्रेष्ठले नियमित योगसाधना मार्फत शारीरिक, मानसिक, स्वास्थ्यका साथै व्यक्तित्व र नेतृत्व विकास एवं सामाजिकीकरणमा फाइदा हुने बताउँदै मध्यपुर थिमिमा योगमार्फत विभिन्न सामाजिक कार्यहरु पनि गर्दै जाने बताउनु भयो ।