‘हामी नसुतौं उठौं’ जागरण गान सार्वजनिक
कार्तिक ११, २०८१, आइतबार | विहान १२:५६ बजे | 75
हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध ‘हामी नसुतौं उठौं’ नामको जागरण गान सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको आयोजनामा शनिबार आयोजित कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटाले उक्त गानलाई सार्वजनिक गर्नुभएको हो ।
त्यस गानका गायक–गायिका इ. रोशन मञ्जुश्री अधिकारी र अम्बिका थापा खड्कालाई अग्रज गायिका चन्द्रकला शाहले रुद्राक्षको माला लगाइदिएर आशीर्वाद र सफलताको शुभकामना दिनुभएको थियो ।
हरि मञ्जुश्री ६ दशक उमेर पार गरिसकेपछि गीत–सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको बताउँदै आफ्नै शब्द, सङ्गीत र स्वरमा १ वर्षभित्र उहाँका ८–९ वटा गानहरू सार्वजनिक भएको जानकारी मच्छेश्वर सापकोटाले दिनुभयो । हरि मञ्जुश्रीका गानहरूले छोटो समयमै नेपाली गीत–सङ्गीत क्षेत्रमा छुट्टै तरङ्ग ल्याएको कुरा पनि उहाँले बताउनुभयो ।
चेतनामूलक र ज्ञानवर्धक जागरण गानका माध्यमबाट नयाँँ पुस्तालाई आफ्नो राष्ट्रियता, मौलिकता, स्वाभिमान र अस्तित्वको चिनारी गराइदिन र समाजलाई सकारात्मक दिशातिर लैजान यो गान तयार पारिएको र यसमा रहेका शब्दहरूमा वर्तमान नेपाली पुस्ताको मनोभाव प्रकट गरिएको र यसको सङ्गीत समेत युवा पुस्ताले गाउन सजिलो हुने गरी सिर्जना गरिएको कुरा हरि मञ्जुश्रीले जानकारी दिनुभएको छ । जागरण गान अक्षरधामको यु–ट्युब च्यानलबाट सुन्न सकिन्छ ।