भक्तपुर क्याम्पस र भनपावीचको विवाद ः नगरपालिकाले निकाल्यो विज्ञप्ति


कार्तिक ९, २०८१, शुक्रबार | विहान ११:२० बजे | 25


भक्तपुर क्याम्पस र भनपावीचको विवाद ः नगरपालिकाले निकाल्यो विज्ञप्ति

विज्ञप्ति 
मिति २०८१।०७।०७ गते अनेरास्ववियु भक्तपुर वहुमुखी क्याम्पस समितिबाट जारी विज्ञप्ति र मिति २०८÷०७÷०८ गते भक्तपुर वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. कविता लुइँटेल भट्टराईबाट जारी प्रेस विज्ञप्तिप्रति यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा निम्न बमोजिम स्पष्ट पार्न चाहन्छु ।
भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाज्यापुखु एक ऐतिहासिक र साँस्कृतिक महत्वको पोखरी हो । इतिहासविद्हरुका अनुसार यो पोखरी आजभन्दा ८०० वर्षभन्दा अगाडि नै निर्माण भएको हो । केही समय अगाडिसम्म घाँसे मैदानको रुपमा रहेको यो पोखरीलाई भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा पोखरीको मध्य भागमा जलेश्वर महादेव मन्दिर समेत निर्माण गरी वि.सं. २०८० सालमा पुनःनिर्माण सम्पन्न गरी मिति २०८०।११।२५ गते उद्घाटन गरियो । पोखरीको पुन निर्माणसँगै पोखरीका चारै दिशाका डिलहरु पनि खोल्न पहल गरियो। यस कार्यले लामो समयसम्म स्थानीयले प्रयोग गर्दै आएको उत्तर तर्फको पोखरीको डिल पनि खोलियो भने पूर्व र पश्चिमको डिल पहिलेदेखि नै खुल्ला अवस्थामा रहेको थियो । सोही क्रममा पोखरीको दक्षिण पट्टीको डिल खोल्नलाई भक्तपुर बहुमुखी क्याम्पसका जिम्मेवार पदाधिकारहरुसँग पटक पटक छलफल समेत गरियो। तर विद्यार्थी युनियन र त्रिभुवन विश्वविद्यालयको हवाला दिदै दक्षिण पट्टीको डिल खोल्नलाई भक्तपुरे वहुमुखी क्याम्पसले आनाकानी गरी नै रह्यो । यसै क्रममा भक्तपुर वहुमुखी क्याम्पसले क्याम्पसको उत्तर पश्चिम तिरको पर्खाल निर्माणको लागि कार्य प्रारम्भ गर्यो । सो कार्यको १ नं वडाका वडा निरीक्षकबाट निरीक्षण गरी नियमानुसार पोखरीको डिल छाडी मापदण्ड अनुसार मात्र निर्माण कार्य अगाडि बढाउन मौखिक अनुरोध गरेकोमा क्याम्पसबाट बेवास्ता गरी निर्माण कार्य अगाडि बढाइएकोले भक्तपुर नगरपालिकाले मिति २०८०÷१२।०६ गते अनियमित निर्माण कार्य रोक्का गर्न र अनियमित निर्माणहरु तत्काल भत्काउन, नभत्काइएमा नगरपालिकाले, आफै भत्काई सो को लागि लाग्ने खर्च सम्बन्धित भक्तपुर वहुमुखी क्याम्पसबाट नै असुल उपर गर्ने व्यहोराको पत्राचार गर्यो । सोही विषयमा भक्तपुर क्याम्पसले झारपात उमारी कब्जा गरी राखेको भाज्या पुखुको दक्षिण पट्टीको डिल

खोल्ने विषयमा र अनियमित निर्माण रोकी नियमानुसार पर्खाल निर्माण गर्ने विषयमा पटक पटक छलफल हुँदा समेत कुनै ठोस सहमती हुन सकेन ।
भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षणमा उदाहरणीय कार्य गर्दै अगाडि बढेको एक स्थानीय सरकार हो। देशभरीका सम्पदाहरु संरक्षणको अभावमा जीर्ण र लोपोन्मुख रहेको समयमा नै भक्तपुर नगरपालिकाले भक्तपुरका सम्पदाहरु जीर्णोद्धार, पुनः निर्माण र मर्मत संभार गर्दै संरक्षण कार्यलाई अगाडि बढाउँदै आएको छ । भक्तपुर नगरपालिका वडा नं. १ को सिद्धपोखरी, भाज्यापुखु, न्हुपुखुलगायत नगरका मठ, मन्दिर, देवालय, शिवालय, वहा वही, द्योछें, सत्तल, पाटी, ढुंगेधारा, इनार, चोक, डबलीलगायत सबै सार्वजनिक सम्पदाहरु कुनै विदेशी राष्ट्र र विदेशी दाताहरुको सहयोग विना आफ्नै श्रोतमा संरक्षण गर्दै आएको सबैमा विदितै छ । भाज्या पोखरी संरक्षण र जलेश्वर मन्दिर पुन निर्माण पनि यसैको क्रम हो। तर नापी नक्सा र लालपूर्जामा नै पोखरीको डिल जनिएको भाज्या पुखुको दक्षिण पट्टीको डिललाई कब्जा गरी सार्वजनिक प्रयोजन गर्न रोक्ने भक्तपुर बहुमुखी क्याम्पस प्रमुखको कार्य सम्पदा विरोधी मात्र नभइ जनविरोधी र गैर कानूनी समेत हो ।
भक्तपुर नगरपालिकाको पत्रलाई वेवास्ता गरी बसेको कारण वाध्य भएर भत्काउनु परेको यथार्थ जानकारी गराउँदै भत्काउन प्रयोग भएका डोजर र जनशक्तिको समेत नियमानुसार क्षतिपूर्तिको प्रकृया अगाडि बढाइने नै छ ।
क्याम्पस प्रमुख जस्तो पदमा बस्ने व्यक्तिले नगरपालिकामाथि गलत र झूठो लाञ्छना लगाउनु उनको अयोग्यताको परिचय हो। जिम्मेवार पदमा बस्नेहरुले जिम्मेवारीपूर्वक बोल्न र व्यवहार गर्न सिक्न पनि सचेत गराईन्छ ।
भाज्या पुखु र भक्तपुर क्याम्पस दुवै जनताको सम्पत्ति हुन् । नगरपालिकाको मापदण्ड मिचेर जबरजस्ती सम्पदा म्हास्ने कार्यलाई नगरपालिकाले टुलुटुलु हेरेर बस्ने छैन । क्याम्पसको सुरक्षा र सम्पदाको संरक्षण समेतलाई ध्यान दिएर नगरपालिकाले पर्खालको नक्सा र ल.ई. समेत स्वीकृत गरिसकेको कुरा समेत सर्वसाधारणलाई जानकारी दिन चाहन्छ ।
रामगोविन्द श्रेष्ठ
निमित्त प्रमुख प्रशासकीय अधिकृत

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर क्याम्पस र भनपावीचको विवाद ः नगरपालिकाले निकाल्यो विज्ञप्ति

Comments