भक्तपुर क्याम्पसमा नगरपालिकाले दादागिरी देखाएकै हो ?


कार्तिक ७, २०८१, बुधबार | दिउँसो ०२:०७ बजे | 35


भक्तपुर क्याम्पसमा नगरपालिकाले दादागिरी देखाएकै हो ?

भक्तपुर । भक्तपुर नगरपालिकाले बुधबार भक्तपुर बहुमुखी क्याम्पसको प्रवेशद्धारलगायतका भौतिक संरचना भत्काइदिएपछि भक्तपुर क्याम्पसमा नगरपालिकाले दादागिरी भनेर भाइरल बनेको छ । गेट भत्काउने क्रममा क्याम्पस परिसरमा झडपसमेत भएको थियो । नगरपालिकाले क्याम्पससँंग जोडिएको भाजु पोखरीको सार्वजनिक जग्गा क्याम्पसले कव्जा गरिराखेको भन्दै प्रवेशद्धारसहितको बार डोजर लगाएर भत्काइदिएको थियो । 
भाजु पोखरीको डिल क्याम्पसले कब्जा गरिराखेको भन्दै डोजरसहित नगरपालिकाका कर्मचारी, नगर प्रहरी त्यहाँं पुगेको थियो । डोजरले भत्काउन थालेपछि झडप भएको हो । नगरपालिकाका कर्मचारी, नगर प्रहरी र क्याम्पस प्रशाशनका कर्मचारीहरु विशेष गरी स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर बहुमुखी क्याम्पसका पदाधिकारीहरुवीच झडप भएको थियो । 
दुई पक्षवीच ठेलमठेल भएपछि प्रहरी पुगेको थियो । प्रहरीले त्यसपछि शान्ति सुरक्षा कायम गरेको थियो । प्रहरीको रोहवरमा क्याम्पस प्रवेशद्धारको पुरानो नेम प्लेटलगायतका संरचना भत्काइदिएको थियो । 
क्याप्सस प्रमुख डा कविता लुइँटेलले नगरपालिकाले दादागिरी देखाएर कलेजको भौतिक संरचना भत्काइदिएको दावी गरिन् । हामीले भोलिपर्सि नै एउटा सहमतिमा पुगेर काम गरौला भनेका थियौं, उनले नागरिकसँंग भनिन्, एक्कासी डोजर र कर्मचारी अनि नगर प्रहरी आएर भत्काइदिए । 
क्याम्पसको दक्षिणतिरको बार भत्काएपछि क्याम्पस नै असुरक्षित भएको उनले बताइन् । त्यसकारण शान्ति सुरक्षा कामय गरिदिन जिल्ला प्रशाशन कार्यालय भक्तपुरसँंग माग गरी पठाएको जानकारी उनले दिइन् ।
भक्तपुर नगरपालिकाका वडा निरीक्षक रामकृष्ण प्रजापतिले भाजु पोखरीको डिल खोलेर क्याम्पस सुरक्षित हुने गरी पर्खाल बनाउने योजना अनुसार काम भएको जानकारी गराए । उनले भने, क्याम्पस प्रमुखमाथि दुव्र्यवहार भयो भनेर पनि कुरा बाहिर आयो । बास्तवमा दुव्र्यवहार भएको छैन । डोजर चलाइरहेको स्थानमा वस्न आएकाले महिला नगर प्रहरीहरुले उठाएर छेउमा राखिएको मात्रै हो ।  
भक्तपुर नगरपालिकाले पर्तीजग्गा संरक्षण, सम्पदाहरूको जीर्णाेद्धार, पुनः निर्माण र संरक्षण गर्ने क्रममा एकपछि अर्काे पोखरीको जीर्णाेद्वार र पुनःनिर्माण गरिरहेको छ । यस अनुसार २०५८ सालदेखि नै भाजु पुखुको सरसफाइ गरियो र जीर्णाेद्धार गर्ने प्रयास गरिरहेको थियो । तर सम्पन्न भएको थिएन । तर झण्डै एक वर्ष अघि पोखरी सरसफाई गरेको थियो । त्यसपछि पोखरीको तीनतिरको डिल पनि खोलिएको थियो । क्याम्पससँंग जोडिएको दक्षिणतिरको डिल भने खोलिएको थिएन । अहिले यही नै खोलिएको हो । 
स्थानीय एवं पोखरी पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण राजलवटले पोखरी र क्याम्पस दुवै जनताको सम्पति भएको र जनताको सम्पति जोगाएको बताए । क्याम्पसतिरको बाँंकी भएको पोखरीको डिल खुलेपछि उल्टो क्याम्पसलाई नै फाइदा हुने उनले दावी गरे । 
क्याम्पस प्रशाशन र नगरपालिकावीच क्याम्पसले चर्चेको पोखरीको जग्गा खोल्ने विषयमा पटकपटक छलफल भएको तर निष्कर्षमा पुग्न नसकेको जनाए । यस विषयमा नगरपालिकासँंग दुई पटक पत्राचार भएको तर त्रिवि केन्द्रिय कार्यालयसँंग निष्कर्ष नआउँंदा काममा ढिलाइ भएको बताइयो । 
भाजु पुखु १२ औँ शताब्दी अर्थात् ८०० वर्ष पुरानो रहेको इतिहास छ । यो पोखरी काठमाडौँको रानीपोखरीभन्दा झन्डै ५०० वर्ष पुराना रहेको बताइएको छ । यही ऐतिहासिक पोखरीलाई नगरपालिकाको करोडौको बजेटबाट गतवर्ष पुननिर्माण गरी पुनजीवन दिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर क्याम्पसमा नगरपालिकाले दादागिरी देखाएकै हो ?

Comments