नगर प्रमुख सुनिल प्रजापति र सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानबीच भेट
मंसिर १९, २०७७, शुक्रबार | दिउँसो ०१:१५ बजे | 45
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपाभित्रका महत्वपूर्ण सम्पदाहरुको अवलोकन भ्रमणमा आउनुभएका सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानको नेतृत्वको प्रतिनिधिमण्डल टोलीले शुक्रबार भेट ग¥यो । सोही अवसरमा नगरपालिकाका जनप्रतिनिधि र सो टोलीबीच नगरको शिक्षा, स्वास्थ्य, विकास निर्माण, सम्पदा संरक्षणलगायतका विषयमा अन्तरक्रियात्मक कार्यक्रम पनि भयो ।
भक्तपुर नपाले विदेशी सहयोगविना नै सम्पदा पुनःनिर्माणलाई तीव्रता दिइरहेको बताउनुहुँदै उहाँले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माण र भक्तपुरको विकास निर्माणका काममा नगरबासीहरुको निरन्तर साथ र सहयोग पाइरहेको उहाँले बताउनुभयो । भक्तपुरको सांस्कृतिक सम्पदा, मौलिक सीप, स्थानीय खेलहरु आदि संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहित नपा अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नेपालकै पहिचान संरक्षण गर्ने ढंगले काम गरिरहेको र सम्पदा संरक्षण गर्ने अभियानमा भक्तपुर नपा अग्रस्थानमा रहेको चर्चा गर्नुहुँदै अध्यक्ष प्रधानले काठमाडौंको ठमेलस्थित पुरातात्विक कमलपोखरी संरक्षण र पुनःस्थापना अभियानमा भक्तपुरका जनताको निरन्तर साथ र सहयोग पाइरहनेमा विश्वास व्यक्त गर्नुभयो ।
स्वागत मन्तव्य राख्नुहुँदै भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै ख्वप अस्पतालको निर्माण भइरहेको बताउनुहुँदै काठमाडौंको थःबहीमा अवस्थित पले स्वाँ पुखु संरक्षणको निम्ति सम्पदा संरक्षण परिषद्ले गरिरहेको संघर्षप्रति ऐक्यबद्धता जनाउनुभयो ।
सो टोलीलाई पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको सिद्धपोखरी, भाजु पोखरी, नःपुखु, भक्तपुर दरबार क्षेत्र, तलेज परिसर, वत्सला मन्दिर, टौमढी, दत्तात्रय स्क्वायर, जनस्वास्थ्य सेवा केन्द्रलगायतका सम्पदाहरुको स्थलगत अवलोकन गराउनुभएको थियो ।