काठमाडौँका सम्पदा र पोखराको प्रकृतिलाई पर्यटनसँग जोडौँ, मुलुकलाई समृद्घ बनाउन सकिन्छः मेयर शाक्य
मंसिर १६, २०७७, मङ्गलबार | दिउँसो ०१:४८ बजे | 35
पोखरा । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको माध्ययमबाट अर्थतन्त्रलाई समृद्घ बनाउन सकिने बताउनु भएको छ । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी भई अध्ययन भ्रमणकै क्रममा पोखरा आइपुग्नु भएका प्रमुख शाक्यसहितको टोलीलाई स्वागतका लागि पोखरा महानगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि काठमाडौँ महानगरपालिकाले गरेका प्रयास, सहरी सुव्यवस्थाका लागि चालेका कदम र सम्पदा निर्माण–पुर्ननिर्माण, भौतिक पूर्वाधारलगायतका सन्र्दभका गरेका कामका बारेमा अवगत गराउनु भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले काठमाडौँ महानगरपालिका संघीय राजधानीको महानगरपालिका भएकाले धेरै कुरा त्यहिबाट सिक्नु पर्ने भएकाले काठमाडौँ महानगरको अभिभावकीय भूमिका हुनुपर्नेमा जोड दिनुभयो । अहिले स्थानीय तहको भूमिकालाई कमजोर बनाउने प्रयास भएको भन्दै संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘स्थानीय तहको भूमिकालाई बलियो बनाउन काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्छ,’ जिसीले भन्नुभयो, ‘दुरीको हिसावले काठमाडौँ र पोखरा टाढा छैनन । त्यसैले सांस्कृतिक सहर काठमाडौँ र प्रकृतिले सुन्दर पोखराले एक अर्काबाट धेरै कुरा आदन–प्रदान गर्न सक्छौँ ।
काठमाडौँ महानगरपालिकाकी उप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि सहयोग आदन–प्रदानमा जोड दिनुभयो । मेयर–मेयर र उपमेयर बिच कार्यक्रममा मायाको चिनो आदन–प्रदान गरिएको थियो । प्रमुख शाक्यले आँखीझ्याल उपहार दिनुभएको थियो भने प्रमुख जिसीले फेवातालमा माछापुच्छ«ेको छाँया टल्किरहेको फ्रेमसहितको नक्शा उपहार दिनुभएको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र पोखराका प्रमुख प्रशासकीय अधिकृत महेश बराल बिच पनि मायाको चिनो आदन–प्रदान भएको थियो । प्रमुख शाक्यको टोलीले आइतबार तानसेन नगरको पनि अवलोकन भ्रमण गरेको थियो ।