प्रमुख प्रजापति र दक्षिणकाली नपाका उपप्रमुख बसन्ती तामाङबीच भेट
मंसिर १२, २०७७, शुक्रबार | दिउँसो ०२:३१ बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ(डंगोल) को नेतृत्वमा आएको टोलीबीच शुक्रबार भेट भयो ।
नगर प्रमुख प्रजापति र भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको स्थलगत अवलोकनको लागि भक्तपुर पुग्नुभएका दक्षिणकाली नपाका उपप्रमुख तामाङ नेतृत्वको टोलीबीच शुक्रबार भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र विकास निर्माणलगायतका विभिन्न विषयमा छलफल भयो ।
सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका नयाँ संग्रहालय निर्माणको क्रममा रहेको र भक्तपुर नपालाई देशकै नमुना नगरपालिका बनाउने उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाभित्र अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाहरू परम्परागत शैलीमै जीर्णोद्धार र पुनःनिर्माणमा जोड दिंदै आइरहेको बताउनुहुँदै उहाँले सम्पदा संरक्षण कार्यमा भक्तपुरका जनताको साथ र सहयोग निरन्तर पाइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको विशेषता र योगदानबारे चर्चा गर्नुहुँदै नगर प्रमुख प्रजापतिले देशका अरु स्थानीय तहहरूले पनि शैक्षिक संस्था सञ्चालन गरी बहुसंख्यक जनतालाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रणमा गरेका गतिविधि र प्रयासहरूबारे अवगत गराउनुहुँदै उहाँले नगरपालिकाले ७५ शैय्याको आइसोलेसन केन्द्र व्यवस्थित रुपमा सञ्चालन गरिरहेको र अनलाइनमार्फत शारीरिक अभ्यासको तालिम पनि सुरुवात गरिसकेको बताउनुभयो ।
छलफलबाट उठेका जिज्ञासामाथि प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाले दक्ष जनशक्ति उत्पादनको निम्ति डकर्मी र सिकर्मीको तालिम सञ्चालन गरिरहेको, मौलिक शैलीको घर निर्माण गर्न स्थानीय जनतालाई उत्साहित गर्दै अनुदानको व्यवस्था गर्दै आइरहेको, जनज्योति पुस्तकालयको स्तरोन्नति, कोभिड महामारीका कारण जनप्रतिनिधिहरूको अगुवाईमा भक्तपुरका प्रसिद्ध जात्राहरू स्थानीय जनतास“गको सल्लाहमा शान्तिपूर्वक रुपमा स्थगित गरेको बताउनुभयो ।
भेटमा दक्षिणकाली नपाका उपप्रमुख शान्ति तामाङले भक्तपुरको कला संग्रहालय व्यवस्थापन, संस्कृति, सम्पदा संरक्षण, विकास निर्माणलगायतका कार्यहरूबाट आफूहरूले पनि सिक्न चाहेको बताउनुभयो । करिब एक वर्ष अगाडि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको निरीक्षणको क्रममा भक्तपुरको अध्ययन अवलोकन गरेको स्मरण गर्नुहुँदै सो क्रममा भक्तपुरबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।
दक्षिणकाली नपा ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरू जगेर्ना गर्ने हेतुले अगाडि बढिरहेको बताउनुहुँदै उहाँले छिमेकी नगरपालिकाहरूसँग भगिनी सम्बन्ध कायम गर्न आफूहरू इच्छुक भएको बताउनुभयो ।
दक्षिणकाली नपाले कोभिड नियन्त्रण र रोकथामका क्रममा धेरै चुनौतीहरू सामना गर्नुपरेको बताउनुहुँदै नगरपालिकाले जनताको मागअनुरुप कोभिड बीमा गरेको र नपाको आफ्नै स्रोतबाट पीसीआर परीक्षण गर्ने योजना रहेको उहाँले बताउनुभयो । कोभिड नियन्त्रणकै सिलसिलामा दक्षिणकाली नपाले २० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले उहाँहरुलाई नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तिक’ र केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।