भक्तपुरबाट प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको बिदाइ
मंसिर १०, २०७७, बुधबार | दिउँसो ०२:१७ बजे | 25
भक्तपुर । भक्तपुरबाट गृहमन्त्रालयमा सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई आज एक समारोहबीच बिदाई गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको बिदाइ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले उहाँलाई दोसल्ला ओढाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनोको रुपमा प्रदान गरी बिदाइ गर्नुभयो ।
बिदाई कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका सार्वजनिक हितको निम्ति विभिन्न चुनौतीहरू सामना गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
कोभिड महामारीबीच भक्तपुर नगरपालिकाले पारदर्शी ढंगले जनताको हितलाई प्राथमिकतामा राखी कार्य अगाडि बढाइरहेको बताउनुहुँदै उहाँले जनप्रतिनिधि, प्रशासन र स्थानीय जनताको संयुक्त प्रयासका कारण भक्तपुरमा कोरोना नियन्त्रणलगायतमा प्रभावकारी कामहरु भएको बताउनुभयो । भक्तपुर नगरपालिकाको कार्यसम्पादन देशभरिका स्थानीय तहहरुले हेरिरहेको हुँदा जनप्रतिनिधि र कर्मचारीहरुले अझ बढी सेवाको भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रजिअ हुमकला पाण्डेले भक्तपुरमा करिब १ वर्षको कार्यसम्पादनबाट आफू निकै सन्तुष्ट रहेको बताउनुहुँदै भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भक्तपुर नगरपालिकाको कार्य प्रशंसनीय भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयप्रति गरेको सद्भाव र समन्वयप्रति आभार प्रकट गर्दै प्रजिअ पाण्डेले भक्तपुर नपा ऐन, नियम र कानुन पालनामा अब्बल रहेको बताउनुभयो ।
भक्तपुरमा कोभिड १९ रोकथाम र नियन्त्रणका प्रयासहरु जनमैत्री भएको बताउनुहुँदै उहाँले भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा तथा पर्वहरु जनताकै सहभागितामा व्यवस्थित तरिकाले सम्पन्न हुनु सकारात्मक भएको बताउनुभयो ।
बिदाइ कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो भने भक्तपुर नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्य र भक्तपुर नपाका शाखा प्रमुखहरुको उपस्थिति रह्यो ।