रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रीको ध्यानाकर्षण
मंसिर ८, २०७७, सोमबार | दिउँसो ०१:०२ बजे | 45
किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र वडा नं. २ का वडाध्यक्ष टोलीले आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालसँग भेट गरी रासायनिक मल सहज रुपमा उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो ।
सो अवसरमा मन्त्री भुषालले यस वर्ष काठमाडौँ उपत्यकालगायत तराई क्षेत्रमा मकै खेती विगतको तुलनामा बढी जगामा लगाउने भएको उल्लेख गर्नुहुँदै नेपालको नीतिगत व्यवस्था अनुसार धान बाली र गहुँ बालीलाई लक्षित गरी मल खरिद गरिने गरेको बताउनुभयो ।
उहाँले रासायनिक मलको प्रयोग कृषिमामात्र नभइ अन्य विभिन्न काममा समेत प्रयोग हुने गरेको पाइएको बताउनु हुँदै सहकारी र अन्य माध्यमबाट यसको भण्डारण, चोरी गरी विक्री गर्ने गरिएको हुँदा यसको नियमन र कालाबजारी नियन्त्रणको लागि सप्mटवेयरको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
सांसद सुवालले रासायनिक मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लि.मा समेत ध्यानाकर्षण गराएको जानकारी दिनुहँदै कृषि विकास मन्त्रालयले जिल्लागत मलको कोटा तोकेर मल पठाउनु उचित नभएको बताउनु हुँदै स्थानीय आवश्यकता अनुसार मलको व्यवस्था हुनु पर्ने औंल्याउनु भयो ।
यस वर्ष कोभिड–१९ का कारण भक्तपुर जिल्लामा रहेका ७५ वटा इट्टाभट्टाहरु सञ्चालन नहुने हुँदा विगतको तुलनामा थप ४० हजार रोपनीे जग्गामा गहुँ छर्ने र आलु रोप्न किसानहरुलाई आवश्यक मलको व्यवस्था गर्नु पर्ने उहाँले अवगत गराउन ुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले यस वर्ष आवश्यक भन्दा न्यूनमात्र मल आपूर्ति भएको उल्लेख गर्नुहुँदै मलको ठेक्का कबुल गरी आपूर्ति नगर्ने ठेकेदारहरुलाई उनीहरुको धरौती जफतमात्रै होइन उनीहरुको कारण भएको नोक्सानीको क्षतिपूर्ति भराउनुपर्ने बताउनु भयो ।
उहाँले स्वदेशमै मल कारखाना स्थापनाले मात्रै मलमा आत्म निर्भर हुने र मलको दीर्घकालीन समाधान हुने बताउनु हुँदै कृषिमा राम्रो विकास गर्न नसक्नुकै कारण रोजगारीको निम्ति युवाहरु विदेशिनु बाध्य भएको हो भन्नुभयो ।
मन्त्रालयले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन लक्ष्य बनाई मलको समस्या समाधान गर्नेतर्फ ध्यान दिइरहेको मन्त्री भुषालले जानकारी दिनुभयो ।