प्रगतिशील साहित्यको चर्चा


भदौ ८, २०८१, शनिबार | विहान ०२:३३ बजे | 20


प्रगतिशील साहित्यको चर्चा

अर्जुन कोन्दा
सहरको एक कुनामा साहित्य लेखनको बन्द प्रशिक्षण चलिरहेछ । प्रशिक्षणमा कैयौँ नयाँ पुराना साहित्यकारहरु भेला
भएका छन् । सबैले प्रगतिवादी साहित्यको ठूलो स्वरमा वकालत गरिरहेका छन् । एन्टोन चेखोभको सामाजिक
यथार्थवाद र साहित्य समाजको ऐना मात्र हुन सक्दैन भन्ने विषयमा वरिष्ठ साहित्यकारहरुबीच गन्थन चलिरहेको छ ।
साहित्यलाई राजनैतिक दर्पणको व्याख्या गर्नेहरुको पनि कमी छैन । कोही साहित्यलाई कला र सौन्दर्य पक्षबाट
अलग्याइनु हुन्न भनेर अलग किसिमको बहस गरिरहेका छन् । 
बन्द प्रशिक्षण सहरको नाम चल्ने संस्थाको मिटिङ
हलमा भइरहेको छ । प्लेटोदेखि म्याक्सिम गोर्कीसम्मका दर्शनलाई काँटछाँट गरेर प्रस्तोताहरुले आफ्नो प्रस्तुति
राखिरहेका छन् । तर प्रगतिशील साहित्य लेखनमै स्रष्टाहरुले जोड दिएका छन् ।
कार्यक्रमस्थल बाहिर थकुलक्ष्मी सडकमा हरियो सागसब्जी बेचिरहेका छन् । सडकको फुटपाथमा बन्दा, भन्टा,
रामतोरिया, मूला, फर्सी, हरियो खुर्सानी, सिमी, बोडी लगायतका तरकारीहरु प्लास्टिकमाथि राखिएका छन् । पल्लो
छेउमा एउटा डालो छ । डालोमा कपडाको टाले छ । उक्त टालोले थकुलक्ष्मी निधारमा पसिना पुच्छिन् । थकुलक्ष्मीलाई
डर छ नगर प्रहरी आई सामान उठाउला कि भन्ने । अर्को डर आकाशबाट झर्ने पानीलेतरकारी बिग्रिएला कि भन्ने ।
फुटपाथमा मान्छेहरु तरकारी किन्न व्यस्त छन्। कोहि तरकारीको भाउमा मोल मोलाइ गरिरहेका छन्।
थकुलक्ष्मीकोमुहारमा सन्नाटा छ। सायद तरकारी नबिकेकाले होला । कार्यक्रम सकिएपछि नयाँ पुराना साहित्यकारहरु
बाहिर निस्के । थकुलक्ष्मीले उनीहरुलाई हेरिरहिन्, केहि तरकारी बिकाउन पाइएला कि भनेर होला । नभन्दै
प्रगतिशील साहित्यका केहि हिमायतीहरु थकुलक्ष्मी भएतिर आए । थकुलक्ष्मी खुशी भइन्। साहित्यकारहरुले
तरकारीलाई छानी छानी हेर्न थाले । आफूलाई मनपर्ने तरकारी झोलामा राखेर मोलमोलाइ सुरु गरे ।
साहित्यकारहरुको अति मोलमोलाइयुक्त चर्तिकला देखेर थकुलक्ष्मी छक्क परिन्। न कुनै साहित्यकारले थकुलक्ष्मीलाई
बुझे, न थकुलक्ष्मीले साहित्यकारलाई बुझिन्।
अरु बेला थकुलक्ष्मी आफैँ तरकारी बेच्न आउँदिनथिन्। विचौलियाले तरकारी बारीबाटै उठाउँथे । आज विचौलिया
उनको बारीमा नआएर होला, उनी आफै तरकारी बेच्न आएकी छिन्। बारीमा पाएको मूल्य र फुटपाटको मूल्यबीच
ठूलो अन्तर छ । थकुलक्ष्मी तरकारी बेच्दा बेच्दै त्वाल्ल पर्छिन्। केहिबेरमा एक तामाङ भाइ उनको सामू आइपुग्छ ।
त्यो तामाङ भाइ त तरकारी बेच्ने विचौलिया रहेछ । भाइले भने –हजुर यहाँ आउनै पर्दैन नि । एक फोन कल पाए
बारीमै आउँथे नि । थकुलक्ष्मीले भनिन्– भाइलाई सधैँ किन दु ःख किन दिन भनेर नबोलाएकी । वास्तवमा उनले
भन्न चाहेको कुरा त्यो थिएन । उनी सोध्न चाहन्थिन्, बजारमा तरकारीको भाउ आकाशिदा आफूले चैतरकारीको
उचित मूल्य किन नपाएको ? तर भन्न सक्दिनन्। साहित्यकारहरु तरकारी बोकेर घर फर्कन्छन्। भोलि बिहान
अखबारमा समाचार छापिन्छ, प्रगतिशील साहित्यकारहरुले समाज परिवर्तनको लागि प्रगतिशील साहित्यको वकालत
गरेका छन्। थकुलक्ष्मी छोरालाई जिलेबी किन्न जाँदा अखबारले बेरिएको जिलेबीको पोकोमा हिजोकै
साहित्यकारहरुको तस्बीर देख्छिन्। अनि फेरी उनीहरुले हिजो गरेको तरकारीको मोलमोलाइ सम्झन्छिन्।
जिलेबीमा अखबारको कागज ताँसिन्छ । थकुलक्ष्मीले साहित्यकारको तस्बीर भएको कागज उप्काउँदै सानो पाँच वर्षे
छोरालाई जिलेबी खुवाउँछिन्। जसलाई मजदुर किसानको मर्म थाहा छैन, उनै प्रगतिशील साहित्यकार भनेर
अखबारमा छापिदोरहेछ भन्नेथकुलक्ष्मी निचोडमा पुिग्छन्। यता छोरो जिलेबी खान पाएर मख्ख छ ।उता वरीष्ठ
प्रगतिशील साहित्यकार युगमान अखबारमा हिजोको तस्बीर देखेर मख्ख छन्। साहित्य त प्रगतिशील नै हुनुपर्छ ।
व्यवहारमा नउतार्ने प्रगतिशीलताले थकुलक्ष्मी छक्क छिन्। म अक्कवक्क छु ।

Comments