साइनो वाङ्मय चौतारीको नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न


साउन २१, २०८१, सोमबार | विहान ०४:२६ बजे | 25


साइनो वाङ्मय चौतारीको नेपालको पाँचौं वार्षिकोत्सव सम्पन्न

जयराम बिडारी काठमाडौं साइनो वाङमय चौतारी नेपालको पाँचौँ वार्षिकोत्सवका अवसरमा बागवजारस्थित पद्मकन्या कलेजको डेनिस हलमा विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य तथा डा. सीता सुवेदी पन्थीको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा.मधुसुदन गिरी, प्राज्ञ डा. कौशिला रिसाल प्रा.डा.देवी नेपाल, प्रा.डा.रामप्रसाद ज्ञवाली, साइनो कविताका प्रणेता डा. छायादत्त न्यौपाने ‘बगर’ को आतिथ्यलगायत सयौँ साहित्यानुरागी स्रष्टाहरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साइनो विविध भाषामा सिर्जना भइसकेको र यसले छोटो समयमै विश्वव्यापी स्थान बनाइसकेको हुँदा यसलाई नेपाली वाङ्मयमा स्थापित गर्नका लागि अझै परिष्कृत गर्न सके यसले विश्वका र नेपालका पनि विभिन्न भाषा भाषी का बीच द्रुत्तत्तर रुपमा विकास हुने , साथै साइनो वाङ्मय चौतारी, नेपालसँग नेपाल प्रज्ञा प्रतिष्ठान पनि सहकार्य गर्दै अघि बढ्ने चाहना रहेको विचार ब्यक्त गर्दै नेपाली साहित्यको श्रीबृद्धिमा साइनोले उल्लेखनीय भूमिका निभाउने बताए । ०७६ साउन १६ गते बाल साहित्यकार तथा साइनो प्रणेता डा. छायादत्त न्यौपाने ‘बगर’ ले फेसबुकमार्फत साइनो शीर्षक दिएर सात, आठ र नौ अक्षरको सिर्जना सार्वजनिक गरेको दिनलाई वार्षिकोत्सव अभियानका रुपमा मनाउन थालिएको पाँचौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रा.डा. रामप्रसाद ज्ञवालीले साइनो सर्जकहरुको सिर्जनात्मक क्षमता अभिबृद्धी हुँदै नेपाली जनजीवन, प्रकृति र माटोको सुगन्ध लिएर बिश्व साहित्यमा बलियो उपस्थिति जनाउन सफलता मिलोस् भन्ने शुभकामना ब्यक्त गरेका छन् । उक्त कार्यक्रममा सरिता पराजुलीकृत ‘’कविताञ्जली’’ साइनो कवितसङ्ग्रह तथा शान्ता पन्थी ‘शान्तिदीप’द्वारा सृजित ‘’प्रसून’’ साइनो कवितसङ्ग्रह र साइनो वाङमय चौतारी नेपालबाट प्रकाशित ‘’साइनो कविताको सैद्धान्तिक स्वरूप’’ गरी तीन कृति एकसाथ विमोचन गरिएको थियो । सरिता पराजुलीका यस अघि ‘हातेमालो’ तथा ‘झुल्के घाम’ बाल कविता संग्रह प्रकाशित भइसकेका छन् भने ‘शान्तिदीपको’ साइनो सौरभ, तथा साइनो चौतारी संयुक्त संग्रहका रुपमा प्रकाशित भइसकेका छन् । सोही अवसरमा कविताञ्जली कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै डा.कौशिला रिसालले सकारात्मक सोच र ऊर्जाले भरिएका साइनो कवितासंग्रह पढिसक्ता शाब्दिक सामर्थ्यले सुवासित हुने बताउँदै परिस्कृत लेखनले साइनो पारखीहरुको ध्यान खिच्न सफलता मिलोस् भन्ने शुभकामना ब्यक्त गरिन् । यसैगरी शान्ता पन्थी शान्तिदीपको ‘’प्रसून’’ बारे समीक्षात्मक टिप्पणी गर्दै अर्का समीक्षक देवी नेपालले साइनोले छोटो समयमै ब्यापकता पाएको उल्लेख गर्दै शान्तिदीपका साइनोहरुमा मानवीय समवेदना देशको आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक,र धार्मिक विषयवस्तुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको बताउँदै परिस्कृत  लेखनले साइनो पारखीहरुको ध्यान खिच्न सफलता मिलोस् भन्ने शुभकामना ब्यक्त गरे । सोही अवसरमा प्राज्ञ डा.मधुसूदन गिरी,साइनो प्रणेता डा. छायादत्तदत्त न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए । सोही क्रममा सर्जक शान्तिदीपले कार्यक्रम भव्यरुपमा सफल बनाइदिने सवैलाइ आभार व्यक्त गरिन् भने अर्की सर्जक सरिता पराजुली अकस्मात अस्वस्थ भएकीले उनका श्रीमान अच्युत पराजुलीले सर्जकको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा प्रथम साइनो कृतिकाा रुपमा प्रकाशित गर्ने तथा यसका उन्नयनमा निरन्तर क्रियाशील रहेका खेमलाल पोखरेल,हरिप्रसाद चौलागाईं तथा विष्णु पादुकालाई सम्मानित गरिएको थियो । यसैक्रममा साइनो अभियानका रुपमा जोडिएका २१ जना संस्थापक तथा आजीवन सदस्यहरुलाई प्रमुख अतिथिद्वारा आजीवन सदस्यताको प्रमाणापत्रसमेत प्रदान गरिएको थियो । प्रमुख अतिथि भुपाल राईले व्यानर पढेर समुद्घाटन गरेको सो कार्यक्रममा केशव ज्ञवालीले अभ्यागतहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शेखर अर्यालले कार्यक्रम सञ्चालनका लागि सहजकर्ताको रूपमा भूमिका निभाएका थिए ।

Comments