श्रद्धा सुमन समर्पण


साउन १४, २०८१, सोमबार | विहान ०५:४८ बजे | 35


श्रद्धा सुमन समर्पण

ड्ड भक्तपुर नगरमा डा. इन्दुल केसी कुनै नौलो नाम होइन । बेला मौकामा हाम्रो भेटघाट भइरहन्थ्यो । उहाँ उमेरमा म भन्दा १२ वर्षले जेठो हुनुहुन्छ । मेरो पिताजिलाई उपचार गर्नको लागि मेरो घरमा पनि उहाँ आउने गर्नुहुन्थ्यो । ख्याल ठट्टा, सरसल्लाह एवम् विचार आदान प्रदानयुत्त हाम्रो सम्बन्ध घनिष्ठ थियो र छ ।
वि.सं. २०८० साल असोज २१ गते आइतबारको दिन उहाँकि धर्म पत्नी सावित्री राणा केसीको निधनको खबर सुन्नुपर्दा मलाई धेरै दुःख लाग्यो । सावित्री भाउजुको देहावसानबाट इन्दुल दाइको परिवारलाई परेको बज्रपातलाई सहनेशक्ति ईश्वरले प्रदान गरुन् भनी हार्दिक कामना व्यक्त गर्दछु ।
ड्ड संसारमा जन्म भएपछि एक दिन मानव मात्रले धर्तिबाट बिदा लिनुपर्छ, यो सास्वत सत्य हो ।
कसैको मृत्यु हुँदा असह्य बेदना हुने रहेछ । यो धु्रब सत्य हो । तर डा. इन्दुल केसी शोकलाई शक्तिमा बदल्ने क्षमतावान व्यक्ति हुनुहुन्छ । उहाँ शताब्दि पुरुष सत्यमोहन जोशीज्यूबाट उद्घाटित कला, संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष, नेपाल स्रष्टा समाजलगायत विभिन्न साहित्यिक, सामाजिक, धार्मिक संघ संस्थाहरुको आजिवन सदस्य, सल्लाहकार, संरक्षक भई सक्रिय कार्य गरी आउनु भएको मैले देखिरहेको छु । यस्तो बहुप्रतिभाका धनीलाई परेको दुःखको बेला समवेदना प्रकट गर्दछु । इन्दुलजीको दिवंगत पत्नीको सद्गुणलाई अक्षुण्ण राख्न सकुन् भनी कामना व्यक्त गर्दछु ।
ड्ड यो समवेदना र श्रद्धाञ्जलिका साथ सावित्रीको जीवनीयुक्त पुस्तकको सम्पादन डा. इन्दुल केसी स्वयम्ले गर्नुभएको छ । यस पुस्तकमा समावेश भएका विभिन्न विषयहरु मेरो दैनिकीसँग जोडेर हेरँे । म एक राजोपाध्याय ब्राह्मण हुँ । मेरा पुर्खाका पालादेखि हाम्रा यजमानहरुको अनुरोध अनुसार मैले पनि विभिन्न धार्मिककार्यहरु, पूजा पाठ पुराण वाचन, श्राद्ध आदि पण्डित पुरोहितका कार्यमा लागि रहेको छु । साथै म एक लेखक पनि हुँ । मेरो विभिन्न लेख रचना लेख्ने, आफ्ना पुस्तक प्रकाशन पनि गरी आएको छु ।

ड्ड मैले उक्त स्मृति पुस्तक सरसर्ति पढ्दा यसमा विभिन्न विशेषताहरु भएको पाएँ । आ–आफ्नो कुलधर्म रितिरिवाज अनुसार मृतकको काजक्रिया कर्म गर्नुको साथै सम्बन्धित काम कुराको संगालो स्मृति पुस्तक प्रकाशन गर्नु पनि एउटा महत्वपूर्ण एवम् स्तुत्यकार्य भएको पाएँ । नेपाली भाषामा विभिन्न व्यक्तिहरुको शोक काव्य, शोक ग्रन्थ आदि पुस्तकहरु मैले पढेको छु  । तर यो प्रस्तुत पुस्तकको रुपरेखा भिन्नै पारा तथा एउटा नौलो रुपमा देखा परेको छ । आफन्तजनको देहावसानपछि सक्नले यस प्रकारको पुस्तक प्रकाशन गर्नु नमूनाको अनुकरण गर्न लायकको कार्यको रुपमा रहेको पाएँ । अस्तु ।
२०८१ श्रावण १३

फाेटाेमा हेर्नुहाेस्...

Comments