मेरो स्मृतिमा भवानी जोशी


साउन १३, २०८१, आइतबार | विहान ११:३८ बजे | 75


मेरो स्मृतिमा भवानी जोशी

डा इन्दुल केसी
सन्दर्भ
स्व. भवानी जोशीको स्मृतिमा एउटा पुस्तक प्रकाशन हुन लागेको मैले जानकारी पाएँ । उक्त पुस्तकमा समावेश गर्न मेरो पनि एउटा लेख लेखिदिन भवानीका श्रीमान् राजाराम जोशीज्यूले मलाई अनुरोध गर्नुभयो ।
संयोग भनौं या वियोग ! काकताली नै भन्नु उपयुक्त होला । हामी दुवै भक्तपुर निवासी, एकआपसमा चीर परिचित । एउटै टोल, एउटै चोक – नासमना मंगलाछें ब्रह्मपुर चोकमा दुवैको आ–आफ्नो घर । यसै वर्ष मेरो श्रीमती सावित्री तथा राजारामजीकी श्रीमती भवानी दुवै ब्रह्मलीन भइन् । मैले नै सम्पादन गरेको सावित्री स्मृति (सावित्री राणा के.सी. स्मृति पुष्प), नामको पुस्तक शब्दयात्रा प्रकाशन संस्था, काभ्रेबाट २०८० साल चैत्रमा प्रकाशित भएको थियो । अहिले यो मेरो रचना स्व. भवानी जोशीलाई दिएको श्रद्धाञ्जलिको रुपमा प्रस्तुत गर्दैछु ।
परिचयको सेरोफेरो
भक्तपुर शहरको पूर्वतिर रहेको वासिकचा टोलका श्री गणेशलाल कायस्थकी ममतामयी सुपुत्री हुन् – भवानी । भवानीलाई तिनको विद्यार्थीकालदेखि नै मैले चिनेको छु । वि.स.. २०२२÷२३ सालतिर भक्तपुरको श्री पद्म हाईस्कूल – दरबार स्क्वायरमा म शिक्षक थिएँ । भवानी त्यस स्कूलको कक्षा ८ की विद्यार्थी थिइन् । तिनका घनिष्ठ साथी एकजना भक्तपुर टौमढी टोलका लक्ष्मी हुन् । उक्त दुवै विद्यार्थीको आनिवानी, स्वभाव अध्ययन मैले नजिकबाट देखेको थिएँ । बेलाबखत तिनीहरु दुवै मेरो घरमा पनि आउने गर्थे । विद्यार्थी अवस्थादेखि त्यस विद्यालयमा सञ्चालन हुने विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सक्रिय रुपमा भाग लिने, साहित्यमा रुचि राखी कविता लेख्ने र लेखेका आफ्ना रचनाहरु मलाई सुनाउने गर्थिन् । पछि भवानीको विवाह श्री राजाराम जोशीसँग सुसम्पन्न भयो ।
आह्वान (इनाप) पुस्तक ः
“आह्वान” कविता सङ्ग्रह भएको भवानी जोशीको पुस्तक हो । यस पुस्तकलाई आर.वी. जोशी फाउण्डेशन ट्रष्ट÷राजाराम जोशीज्यूले प्रकाशित गर्नुभएको थियो । यस पुस्तक प्रकाशन कार्यको लागि नेपाल साहित्य मन्दिर, ख्वप संस्थाको तर्फबाट आवश्यक सरसल्लाह परामर्श प्रदान गरिएको थियो । यस पुस्तकमा धेरै विशेषताहरु छन् । यसमा भवानी जोशीले रचना गरिएका ३९ वटा रचनाहरु नेपाली भाषा र नेपाल भाषा (नेवारी भाषा) समेतमा रहेका छन् । नेपाली भाषामा “आह्वान” र नेपाल भाषामा “इनाप” नाम दिएको पाइयो । यस पुस्तकको लेखकियमा भवानी जोशीले “आफ्नो कुरा” शिर्षकमा यस किताब कसरी क–कस्को प्रेरणाबाट तयार भयो भन्ने बेलिबिस्तार गरिएको छ । साथै यस पुस्तकमा ३ जना विशिष्ट व्यक्तिहरु ः (१) नेपाल साहित्य मन्दिरका तत्कालीन अध्यक्ष, तिलक प्रसाद कायस्थज्यूको गहकिलो मन्तव्य, (२) साहित्यकार श्री अगिव बनेपालीज्यूको अग्रलेख तथा (३) शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको शुभकामना (भिन्तुना) पनि रहेका छन् ।
राष्ट्रप्रेमः
यस पुस्तकमा विभिन्न शीर्षकमा रचिएका ३९ वटा रचनाहरुमध्ये आफ्नो राष्ट्रभूमि प्रति अगाध मायाको भाव–भूमिमा रचियका केही कविताहरु (१) मेरो भक्तपुर (२) हाम्री आमा नेपाल ।  भक्तपुरको कला, संस्कृतिलार्य सुरक्षित राख्न सबैलाई अनुनय विनय गरिएको छ । भृकुटी, सीता र बुद्धलाई जन्मदिने आमा नेपाल, बुद्धको उपदेशलाई पालन गरी नेपालको सार्वभौमलाई सदा अक्षुण राख्न आह्वान गरिएका स्वरहरु गुञ्जिएको पाइन्छ । 
आध्यातामिकताः
यस पुस्तकमा रहेका केही कविताहरु भक्तिभावयुक्त छन् । (१) हे कृष्ण (२) कृष्ण विदाई (३) प्रभु ! (४) शान्तिका प्रतिक लगायतका कविताहरुमा ईश्वरको भक्तिभाव, प्रार्थना, अर्चना गरिएका सुन्दर भजनहरु रहेका छन् । आफ्ना मामा कंशको दरबार मथुरामा जान लागेका श्रीकृष्णलाई राधाले रुँदै विलाप गर्दै विदा गरेको वर्णन छन् । कृष्ण बिना अरु कोही सहारा छैन शरण पाउँ भनी पुकार गरिएका भजनहरु छन् । 
आखिरमाः
भवानी जोशी दम्पत्तिले विभिन्न स्थानमा रहेका मन्दिर, भजनघरहरुमा पूजा अर्चना गर्ने, भजन किर्तन गर्ने, गराउने व्यवस्थापनको लागि आफूले सकेको सहयोग प्रदान गरिआएको यो पंक्तिकारले देखेको छु । यस्तै प्रकारले २०७२ सालको भूकम्पले क्षति पु¥याएको भक्तपुर मंगलाछें टोलस्थित श्री श्यामसुन्दर रास भजनघर पुनर्निर्माण समिति मेरै अध्यक्षतामा गठित उक्त समितिको अनुरोधमा श्री राजाराम जोशी तथा श्रीमती भवानी जोशीले सक्दो आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नुभएको थियो ।
उक्त पुण्य कार्यको लागि स्वर्गीय भवानी जोशीको आत्मालाई शान्ति मिलोस् र श्री राजाराम जोशीजीको सुस्वास्थ्य एवम् दीर्घायुको पनि कामना गर्दछु । इति ।
२०८१ श्रावण ११

Comments