विनयमुख पुस्तक भाग २ को संक्षिप्त चिनारी
असार ३१, २०८१, आइतबार | विहान ०७:४६ बजे | 100
डा. इन्दुल के.सी.
भक्तपुर
(सम्पर्क ९८४१३३४११३)
प्रारम्भ
विनयमुख पुस्तक भाग १ को परिचय मेरो लेख हालै प्रकाशनपश्चात यसका पाठकहरुबाट प्राप्त भएका प्रतिक्रियाहरु धेरै नै सकारात्मक मात्र होइन कि उत्प्ररेक पनि पाएँ । फेसबुक, म्यासेन्जर आदि अनलाइनका विभिन्न माध्यमहरुद्वारा हजारौं पाठकहरुमा पुगेपछि तिनै पाठकहरुबाट अनुरोध भएकाले त्यस पुस्तकका अनुवादक भिक्षु विपस्सी महास्थविरसँग छलफल गरेँ । यस परिचयको विनयमुख भाग २ सम्बन्धि पनि अभिरुची राख्ने पाठकहरुको जानकारीको लागि यो लेख प्रस्तुत गर्ने जमर्को गर्दछु ।
बुद्ध
नेपालको लुम्बिनीमा जन्मिनुभएका भगवन् बुद्धका सम्बन्धमा ज्योतिषीहरुले भविष्यवाणी गरेका थिए, –“राजकुमार सिद्धार्थ कि त चक्रवर्ती सम्राट बन्नेछन्, कि त संसारका धर्मगुरु बन्नेछन्, बुद्ध बन्ने छन् ।” ज्योतिष्ीको उक्त कुरा कसैलाई विश्वास लाग्ला, कसैलाई नलाग्ला, तर जब हामी यो विनयमुख भाग २ को उपदेशक गौतम बुद्ध स्वयम् हुनुहुन्छ, जसको निर्देशनमा २६०० वर्ष अगाडि भिक्षु संघ स्थापना र सम्वद्र्धन भयो, बुद्धधर्मको स्थापना भयो । भिक्षु संघको लागि बनेका यी नियमहरुलाई ध्यानपूर्वक हेर्ने हो भने यस संघका संस्थापक भगवान् बुद्धमा त्यो क्षमता थियो । अर्थात् मानिसहरुलाई संगठित गरेर आफ्नो उद्देश्य पूरा गर्नमा उहाँ समर्थ हुनुभयो । त्यो कस्तो थियो भनी थाहा पाउनका लागि हामीले उक्त पुस्तक नै अध्ययन गर्नुपर्ने हुन्छ । तर कम समयमा विषयवस्तुको रुपरेखा बुझ्नको लागि अध्यायगतरुपले केही तथ्यहरु यहाँ उल्लेख गर्न चाहन्छु ।
तत्कालिन अवस्थालाई प्रयोग गरे भगवान बुद्धले मुनष्य समाजलाई उत्थान गर्ने जुन प्रयास गर्नुभयो, त्यसको लागि चाहिने सबैथरिको नियम, उपनियम, विधिविधानहरु उहाँले नै बनाउनुभएको मानिन्छ । यी सबै विवरणहरु विनयमुख भाग २ पुस्तकमा समुल्लेख भएको छ ।
जहाँ मनुष्यहरुको भेला हुन्छ, त्यहाँ समस्याहरु पनि उत्पन्न हुन सक्दछ र ती समस्यालाई समाधान गर्ने तरिका जानिएन भने त्यो समूह विखण्डित भएर जान्छ । त्यसको विपरित यदि समुचितरुपले त्यसलाई समाधान गर्न जानियो भने त्यही समस्यालाई नजीरको रुपमा लिएर पाठ सिकिन्छ र समाधानतिर मार्गनिर्देशनको रुपमा वा पाठको रुपमा प्रयोग गरेर प्रगतिपथमा अगाडि बढ्न सहयोग मिल्दछ ।
अध्यायहरु
विनयमुख भाग १ मा समावेश भएका १० अध्यायका विभिन्न कुराहरु पछि, अब विनयमुख भाग २ पुस्तकका विषयवस्तुहरुलाई अध्यायक्रमले निम्न अनुसार अध्याय ११ देखि २२ सम्म उल्लेख गरिएको छ ः
१) अध्याय ११ मा भिक्षुले खाँदा, पिउँदा, सुत्दा, हिँड्दा, सभामा वा समूहमा बस्दा तथा विभिन्न अवस्थामा आ–आफ्नो शरीरलाई नियमबद्ध गर्ने तरिकाहरु छन् ।
२) अध्याय १२ मा भिक्षुद्वारा सामानहरु जस्तो कि चीवर, पात्र आदिको प्रयोग तथा संरक्षणका तरिकाहरुको वर्णनहरु छन् ।
३) अध्याय १३ मा निश्रय अर्थात आधारमा बस्नु सम्बन्धमा उल्लेख छ । कुनैपनि समूहले आफ्नो भविष्य सुन्दर बनाउने हो भने नयाँ पुस्ताहरुलाई समुचितरुपले तालिम÷प्रशिक्षण दिनुपर्छ । त्यस्तै नव आगन्तुकहरुको पनि कर्तव्य हुन्छ, तालिम लिनू आवश्यक छ । अर्थात् वरिष्ठहरुको आधारमा बस्नुपर्छ ।
४) अध्याय १४ मा भिक्षुहरुले आपसमा पूरा गर्नुपर्ने कर्तव्यहरु जस्तो कि गुरु, शिष्य, पाहुना, भिक्षु, विहार, यात्रा आदिका सम्बन्धमा पालन गर्नुपर्ने कर्तव्यहरु यहाँ बताइएका छन् ।
५) अध्याय १५ मा मानिसहरुको समूहमा एक अति नै महत्वपूर्ण विषय मानसम्मान, आदरको तरिका बारेमा बताइएको छ ।
६) अध्याय १६ मा भिक्षुहरुको वर्षावास वा चतुर्मासको विधि बताइएको छ , जसले गर्दा भिक्षुहरु सुरक्षित र समृद्ध हुन्छन् भने वर्षाकालमा यात्रामा केही प्रतिबन्ध गर्नाले एक सुनिश्चित ठाउँ वा विहारमा बसेर सामूहिक अध्ययन, अभ्यास, ज्ञानध्यानको विकास गर्ने अवसरको रुपमा प्रयोग गर्दछन् । त्यसको अन्त्यपछि एक महिनाभित्र गरिने कठिनचीवर दानको विवरण पनि यसैमा छ ।
७) अध्याय १७ मा कुनैपनि समाजको स्थायित्व तथा विकासको लागि समय–समयमा भेलाहरु हुनु, छलफल गर्नु, समस्याको समाधान गर्नुपर्दछ, अनि मात्र त्यसको भविष्य राम्रो हुन्छ । यहि कारणले भगवानद्वारा निर्धारित उपोसथ र पवारणाको व्यवस्था सम्बन्धी छलफल गरिएको छ ।
८) अध्याय १८ मा समूहका सदस्यहरुबाट हुनजाने अप्ठ्यारा व्यवहार तथा आचारणहरुको समाधानका तरिकाहरुको छलफल गरिएको छ ।
९) अध्याय १९ मा भिक्षुहरुको खानपानका नियमहरुका सम्बन्धमा बताइएका छन् ।
१०) अध्याय २० मा थरिथरिका भौतिक वस्तुहरुको स्वामित्व अर्थात् जग्गा, भवन, चैत्य, मूर्ति, उपभोग्य सामान आदिहरुका स्वामित्वको सम्बन्धमा बुद्ध भगवानको आदेश वा अवधारणाहरु उल्लेख भएको पाइन्छ ।
११) अध्याय २१ मा संघसदस्यहरुलाई पर्ने आपत्ति (दोष)हरु र त्यसबाट मुक्ति दिने तरिकाहरु विनयकम्म शीर्षकमा बताइएका छन् ।
१२) अध्याय २२ मा भिक्षुहरुले नियमहरुको पालनामा बुझ्नुपर्ने सीमानाहरु चार महाप्रदेश शीर्षकमा बताइएका छन् ।
आखिरमा
उल्लेखित विषयहरु विनयपिटक तथा सूत्रपिटकको आधार लिएर थाई लेखक विद्वान् राजकुमार भिक्षुवर समतेच बरमहा समण चाउ क्रमबरया वजिरन्याण वरोरसका सुव्यवस्थित कृति भिक्षु विपस्सी महास्थविरद्वारा नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको छ, यी सबै कुरा जान्न चाहनेले यसको अध्ययन गरी, मनन् गरी फाइदा लिनको लागि पाठकहरुलाई अनुरोध गर्दछु । यसको अध्ययन र पालन समाजका सबै तहमा हुन सके हाम्रो समाज अझ सुन्दर, सुसंस्कृत र सभ्य बन्नेछ । धन्यवाद ।
विशेष जानकारी
१) यस पुस्तकको मूल्य रु. ३०० छ, कसैलाई यो पुस्तक आवश्यक भएमा मुनि विहार, भक्तपुरमा सम्र्पक गर्नुहोला ।
२) यो विनयमुख भाग २ अभिसमाचार (समुचित आचरणमा उच्चतर प्रशिक्षण)सँग सम्बन्धित छ र यो गृहस्थी बौद्धहरुकालागि पनि उपयोगी पुस्तक हो, किनकि अभिसमाचारका धेरै उदाहरणहरुमा समुचित आचरण भिक्खुहरु, गृहस्थी पुरुष तथा महिला अनुयायीहरु, दुवै पक्षको विनयको सही बुझाइमा निर्भर गर्दछन् । भिक्खु अनुशासनका सबै पक्षहरुसँग परिचित हुनु गृहस्थ बौद्धहरुकोलागि राम्रो छ ताकि तिनीहरु भिक्खुहरुको चर्यामा बाधक नभई साधक बन्न सकुन् ।
२०८१÷३÷३०