शब्दसागरका मोतीः सरल पाठकीय समीक्षा
असार २३, २०८१, शनिबार | विहान ०३:४१ बजे | 55
साहित्यका हरि अधिकारी
सूर्यविनायक, भक्तपुर
प्रारम्भ
मित्र इन्दुल के. सी. मूलतः कवि–कथाकार हुनुहुन्छ । धार्मिक प्रवृत्तिको व्यक्ति भएकाले ईश–महिमा, स्तुति र भजन लेख्ने र गाउँने कुरामा पनि रुचि राख्नु हुन्छ । इन्दुलजीले विभिन्न सामाजिक र धार्मिक संस्थाहरु मार्फत स्वान्तः सुखाय मानव कल्याणकारी गतिविधिमा पनि आफूलाई व्यस्त राख्दै आउँनु भएको छ । केही समय यतादेखि योग, ध्यान र तपमा पनि विशेष अभिरुचिका साथ भौतिक आध्यात्मिक दुवै स्तरमा समावेश हुँदै आउँनु भएको इन्दुल के. सी. लाई उहाँको जन्मथलो भक्तपुरका साथै हाल धेरैजसो समय बिताउँने गरेको ठाउँ सुविधानगर काठमाडौतिर भेट्न सकिन्छ । हालै इन्दुलजीसँग भएको एउटा भेटमा उहाँले आफूले लेखेका पुस्तक समीक्षा र चर्चाहरु समेटिएको “शब्दसागरका मोती“ शीर्षकको एउटा पुस्तक मलाई उपहार दिनुभयो । सरल पाठकीय समीक्षात्मक लेखहरुको यो संग्रह हालै, चैत २०७९ मा छापिएको हो ।
मेरो विचार
इन्दुलजीद्वारा चर्चा गरिएका २२ ओटा पुस्तकहरु अधिकांशले सामान्य पाठकहरुको ध्यान आकृष्ट गर्ने कुरामा म त्यति विश्वस्त हुन सकिरहेको छैन । हो, धार्मिक र आध्यात्मिक विषयमा केन्द्रित हुन चाहने विशेष खाले पाठकहरुले भने इन्दुलजीका यी समीक्षात्मक टिपोटका आधारमा एकाध पुस्तकको खोजी गर्नसक्ने कुरामा भने म विश्वास गर्न चाहन्छु । इन्दुलजीको यो समीक्षा संग्रहमा चर्चा गरिएका पुस्तकहरुमध्ये वासुदेव ढकालले लेखेको यात्रा वृत्तान्त “उत्तरी ध्रुव समेतको जीवन–यात्रा” ले मात्र मेरो ध्यान केही हदसम्म आकृष्ट गरेको छ । केही समय पहिले ब्रह्मलीन हुनु भएका वासुदेव ढकाल उत्तरी ध्रुवमा पुग्ने पहिलो नेपाली भएकोले उहाँका अनुभव र अनुभूति शेयर गर्नु रोचक र उपयोगी हुनसक्छ भन्ने लाग्दछ मलाई । मौका पर्दा वासुदेवजीका सुपुत्र र मेरा मित्र सुरेन्द्र ढकालसँग लिएर त्यो पुस्तक पढ्ने विचार गरेको छु ।