लघुकथा : नाटक
असार १६, २०८१, शनिबार | दिउँसो ०२:३३ बजे | 40
अम्बिका धिताल
कमलविनायक भक्तपुर
बाजाको आवाज सुनेर आमाले भन्नुभयो ,“होइन ए बुहारी! खुब बाजागाजा छ त बाहिर । आज कसैको बिहे छ कि क्या हो ?”
“आज नेपाली माटोको बिहे रे आमा!” बुहारीले जवाफ दिइन्।
अचम्म मान्दै आमाले भन्नुभयो, “माटोको पनि बिहे हुन्छ र ! मैले त बुझिन नि बुहारी ।”
बुहारीले जवाफ दिइन्,“जुन माटोको भरमा हामी बसेका छौं, बाँचेका छौं र भोलि यही माटोमा बिलिन भएर जानु छ। त्यसैले आज माटोको बिहे गरेको रे आमा।”
लामो सास लिदै आमाले भन्नुभयो “हाम्रो सास अडिएको ,हामीलाई बाह्रै काल चाँहिने माटोको पूजा आज मात्र गरेर हुन्छ र ? उता गाउँमा कति नाङ्गा पाखा पखेरा छन् । खनीखोस्री गर्ने कोही छैन।”
बुहारी बोलिन्,“हो नि आमा यस विषयमा सरकार कानमा तेल हालेर बसेको छ ।”
बाजाको आवाज घर नजिकै आएपछि,आमा बाहिर कौसीमै गएर हेर्दै भन्नुभयो, “यसरी लाभा लस्कर हिँडेर पनि माटोको पूजा हुन्छ त बुहारी ?”
हाँस्दै बुहारीले भनिन्, “होइन के आमा । आज असार १५ धान दिवस मनाएका रे ।”
आमा बोलिहाल्नुभयो, “कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्थे साँच्चै काठमाडौँ उपत्यकामै भएछ है? जहाँ घरैघर भरिएर खुट्टा टेक्नेसम्म ठाउँ छैन त्यहाँ धान दिवस। भन त बुहारी रोपाई चाहिँ कहाँ गर्छन् यिनीहरुले?”
बुहारीले भनिन्,”तलको फुटबल मैदानमा पाँच ट्रक माटो खन्याइएको छ। त्यहाँ मेलम्चीको पानी लगापछि त रोपाईं भइहाल्यो नि । भोलि फेरि फुटबल खेल्न मिल्ने गरेर क्या! आमा।”
आमाले भन्नुभयो, “ओहो! नेपालको नाटक ? कहिलेसम्म नेपाली जनताले यो नाटकको अभिनय हेरिरहने?”