‘वरिष्ठ इन्जिनियर राजदासको आत्महत्या होइन, हत्या हो’
असार ८, २०८१, शुक्रबार | दिउँसो ०३:५३ बजे | 285
भक्तपुर । पत्रकार समाज नेपालले वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक शुक्रबार सार्वजनिक गरेको छ ।
उक्त पुस्तकको सार्वजनिकीकरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले समाजवादी साहित्यको निरन्तर अध्ययनले मात्र देश र जनताको सेवा हुने बताउनुभएको छ । उहाँले देशको सांस्कृतिक स्तर माथि उकास्न साहित्यको भूमिका हुने बताउँदै स्व. राजदास श्रेष्ठको आत्मकथाबाट रुसी जनताको सामाजिक, आर्थिक, राजनीतिक एवम् सांस्कृतिक स्तरबारे स्पष्ट भएको बताउनुभयो । मानिसलाई एक्लो भएपछि विभिन्न कुरा खेल्ने भएकाले त्यसबाट बच्न संगठनको आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले जो व्यक्तिले जसको किताब पढ्छ, त्यसको प्रभाव पर्ने भएकोले सोभियत रुसमा भएका विभिन्न व्यक्तित्वहरुको साहित्यबारे अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । देशका बौद्धिक व्यक्तित्वहरुलाई प्रगति गर्न सरकारले कुनै स्थान नदिएको स्व. राजदासको अकल्पनीय घटनाबाट स्पष्ट भएको उहाँको ठहर छ ।
मित्रकुञ्ज नेपालका सचिव इन्जिनियर एवम् लेखक रामविन्दु श्रेष्ठले स्व.राजदासका आत्मकथाबारे समीक्षा गर्दै उहाँ अन्तरराष्ट्रिय विचार अवलम्बन भएको बताउनुभयो । स्व. राजदासले नेपालमा चुनढुंगाबाट सिटामोल र श्रृंगारका सामान बनाउन सक्ने तर सरकारले भारतलाई सस्तो मूल्यमा बेचिरहेको बरोबर जानकारी दिने गरेको जनकवी एवम् नेपाल भाषा साहित्य तःमुंज्याका सल्लाहकार चन्द्र बहादुर उलकले बताउनुहुन्छ । स्व राजदास देशभक्ती, जातीय स्वाभिमानी, वैचारिक आस्थामा तत्पर र माक्र्सवादी दृष्टिकोणबाट प्रभावित व्यक्ति भएको उहाँको भनाइ छ ।
स्रस्ता समाज नेपालका अध्यक्ष एवम् भक्तपुर मासिक पत्रिकाका सम्पादक लक्ष्मणराज जोशीले स्व. राजदास विज्ञ व्यक्ति भएर पनि सोझो भएकै कारण विचौलिया, ठग र जाली फटाहाहरुले फसाएको बताउनुभयो । पुस्तकको समीक्षा गर्दै उहाँले वैज्ञानिक, इन्जिनियर, प्राविधिक र साहित्यकारको रुपमा परिचित स्व. राजदासलाई मूर्खहरुको सरकारले चिन्न नसकेको औंल्याउनुभयो ।
जनप्रतिनिधि एवम् लेखक योगेन्द्रमान विजुक्छेँले लोभीपापी र स्वार्थ समाजप्रति देखिएको वितृष्णाले उहाँको अकल्पनीय क्षति भएको बताउनुभयो । राजनीतिक व्यक्तित्व बन्नका लागि साहित्यिक चेतना आवश्यक भएको बताउँदै उहाँले साहित्यकारहरु अरुको दुःखसँग घुलमिल हुनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष थापाले राजदासको आत्महत्या नभई हत्या भएको आरोप लगाउनुभयो । वरिष्ठ व्यक्तित्व उनको देशभक्तिपूर्ण भावना, बौद्धिकताको कदर नभएकोले आत्महत्या गर्नुपरेको चर्चा गर्दै यसकारण यसलाई अहिलेको पुँंजीवादी सरकारले हत्या गरेको मान्नुपर्ने तर्क उहाको थियो ।
पुस्तकको खण्ड १ को ‘जीवनयात्रा’का विषयमा सुरेश परियारले, खण्ड २ को ‘त्यो रेलयात्रा’बारे सुशिला कर्माचार्यले खण्ड ३ को ‘कला, साहित्य र राजनीति’ विषयमा उद्धव सुजखुले र खण्ड ४ को ‘नेपाली प्रकृतिमा हेलिँदा’का विषयमा रजनी जोशीले परिचर्चा गरेका थिए ।
प्रथम संस्करणका रुपमा प्रकाशित ३ सय पृष्ठको उक्त पुस्तक मूल्य ३ सय ५० रुपैयाँ निर्धारण गरेको कार्यक्रममा प्रकाश थुसाले पनि बोल्नुभएको थियो ।