कोरोनाविरुद्ध लड्न एकीकृत शक्तिको खाँचो:प्रमुख प्रजापति
कार्तिक २४, २०७७, सोमबार | दिउँसो ०१:०८ बजे | 30
सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मारमा परेका श्रमिकहरुको व्यवस्थापनको बारे देशको सर्वोच्च निकाय संसदको एक जिम्मेवार समिति उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यो बैठकको आयोजना गरेकोमा सभापतिज्यूलगायत सम्पूर्ण माननीय सदस्यहरुलाई हार्दिक आभार व्यक्त गर्दछु ।
यो बैठक नेपालमा कोभिडको प्रारम्भमै बस्न सकेको भए बढी फलदायी हुने थियो । यद्यपि ढिलै भए पनि स्थानीय तहका जनप्रतिनिधिहरुले गर्दै आएका कार्यहरु र गर्नुपर्ने कार्यहरुको विषयमा छलफलको लागि अवसर दिनुभएकोमा हामी अत्यन्त खुशी छौं ।
भक्तपुर नगरपालिका क्षेत्रभित्र पीसीआर परीक्षण सुरु गर्न प्रदेश सरकारसँग बारम्बारको आग्रहपछि मेसिन आइपुगेको छ । तर त्यसको पार्टपूर्जा नपुग भएको भन्दै दुई हप्तादेखि मेसिन थन्किरहेको छ । नागरिकहरुले परीक्षण गर्न नपाएर समस्या भोगिरहेका छन् ।
कार्तिक २ गतेदेखि पीसीआर परीक्षणको शुल्क लिने नेपाल सरकारको निर्णयले जनताले थप दुःख व्यहोर्नुपर्यो । सरकारी स्वामित्वमा रहेको टेकु प्रयोगशालाले समेत प्रतिव्यक्ति रु. २०००।— मागेपछि थप अन्योल भयो । प्रदेश सरकारअन्तर्गतको धुलिखेल प्रयोगशालाका जिम्मेवार पदाधिकारीहरु ‘मन्त्रीले बोलेर मात्रै हुन्छ ? आवश्यक केमिकल पठाउनुप¥यो’ भन्नुहुन्छ । जनताको जीवनप्रति जिम्मेवार पदाधिकारीहरु संवेदनशील हुन नसक्दा गरिब जनताको अकालमा ज्यान गइरहेको छ ।
भक्तपुर नगरपालिकाका जनस्वास्थ्य केन्द्रहरुले नियमित रुपमा जनतालाई सेवा प्रदान गरिरहेका छन् । कोभिडको यो जटील अवस्थामा पनि चिकित्सकहरुलाई पालो मिलाएर दैनिक ३०० भन्दा बढी बिरामीहरुलाई सेवा प्रदान गर्दै आएका छन् ।
नेपाल सरकारले कोभिड संक्रमित बिरामीहरुको उपचार खर्च नागरिक स्वयम्ले व्यहोर्नुपर्ने निर्णय सम्मानपूर्वक बाँच्न पाउने र आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने संविधानप्रदत्त मौलिक हक तथा मौलिक हक कार्यान्वयनको लागि बनेको स्वास्थ्यसम्बन्धी ऐन २०७५ र सर्वोच्च अदालतको आदेशसमेतको विपरीत भएको भन्दै जनताले विरोध गरिरहेका छन् । सम्मानित यस समितिको ध्यान जाने नै छ भन्ने आशा गर्छौं ।
कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनाएको छ । त्यसमध्ये श्रम गरेर जीविका चलाउने श्रमिकहरु बढी मारमा परेका छन् । हामीले २०७६ साल चैत्र महिनामा लकडाउन सुरु हुनासाथ एकपटक राहत वितरण ग¥यौं । केही दिनपछि नै हामीले विकास निर्माणका कार्यहरु सुरु ग¥यौं । हामीले राहतको सट्टा नियमानुसार ज्याला दिने घोषणा ग¥यौं । त्यसरी बेरोजगार नागरिकहरुलाई काम दिन थालेपछि राहत वितरणको समस्या भएन र काम पनि सहज रुपमा अगाडि बढ्यो ।
भक्तपुर तरकारी उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र भएको हुँदा नगरबासीहरुलाई निश्चित समय दिएर लकडाउनको समयमा पनि तरकारी बजारको व्यवस्थापन गरेको हुँदा किसानहरुको उत्पादन खेर गएन । सबै नागरिकहरु एकैसाथ बाहिर नआउन् भनी प्रत्येक घरमा अति आवश्यक कामको लागि मात्रै भनी पासको वितरण ग¥यौं त्यसले पनि व्यवस्थापन गर्न मद्दत ग¥यो ।
राज्यले जनताको गुनासो सुन्ने र समाधानको लागि पहल गर्नुपर्छ । यस्तै संकटमा जनप्रतिनिधि र कर्मचारीहरुको परीक्षण हुन्छ ।
हामी सबै मिलेर कोरोनाबाट समाजलाई बचाउने प्रयत्न गरौं । भक्तपुर नगरपालिकाको गतिविधिबारे जानकारी दिने अवसर दिनुभएकोमा सभापतिज्यूूलगायत सम्पूर्ण समिति सदस्यहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छौं ।
(उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आयोजनामा कोभिड १९ महामारीको मारमा परेका श्रमिकहरूको व्यवस्थापनका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरूले गरेको व्यवस्था सम्बन्धमा कार्तिक २४ गते बसेको बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)