भक्तपुरमै सम्भबत पहिलो पटक एभरेस्ट इगलिश स्कुल नमूना संयुक्त राष्ट्र २०२४


जेठ ३१, २०८१, बिहीबार | साँझ ०४:११ बजे | 25


भक्तपुरमै सम्भबत पहिलो पटक एभरेस्ट इगलिश स्कुल नमूना संयुक्त राष्ट्र २०२४

भक्तपुर । विद्यार्थीहरुमा विश्व परिस्थिति बुझाउने उद्देश्यका साथ भक्तपुरमा तीनदिने एभरेस्ट इगलिश स्कुल नमूना संयुक्त राष्ट २०२४ सुरु भएको छ । संसारका विभिन्न देशहरुमा भइरहेका राजनीतिकलगायत विभिन्न घटनाक्रमहरुबारे जानकारी दिने उद्देश्यले कार्यक्रम भएको हो । सम्भबतः यस्तो कार्यक्रम भक्तपुरमै पहिलो पटक भएको बताइएको छ । 
कार्यक्रममा विद्यार्थीलाई ६ वटा कक्षाकोठामा विभाजित गरिएको थियो । त्यस अनुसार प्रत्येक विद्यार्थीलाई एउटाएउटा देशको परिस्थितिबारे बताउन लगाइएको थियो । यसका लागि यसअघि नै विद्यार्थीलाई आफूले बुझनुपर्ने विषयबस्तुबारे जानकारी दिई अध्ययन अनुसन्धान गर्न लगाइएको थियो । 
लुम्विनी एसिया इन्टरनेशनल नमूना संयुक्त राष्टको सहयोगमा एभरेस्ट स्कुलमा कार्यक्रम भएको हो । त्यसका लागि लुम्विनी एसिया इन्टरनेशनल नमूना संयुक्त राष्ट २०२४ का संस्थापक ओजन पराजुलीको नेतृत्वमा झण्डै दुई दर्जन सहयोगीहरुले विद्यार्थीलाई छुटाछुटै कक्षामा राखेर छलफल गराइएको थियो । कार्यक्रममा स्कुलका कक्षा ७ देखि १० सम्मका एक सय ६५ छात्रछात्राहरु सहभागी रहेका थिए । चरणचरणमा गराइएको कार्यक्रम विहान साढे ८ बजेदेखि साँंझ चार बजेसम्म भएको थियो । 
लुम्विनी एसिया इन्टरनेशनल नमूना संयुक्त राष्टका सदस्य सजल मुनंकर्मीले कार्यक्रम तीन दिनसम्म चल्ने बताए । त्यस अनुसार विद्यार्थीवीच विशेष गरेर इजराइल प्यालेस्टाइन युद्धलगायतका विश्व राजनीतिक विषयमा प्रस्तुतीकरण गर्न लगाइने छ । त्यस अनुसार प्रत्येक समूहबाट एकएकजना उत्कृष्ट प्रस्तुतीकर्ता छनौटसमेत गरिनेछ । उक्त प्रतियोगीहरुलाई असार ७ गतेदेखि ललितपुरमा हुने तीनदिने केन्द्रिय सम्मेलनमा निःशुल्क सहभागिता जनाउन पाइने छन् । यसअघि स्कुलमा भएको आन्तरिक कार्यक्रममा सहभागी हुने विद्यार्थीसँंग शुल्क उठाइएको थियो । 
विद्यार्थीहरुलाई राष्टिय तथा अन्तर्राष्टियस्तरका कार्यक्रमहरुमा भाग लिन आवश्यक योग्यता, व्यवहार, भाषा, शैलि तथा प्रस्तुति सम्वन्धी सीप विकास गराउनुका साथै नमूना राष्ट संघमा कुनै देशको प्रतिनिधिको रुपमा भाग लिंदा देशको समस्याको पहिचान र प्रस्तुतिले विश्वको ध्यान कसरी आकर्षण गराउन सकिन्छ भन्ने जस्ता विषयमा जानकारी गराउने कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ । साथै संयुक्त राष्ट संघको कुटनीतिज्ञको रुपमा विश्वभरका देशहरुको प्रतिनिधित्व गर्दै क्षेत्रीय द्धन्ददेखि वातावरणीय समस्याहरुका जटिल समस्याहरु समाधान, राजनीतिक, आर्थिक, प्राकृतिक र सामाजिक स्थितिकोबारेमा सचेत धारणा निर्माण गराउने उद्देश्य रहेको जनाइएको छ । यसअघि पहिलो चरणमा सहभागी सम्पूर्ण विद्यार्थीहरुवीच औपचारिक उदघाटन गरिएको थियो । साथै अन्तिम दिन शनिबार समापन कार्यक्रम हुने जनाइएको छ । 

Comments