एभरेष्टमा विज्ञ र विद्यार्थीबिच अन्तरकृया
जेठ ३१, २०८१, बिहीबार | दिउँसो १२:३७ बजे | 70
विद्यार्थीहरूको ज्ञान र सीपलाई समय सापेक्ष बनाई कलेजबाट अध्ययन सम्पन्न भए लगत्तै कार्यक्षेत्रको लागि तयार गर्ने ललितपुर स्थित एभरेष्ट इन्जिनियरिङ कलेजको उद्देश्य बमोजिम नियमित रूपमा सञ्चालित प्राविधिक विषयमा प्रवचन कार्यक्रम अन्तरगत स्थानीय पूर्वाधार विभागका वरिष्ठ इन्जिनियर राम बाबु पौडेल र कलेजका सिभिल इन्जिनियरिङ स्नातक तहका अन्तिम वर्षका विद्यार्थीहरू माझ आज अन्तरकृया सम्पन्न भयो। "सडक निर्माणमा वर्तमान विषयवस्तुहरू र गुणस्तर नियन्त्रण" विषयमा केन्द्रित आजको कार्यक्रमका प्रमुख वक्ता इन्जिनियर पौडेलले सडक निर्माणका क्रममा के कस्ता प्राविधिक तथा सामाजिक समस्याहरू आँउछन् र ती समस्याहरू कसरी समाधान गर्ने भन्ने विषयमा आफ्नो लामो अनुभवको आधारमा विद्यार्थीहरूसँग आपसी छलफल गर्नु भएको थियो। कार्यक्रममा सडक आयोजनाको डिपिआर कसरी चेक गर्ने, सडक निर्माणमा माटो खन्ने काम कसरी न्यूनिकरण गर्ने, सडकको गुणस्तर कसरी सुनिश्चित गर्ने, भिरालो जमिनमा बाटो बनाउँदा कसरी टेका लगाउने, सडकमा आउने पानीको व्यवस्थापन कसरी गर्ने, सडक कालोपत्रे गर्दा के कस्ता कुराहरू कसरी जाँच गर्ने र सडक निर्माण भइसकेपछि डिजाइन अनुसार भए नभएको थाहा पाउन के कसरी नापजाँच गर्ने भन्ने जस्ता प्राविधिक विषयहरूमा विस्तृत छलफल भएको थियो। विश्वविद्यालयको पाठ्यक्रममा मात्र सीमित हुन नहुने कुरामा जोड दिँदै इन्जिनियर पौडेलले नेपालका सडक पूर्वाधारहरू दिगो बनाउन आवश्यक व्यवहारिक ज्ञान कलेजका विद्यार्थीहरूलाई दिनुभयो। अन्तरकृया कार्यक्रम अन्तरगत इन्जिनियर पौडेलले विद्यार्थीहरूका प्रश्नको उत्तर तथा जिज्ञासाहरू सम्बोधन गर्नुभएको थियो। सिभिल इन्जिनियरिङ स्नातक तहका अन्तिम वर्षका चालीसजना विद्यार्थीहरू र सम्बन्धित विषयका विषय शिक्षक योगेश कुमार सिंह उपस्थित आजको कार्यक्रममा कलेजको सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख इन्जिनियर रोमहर्ष ओलीले व्यवहारिक ज्ञानको लागि इन्जिनियर पौडेल प्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर सहयोग तथा मार्गदर्शनको अपेक्षा गर्नु भएको थियो। कलेजका प्राचार्य इन्जिनियर विरोध रिजालले अन्तरकृया कार्यक्रमको समापन गर्दै आफू सिभिल इन्जिनियर नभएता पनि कार्यक्रमबाट दैनिक रूपमा बाटो प्रयोग गर्दा देखिएका समस्याहरूको बारेमा थप बुझ्ने मौका पाएकोमा इन्जिनियर पौडेललाई धन्यवादका साथै कलेजको तर्फबाट मायाको चिनो दिनुभएको थियो।