आसुको दहभित्र मनको बह
जेठ २८, २०८१, सोमबार | विहान ०२:०६ बजे | 45
डा इन्दुल केसी
कवि पदम दाहाल र पुस्तकको सङ्क्षिप्त परिचय
कवि पदम दाहालज्यू एक उदीयमान साहित्यकार हुनुहुन्छ । नेपाली साहित्य भण्डारमा कवि पदम दाहालज्यूको ‘आँसुको दह’ – कवितासङ्ग्रह एउटा नयाँ कृति थपिएको छ । दाहालजीका रचनाहरु नेपाल भूमि, हिमालय टाइम्स, गोरखापत्र, मधुपर्क आदि विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भइरहने भएकाले साहित्यिक पाठकहरुको माझ उहाँ चिरपरिचित हुनुहुन्छ । यसभन्दा पहिले उहाँका तीन ओटा कृति ‘बादलका तरेलीहरु’ कवितासङ्ग्रह २०७६, ‘एक–अर्काका दृष्टिः दुई व्यक्तिका कृति’ कृति विश्लेषण, सहलेखन २०७७, ‘जीवनयात्रा (सङ्स्मरण) ः डम्बरप्रसाद ढुंगान’ (सम्पादन, २०७६), पुस्तकहरु प्रकाशित भइसकेका छन् ।
शब्दयात्रा प्रकाशनबाट प्रकाशन पुष्प १४० औँ पुस्तकका रुपमा प्रकाशित यस पुस्तकमा शास्त्रीय छन्दमा रचिएका ५३ ओटा कविताहरु सङ्ग्रहित छन् । यस सङ्ग्रहमा स्रग्विणी छन्द, भुजङ्गप्रयात छन्द, अनुष्टुप छन्द, उपजाति छन्द, वसन्ततिलका छन्द, शार्दूलविक्रीडित छन्द, चित्रा छन्द र वंशस्थ छन्द गरी आठ ओटा छन्दहरुमा कविताहरु पदमजीले पाठकको लागि पस्कनुभएको छ । छन्दले कवितालाई सरसता, ललितता, रोकता र मधुरता प्रदान गर्छ ।
पुस्तकको शीर्षक आँसुको दह प्रतीकात्मक छ । सङ्गृहित ५३ ओटा कविताहरुमा अनगिन्ती आँसुको थोपाहरु छन् । ती आँसुहरुका एउटा दह नै बन्न पुगेको छ । एउटा कविताको शीर्षक नै आँसुको दह रहेको छ । आवरण चित्रमा आँखाबाट झरिरहेको आँसुका थोपाहरु तथा एउटा गहिरो दह रहेको छ ।
मानिसको सुखद् अवस्थाको हाँसोमा पनि आँसु निस्कन्छ, दुःखद् अवस्थाको रूवाइमा पनि आँसु निस्कन्छ । यी दुई अवस्थाका आँसुलाई तुलना गर्दा सुखद् अवस्थाका हाँसोका साथ निस्केका आँसु शीतल चिसो र दुःखमा रूदा निसक्ने आँसु केही गरम नूनिलो हुन्छ । रसायनशास्त्रको आधारमा विश्लेषण वर्गीकरण गरिएको आँसुले स्वास्थ्यमा पर्ने प्रभावबारे एउटा छुट्टै चर्चा गर्न सकिएला । तर यहाँ साहित्यिक कुराको विवेचनालाई मात्र समावेश गर्नु सान्दर्भिक ठान्दछु ।
सङ्कलित कविताहरुका शीर्षकहरुलाई केलाउँदा भक्तिभाव ईश्वरवन्दना, प्रकृति प्रेम, राष्ट्रप्रेम, जन्मथलो, मातृभूमिको प्रेम, युवाप्रेम (जवानीको रसरङ), नेपालीहरुका चाडबाड, सङ्स्कृतिका साथै सन्देशमूलक सचेतना प्रदान गर्ने आदि विषयमा कविताहरु रचिएका पाइन्छन् ।
कविजीले यस पुस्तकमा आफ्नो मनमा उब्जेका भावहरुलाई पोखिँदै रचिएका ५३ ओटा कविताहरु मध्ये एउटा कविताको शीर्षकनै आँसुको दह राख्नुभएको छ । अनुष्टुप छन्दमा रचिएको यस कवितालाई १२ ओटा श्लोकमा विभक्त गरिएको छ । कविताको शीर्षक स्वयम् प्रतीकात्मक छ । कविताको छैठौं र ११ औं श्लोकमा गरी २ पटक आँसुको दह शब्द प्रयोग भएको छ ।
आँसुको सुखद् कारण यौवनको अवस्थामा आफ्नी प्रियसीसँगको मिलनमा मनको पीर बोझ हटेको अनुभूति हुँदा आँखाबाट शीतल आँसु झर्ने कुरा यहाँ चर्चा गरिएको छ । आँसु बग्दा कविजी तेस्रो पक्षमा भन्नु हुन्छ ।
“पीडा आँसु तप्केको मर्म बुझ्ने मनुष्य हौ
दुखेको दिलमा शान्ति छर्ने बुद्ध र शिष्य हौ ।”
यस कविताको यो अन्तिम श्लोक निचोडको रुपमा छ । चुनिएका सुन्दर शब्दहरु, छन्दोबद्ध लयात्मक भावभङ्गी र समाजलाई संसारको यथार्थ सत्य सन्देश यस कविताले दिन खोजेको छ ।
चुनिएका आठओटा कविताहरु
यस कृतिमा रहेका ५३ ओटा छन्दोबद्ध कविताहरु छन् । ती कविताहरुमध्ये आठओटाको सङ्क्षिप्त रुपमा केहि चर्चा गर्ने जमर्को गरेको छु । हाम्रो धार्मिक मान्यताअनुसार कुनै पनि कार्यको सुरूवातमा सर्वप्रथम मङ्गलाचराको रुपमा शीर्षक कविता स्राग्विणी छन्दमा रचिएको सरस्वती बन्दना शीर्षक रहेको छ । कविताको शीर्षकले नै यसको स्वरुपको आभाष दिन्छ ।
आध्यात्मिक भक्ति भावले भरिएको यस कवितालाई सस्वर बाचन गर्ने बेलामा सबैमा देवीप्रति भक्तिभाव प्रकट भएको पाइन्छ ।
छनौटमा परेको अर्को कविता वंशस्थ छन्दमा रचिएको “अनन्य ईश्वर” शीर्षकको रहेको छ । यस कवितामा ब्रम्ह, ॐकार मन्त्र आत्मा, हंसमा रहेको चेतन तङ्खव जस्तो आध्यात्मिक विषयसँग सम्बद्ध अति गहन कुरा राखिएका छन् ।
गहन आध्यात्मिक विषयवस्तुलाई सरल रुपमा कविताको माध्यमबाट कवि पदमजीले प्रस्तुत गर्नु कविजीको विशेषता हो ।। प्रचलित एउटा कहावट छ – बगेको खोला र बितेको समय फर्किदैन । कवि पदम दाहालजीले वसन्ततिलका छन्दमा “बेला बितेपछि पछुतो”शीर्षकको कविता रच्नुभएको छ । यस कवितामा मानिसहरु कमाउ धन्दमा मात्र लागेर पाठ पूजन, धर्मकर्म जस्ता पवित्र कार्य पन्छाउनेहरुलाई बेला बितेपछि पछुताउनुपर्ला है भनी सचेत गराउन खोज्नुभएको छ ।
वर्तमान समयमा हाम्रो देशका धेरै मानिसहरु रोजगारी ‘नोकरी’ गरी धन कमाउने इच्छाले विदेश जाने गरेका छन् । विदेश गएकाले विदेशमा पसिना बगाई केही कमाइ पनि गरिरहेका छन् । विदेश जान म्यानपावर कम्पनीलाई लाखौं रूपैयाँ बुझाउन आफ्नो भएको खेतबारी बन्धक राखी चर्को ब्याज मोली ऋणमा डुबिरहेका हुन्छन् । कतिपय नेपाली विभिन्न कारणले विदेशको कारागारमा परिरहेका हुन्छन् । अर्कोतर्फ दिनहुँ जसो विदेशमा मृत्यु वरण गरेका ठुलो सङ्ख्यामा नेपालप्हरुको लास नेपाल ल्याइरहेको कुरा पत्रपत्रिकामा समाचार प्रकाशन भएबाट नै अवगत हुन्छ । कवि पदम दाहालज्यूले भुजङ्गप्रयात छन्दमा “म फिर्दै छु छोरो” शीर्षकको एउटा कविता यस सङ्ग्रहमा राख्नुभएको छ । यस कवितामा एउटा विदेशमा बस्ने छोरो मान्छे आफू स्वदेश फर्कदै छु भनी फर्कनुको कारण कवितालाई माध्यम बनाएर नेपाली समाजलाई जानकारी पढाइ रहेझैं लाग्छ ।
“न सम्झेर माटो नफर्केर गाउँ
सबै शून्य भो शून्य सुन्दै छु ठाउँ
म फिर्दै छु छोरो ढिलो भो म फिर्न
छ बाँझै बिरौटो छ रूम्टो विदीर्ण ।।”
छ ओटा चरणको यस कविताले विदेशको मोहभङ्ग गरी स्वदेशसित माया बसाई ममताको बखान गरिएको यो कविताले वर्तमान विदेश जान लर्को लाग्नेको लागि सचेत तुल्याउँछ । यस कविताले विदेसिन खोज्नेहरुलाई एउटा गतिलो स्वदेश प्रेमको पाठ सिकाएको छ । कवितामा प्रयोग भएका केही शब्दहरु – फिर्दै छु, फिरौं, राँटो, पाला, बिरौटो, रूम्टो, विदीर्ण आदिलाई आम नेपालीहरुले बोलिने चलन चल्तीका शब्दहरु यस कवितामा प्रयोग भएका छन् भन्ने लाग्छ । अनुप्रासयुक्त शब्द शब्दावली अत्यन्त मिठो शैलीमा उपयुक्त पारी राखिएका छन् ।
अब अर्को शार्दूलविक्रीडित छन्दको “मेरो आत्मीय सङ्खुवासभा” शीर्षकको कवितातर्फ लागौँ । आफू जन्मेको जन्मथलो, जहाँ हुर्के बढेको ठाउँ हुनाले त्यस्तो जन्मथलो सबैलाई प्यारो लाग्छ । कवि हृदय भएकाहरुले कवितामा आफ्नो जन्मथलोको बयान गर्ने प्रचलन नेपाली साहित्यमा उल्लेखनीय उदाहरण पाइन्छन् । उहाँ हाल मध्यपुर ठिमी लोकन्थली भक्तपुरमा बस्नुभएको छ तापनि जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि भन्ने महङ्खवपूर्ण श्लोकलाई आत्मसात गरी आफू जन्मेको सङ्खुवासभाको प्राकृतिक सौन्दर्य, नदी, नाला, भौगोलिक अवस्था त्यहाँ भएका विभिन्न जडिबुटीलगायत कुराको वर्णन यस कवितामा उहाँले गर्नुभएको छ ।
नेपाली भाषाको गीतगायन क्षेत्रमा दोहोरी गीतको प्रचलन नयाँ होइन । विशेष गरी गाउँघरको चौतारीमा गाउँका केही सङ्गीतप्रेमीहरुको उपस्थितिमा युवा र युवतीले एक अर्कालाई माया प्रीतिका कुरा, एकअर्कालाई अलि छेडछाडका कुरा व्यङ्ग्यात्मक गीतको भाखामा मिलाई प्रस्तुत गर्ने पनि गरिन्छ । हिजोआज यो दोहोरी गीतको प्रचलन सहरबजारमा पनि दोहोरी साँझ, डान्सबारहरुमा प्रयोग हुन थालेको छ ।
आँसुको दह कविता सङ्ग्रहमा “जवानीको राग र कल्पनाको दरबार” शीर्षकको उपजाति छन्दमा एउटा कविता रचिएको पाइन्छ । यस कवितामा युवतीले प्रस्तुत गरेका तीन चरण र युवले प्रस्तुत गरेका तीन चरणको छन्दोबद्ध कवितामा एक आपसको पे्रमिल सम्बन्ध झल्किन्छ । युवतीलाई लागेको जवानीको राग यस्तो छ ।
“म यारको खोज हजारमा छु
म मूलढोका निर द्वारमा छु ।”
जवानी उमेरमा युवती जो प्रकृतिको प्रतीक हो उसलाई पुरूषको आवश्यकता पर्छ र उसले कुन पुरूष जीवनसाथी बनाउने भन्ने खोजमा लागेकी हुन्छे । यो स्वाभाविक र प्रकृतिजन्य उद्गार हो । यस कवितामा युवकले दिएको जवाफ भने यस्तो छ ।
“मुहूर्त, बेला शुभ बारमा छु
मिठास मोहान्ध छ प्यारमा छु ।
नौलो जुनीको अवतारमा छु
म कल्पनाको दरबारमा छु ।”
उक्त जवाफका हरफहरुले युवक पनि मोहमा अन्धो बनेर प्यारमा रहेको र अनेकौँ कुराको कल्पनामा रहेको कुरा पोखिएको छ । जवानीमा मायाप्रेम, भनेको प्रकृतिले नै विपरीत लिङ्गीप्रति आकर्षित गरिने सत्य कुरालाई पदम दाहालजीले यस कवितामा प्रस्तुत गर्नुभएको छ ।
यस लेखको लागि छनौटमा परेको अन्तिम कविता “कोकोहोलो कोरोना” हो । चित्रा छन्दमा रचिएको यो कविता हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना जुन अत्यन्त सोचनीय अवस्थामा – कोकोहोलोको रुपमा छ । अति विकसित युरोप, अमेरिका मात्र होइन चीन, बेलायत विकासोन्मुख देशहरु र एसियाका धेरै देशहरुमा पनि कोरोनाले लाखौँ मानिसको ज्यान गइसकेको अवस्था छ । यसको रोकथामको लागि अरबौँ–खरबौँ खर्च भइसकेको छ । उपचारको लागि कैयौँ मानिस हस्पिटलमा उपचाररत रहेका छन्, कैयौं मानिस आइसोलेसनमा छन् । यस्तो विश्वकै लागि एउटा ठुलो समस्या र चुनौतीलाई विषय बनाएर पदमजीले यो कविता विश्व परिप्रेक्ष्यलाई समेटेर लेख्नुभएको छ ।
“दन्क्यो ज्वालो, भुङ्ग्रालो भो अन्मियो देश देशै
कोकोहोलो भो, कोरोना विश्व साम्राज्य उस्छ
खायो, बुत्यायो रित्यायो राक्षसी, राक्षसै भो
दौड्यो पौड्यो पस्ता रकौलो भाग्य दुर्भाग्यझैं भो”
कविजीले कोरोनालाई राक्षसको प्रतीकको रुपमा लिनु भै त्यो राक्षसको ताण्डव नृत्यलाई यहाँ बडो रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ भन्ने लाग्छ । कोरोनाले आज विश्वलाई तहसनहस बनाइरहेको परिप्रेक्ष्यमा यो कोरोनाले मानव जङ्गलमा तहल्का मच्चाएको वास्तविक यथार्थलाई काव्यात्मक भावमा उनेर यो कविता उहाँले रच्नुभएको छ ।