राष्ट्रवादको धोटी फुस्कियो कि !
कार्तिक २१, २०७७, शुक्रबार | विहान ०८:१८ बजे | 55
डा .राजेन्द्र कोजू
हाम्रो चेतनाको स्तर कहाँ पुग्यो भनेर कसैले सोध्यो भने सायद समस्या पहिचानको तह सम्म पुग्यो कि भने जवाफ आउँछ । पक्कै पनि शिक्षाले हामीलाई समस्याको पहिचान गर्न सिकाएको छ । तसर्थ, आज मानिसहरुले जताततै समस्या सम्म देख्न सकेका छन् । समस्याको उजागर धेरैले गर्ने गर्छन् । राजनीति, प्रशासन, समाज, संस्कृति, परम्परा , वीचार, चिन्तन र व्यवहारमा देखिएका समस्याहरु खोतल्दै जाँदा समस्यै समस्याको पहाड बन्दछ । तसर्थ, आजको समस्या, समस्या पहिचान गर्न सक्नु तर समाधान खोज्न नसक्नुमा छ । समस्या सबैलाई थाहा छ तर समाधान थाहा नहुनुमा आज समस्या केन्द्रिकृत गर्न जरुरी छ । केही अग्रगामी चिन्तकहरु समस्या माथि बहस कम गरौं, समाधानको लागि बहस धेरै गरौं भन्न थालेका छन् । बहस र विवाद धेरै गर्यौं तसर्थ हाम्रो ध्यान समस्याको समाधानका लागि कर्म र कार्यान्वयनमा केन्द्रिकृत गर्न जरुरी छ ।
नेपालले एउटा सपना बोकेको छ । सुखी नेपाली र समृद्ध नेपालको यो सपना पुरा गर्न अझै धेरै दिन बाँकी छ । मानिसहरु जो जस्तो देखिन्छ, त्यस्तो नभईदिनु, जसले जे बोल्छ, उसले त्यस्तो नगर्नु, नारा र व्यवहारको तालमेल नमिल्नु र नेताहरु असल चेतनाद्धारा भन्दा ढोंगी र देखावटी व्यक्तित्वद्धारा समाजलाई प्रभावित पारी व्यक्तिगत स्वार्थ केन्द्रित राजनीति गर्नु आजको मूल समस्या देखिन्छ । आजका दिनमा तपशिलका पाँच समस्या, र क्षेत्रमा समाधान खोजिन जरुरी छ ।
क) राजनीतिक व्यवस्था ः
नेपालमा नेपाली जनताको अग्रगामी परिवर्तनका लागि शिलशिलेवार परिवर्तन हुँदै आएको छ । राजनीति सबै नीतिको केन्द्र भएकोले आजसम्म भएका परिवर्तनमा अझै एउटा पुरक परिवतर्न जरुरी थानिएको छ । राजनीतिक अस्थिरता र अस्थीर सरकार आजको समस्या हो भनी सकेपछि यसको समाधानका लागि एउटा थप परिवर्तन जरुरी मान्न सकिन्छ । त्यो के हो भने जनताद्धारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रत्यक्ष शासन प्रणली अबको समाधान हुन सक्छ । संसदीय प्रणाली २÷३ को सरकार हँुदा पनि सरकार अस्थिर नै रहेको हामीले देख्यौं । सरकारको टाउको परिवर्तन नभएपनि बेलाबेला जाने सैद्धान्तिक र वैचारिक पराकम्पले सरकार नढलेपनि सरकार स्थीर वा बलियो मान्न सक्ने अवस्था रहेन । विभिन्न राजनीतिक, आर्थिक प्रभाववाट निर्वाचित भएका लोभी पापीहरुको आपसी चलखेल , षडयन्त्र, चंगुल र फन्दाका कारण घोषणापत्र अनुसार काम हुन नसकेको यथार्थ हामी सामु मौजुद कायम रहेको छ । त्यसैले आवधिक निर्वाचनवाट प्रत्यक्ष रुपमा निर्वाचित र्कायकारी राष्ट्रपति व्यवस्थाका लागि अब थप एक ढक्का दिन आवश्यक छ ।
ख) बेरोजगार वर्गको मुक्ति ः
नेपालको समृद्धिको मूल बाधक बेरोजगारी समस्या हो । बेरोजगारी समस्या समाधानका लागि राष्ट्रिय उद्योग र पूँजीको विकास भएमा देशमै रोजगारको सिर्जना हुन्छ । तब, जनताले सुख, सन्तुष्टि र समृद्धि प्राप्त गर्दछ । तसर्थ बेरोजगारी समस्या समाधान र बेरोजगारी वर्गको मुक्ति आजको आवश्यकता हो । तर, हाम्रो देशमा त्यसो हुन सकिरहेको छैन । समृद्धि भनेको पैसा कमाउनु मात्र होईन । नोकर भएर पैसा कमाउनु भन्दा मालिक भएर आफनै देशमा आफनै पूँजी लगानी गरी कमाउनुमा खुसी र सन्तुष्ति मिल्दछ । नेपालले नेपालीलाई विदेशमा दास र नोकर बनाई प्राप्त भएको रेमिटेन्सले समृद्धि प्राप्त गर्ने चेष्टा गरिरहेको े छ । यसरी परनिर्भर अर्थतन्त्रवाट समृद्धि र सन्तुष्ति प्राप्त गर्न खोज्नु हाम्रो मूर्खता र श्वयर कल्पना मात्र हो ।
ग) राष्ट्रवाद ः
राष्ट्रवादको मेरुदण्ड भनेको देशभक्ति भावना हो । हाम्रो कर्म, मर्म, पर्म, सर्म, धर्म नै राष्ट्रवाद हो । राष्ट्रवाद सबै बादको श्रीपेच हो । सबै बाद, दर्शन, चिन्तनको श्रीपेच राष्ट्रवाद हो । राष्ट्रवादसंग अन्तरधुलन गरी देशको हीतमा, जनताको हितमा, राष्ट्रिय सम्पदाको हितको पक्षमा कार्यान्वयन गर्नुपर्छ । जनता, जमिन र सम्पदाको कुल संयोजन राष्ट्रियता हो । राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्नु, उद्योग गर्नु, नीति बनाउनु, काम गर्नु नै राष्ट्रवाद हो । नेपालको नेताहरुको राष्ट्रवादको धोटी, बेलाबेला फुस्किने गरेको छ । नेपालमा नकली राष्ट्रवादीको विगविगी छ । नेपाली अनुहार भएको विदेशी ऐजैन्टहरुका कारण नेपाली राष्ट्रवादमा कालो बादल लागेको छ ।
घ) राष्ट्रिय पूँजीको संरक्षण ः
समृद्धिको भनेको आर्थिक समृद्धिको, साँस्कृतिक स्तर र सामाजिक स्तरको समृद्धिको कुल योग हो । जनता, जमीन र सम्पदाको समृद्धि नै वास्तविक समृद्धि हो । यसका लागि राष्ट्रिय पूँजीको संरक्षण, प्रवर्धन र विकासका लागि राज्यले र सरकारले प्राथमिकताका साथ कार्यक्रम र नीति बनाउन जरुरी छ । विदेशी पूँजी र प्रविधिको उपयोग गर्न सकिन्छ तर आफ्नै देशको साध्य अनुसार राष्ट्रिय हीतका लागि उपयोग गर्नु र प्रतिवद्ध भई लाग्न जरुरी हुन्छ । आफनै देशका नागरिकहरुले नीजी वा सामाजिक स्तरवाट गरिएका सबै उद्योग , कर्म, पेशा, व्यवशाय र सिर्जना यो राष्ट्रको सम्पति हो । नागरिकको समृद्धिको कुल योग नै राष्ट्रिय समृद्धि हो । प्रत्येक नागरिकको पूँजीको योग नै राष्ट्रिय पूँजी हो । तर, समानता , सह अस्तित्व अभिवृद्धि गर्न राज्यले आवश्यक कानून बनाई समतामूलक, सहभगिमूलक राज्य निर्माणका लागि कानून बनाउन जरुरी छ ।
ङ) सम्पदाको संरक्षण ः
नेपाल बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक देश हो । यी मानव निर्मित विभिन्न जातीय¸धार्मिक र साँस्कृतिक सम्पदा यो देशको पहिचानसंग जोडिएका सम्पदा हुन् । नेपाल र नेपालीको पहिचानलाई उज्वेलित गर्ने धर्म, संस्कृति र परम्परालाई समय र युग सुहाउँदो परिवर्तन गरी संरक्षण गर्न जरुरी छ । इतिहास धानेको, युग धानेको, सभ्यता धानेको यस्ता मानव निर्मित मूल्य, मान्यता र संस्कारहरु समय सापेक्ष परिवर्तन गर्दै भौतिकवाद र आध्यात्मवादको संयोजन गर्दै नयाँ नेपाल निर्माण गर्न जरुरी छ । यसका अलावा नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । हामी सुनको थाल बोकेर भीख माग्ने मगन्ते जस्तो भइरहेका छौं । नेपालको जल, जमिन, जनता , जडिवुतीको उपयोग गरी नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने सपना पूरा गर्न गुरु योजना थाल्नुपर्छ । असल चेतना बोकेका नारालाई कार्यन्वयन गर्नै र व्यवहारमा लागू गर्ने नीति तथा कायक्रम छिट्टै बनाइहाल्नुपर्छ ।